+
+
Shares

हाम्रा सपना विपनामा बाँचिरहने नारायणगोपाल

त्यो कस्तो महफिल थियो होला, जहाँ प्रेमध्वज हार्मोनियम बजाउथे, माणिकरत्न सङ्गीत भर्थे, राममान तृषित गीत लेख्थे र नारायणगोपाल गीत गाउँथे । कस्तो सिम्फोनी थियो होला त्यो ? 

देव डाँगी देव डाँगी
२०८१ फागुन २६ गते २०:४३

प्रवासीहरूका लागि देश कति प्यारो हुन्छ ?

यो त्यस्तो प्रश्न हो, जसका सम्भावित उत्तर गन्ने हो भने हजारभन्दा धेरै हुन्छन् । तर, मनको उद्वेलन र भावना पोख्न नेपाली शब्दकोशमा पर्याप्त शब्द नै छैनन् । यो भावनाभन्दा पनि परको पारलौकिक आभास नजिक छ ।

प्रवासमा सबैभन्दा बढी तिर्खा भाषाको लाग्छ । भाषाको तिर्खा गीत, लेख, कविता, सरसङ्गत, अन्तर्वार्ताले मेटाउने प्रयत्न गर्छौं । तर, यो तिर्खा पनि आज मेटियो, भोलि फेरि जाग्छ ।

सायद दुई वर्षअघि हो । सञ्चारकर्मी टीकाराम यात्रीसँग प्रकास सायमी गफिँदै थिए । उनको छेउमा गायक शैलेस सिंह पनि थिए । त्यो सानो र छोटो कार्यक्रमले पनि मेरो मुटु हल्लाएको थियो, जब नारायणगोपालबारे सायमीको फेहरिस्त बयान फुस्किदै गयो र शैलेस सिंहले ‘ए मलाई माया गर्ने हजुर’ गीत गाए । उनले त्यो गीत यसरी गाए कि मानौं, बतिलो काँक्रो धारिलो चक्कुले रेटिएर एक सय आठ चिरा पर्‍यो । परकम्पले घरको बुइँगल हल्लाए झैं त्यो बातचितले धेरै दिनसम्म मेरो मथिङ्गल हल्लायो ।

फेरि निकै पछि उनै सायमी मेरो मोबाइलको स्क्रिनमा देखापरे । यसपटक उनले सुरेश पौडेलसँग नारायणगोपाल उधिन्दै थिए । शुद्ध र प्रस्ट लवजमा उनले नारायणगोपालको बयान गरिरहँदा यस्तो लाग्थ्यो कि त्यहाँ सिपालु केटी आफ्ना भिनाजुका लागि पुरानो स्वेटर उधारेर डल्लो पारिरहेकी छे । खै किन हो- स्वेटर बुनिरहेको भन्दा उध्रिरहेको अनुपम लाग्छ मलाई । बडो धीरले अद्योपान्त त्यो अन्तवार्ता सुनेपछि अब म नारायणगोपालको जीवनी नपढी नहुने गरी अधीर बन्दै गएँ ।

सन्धि र बिग्रहले जोडिँदै, भत्किँदै अघि बढिरहेका नारायणगोपालको जीवन रोचक मात्रै होइन, मायावी पनि लाग्न थाल्यो । अनि मैले प्रवासमा ‘ स्वरसम्राट् नारायणगोपाल’ खोज्न थालें । अमेजनमा सजिलै उपलब्ध हुने देखाएपछि अर्डर गरिहालें । किताबको प्रतीक्षामा झन्डै बीस दिन बिते । जनवरी १५ तारिखमा डेलिभरी ब्वाइले मेल ड्रप गर्‍यो र नोटिफिकेसन पठायो । हुत्तिँदै वेगले कुदें र नारायणगोपाल बोकेर कोठा छिरें।

अब किताबमा के होला ? मैले श्रद्धा गरिरहेका नारायणगोपाल उस्तै छन् कि छैनन् होला ? उदाङ्गो पो छन् कि त ? उपहासमा उत्तानो पो छन् कि ? अहमको बोझले पो थिचिएका छन् कि ? चाप्लुसीमा चिप्लिएका छन् कि ? कस्ता छन् हामी सबैका प्रिय नारायणगोपाल ? पुस्तक अनफोल्ड गर्न निकै समय लाग्यो । म नर्भस हुँदै गएँ ।

धर्के डार्क र केही गम्भीर मुद्रामा लगभग पैतिस डिग्रीमा सोचमग्न नारायणगोपालको रेखाचित्रले पुस्तकको आधा हिस्सा ओगटेको छ । मलाई यो तस्बिर रुग्ण लाग्यो । पहिलो पाना पल्टाएँ । त्यो चित्र त प्रख्यात चित्रकार शशी शाहको कला रहेछ । फेरि अर्को चित्र आयो, कार्टुनिस्ट अबिनले बनाएको । साह्रै भलादमी, ठूलो निधार, कोट, टाई र बाक्लो फ्रेमवाला चस्मा लगाएको । धर्के चित्र । यो चित्र ठ्याक्कै जनजनले सम्झने नारायनगोपालको थियो । हठात् मैले ठानें, “म भएको भए अबिनले कोरेको नारायणगोपाललाई गातोमा राख्थें ।”

किताबका पाना सार्दै गएँ । ‘मलाई केबल जनताको सहानुभूति भए पुग्छ । कारण— म जनताको लागि गाउँछु’ भन्ने स्वरसम्राटको भनाइमा अर्को पानो सकियो ।

देव डाँगी

अवश्य पनि आममान्छेलाई उसको साथीले जति जीवनसाथीले पनि चिनेको हुँदैन । ठीक त्यस्तै उद्धरण प्रस्तुत गर्दै लेखकले नारायणगोपालका प्रिय साथी गीतकार नगेन्द्र थापालाई भूमिका लेख्न लगाएका छन् । वि.सं. २०८१ असार २५ मा थापाले आफ्ना साथीको बयान यसरी लेखेका छन्, जसरी खोलाको बयान बालुवाले गर्न सक्छ ।

आशागोपाल गुरुवाचार्यका माहिला सन्तानको रूपमा जन्मेका नारायणगोपाल ‘घरै सङ्गीत, वनै सङ्गीत’ लाग्ने अवस्थामा हुर्केका रहेछन् । पूर्वीय शास्त्रीय सङ्गीतको घनघोर बगैंचामा हुर्केबढेको कुरा अद्योपान्त उल्लेख छ । आफ्ना मातापिताको साथमा टाउको ढल्काएर उभिएका किशोर नारायणगोपालको श्यामश्वेत तस्बिरले रोचकता थपेको छ ।

थानेदार आशागोपाल जागिरे भएर पूर्वी तराईमा कार्यरत रहेका बेला नारायणगोपाल सिराहाको भगवानपुरमा जन्मेका रहेछन् । पछि राजधानी फर्केर जुद्धोदय पब्लिक हाइस्कुल पढेका रहेछन् । यस अध्यायमा लेखकले नारायणगोपालका बालसखाहरूलाई नामसहित उल्लेख गरेका छन् । त्यसबखतको अवस्था मिहिन रूपमा उजागर गरिएको छ ।

आफ्ना पिताजीको शास्त्रीय सङ्गीतको जोडबलबाट फुत्केर हिन्दी र आधुनिक गीततिर लाग्न रुचि देखाएको प्रसङ्ग पनि उल्लेख छ । ‘पिताजीको सजाय’ शीर्षकको पाठमा बाउछोराको साङ्गीतिक अन्तरभेदका रमाइला किस्साहरू राखिएका छन् । पढ्दा रोचक लाग्छन् ।

साङ्गीतिक महफिलमा हुर्किएका नारायणगोपाल जब वि.सं. २०१६ सालमा त्रिचन्द्र कलेज भर्ना भए, त्यति बेला साथीहरू नामुद गीतकार रत्न शम्शेर थापा, यादव खरेल, प्रेमध्वज प्रधान, नातिकाजी, किरण खरेल रहेछन् । नेवाः साहित्यमा समेत उत्तिकै लागिपरेका नारायणगोपालको साथमा कवि दुर्गालाल श्रेष्ठ रहेछन् ।

साधारण अवस्थितिमा असाधारण उपस्थिति हुनेगरी हामीले भव्य ठानेका नामहरूको सरसङ्गत खुल्दै जान्छ । अब पाठकले आफैं विचार गर्दा हुन्छ— त्यो कस्तो महफिल थियो होला, जहाँ प्रेमध्वज हार्मोनियम बजाउथे, माणिकरत्न सङ्गीत भर्थे, राममान तृषित गीत लेख्थे र नारायणगोपाल गीत गाउँथे । कस्तो सिम्फोनी थियो होला त्यो ? वाह !

‘रेडियो नेपाल’मा स्वरपरीक्षा दिन स्वयम् नारायणगोपाल गएका रहेछन् भन्ने थाहा पाएर अनौठो लाग्छ ।

तपाईं-हामीले देखेका नारायणगोपालले बाक्लो मोटो फ्रेम भएको चस्मा किन लगाए भन्ने प्रसङ्गले सङ्घर्षको मर्म देखाएको छ । मर्मग्य स्वरका धनी नारायणगोपाल मेकानिक पनि बनेका रहेछन् । उनी नाङ्गो आँखाले वेल्डिङ गर्थे । त्यही कारण आँखाको ज्योति कमजोर भएछ । हलोले सियो र मियो खोज्दै हिँडे झैं नारायणगोपालका सियो र मियोमा बडे-बडे दिग्गज गीतकारको भेट हुँदै जान्छ । ‘म त लालीगुराँस भएछु’ लेख्ने क्षेत्रप्रताप अधिकारी तिनैमध्ये एक थिए ।

स्वरसम्राटको जीवनमा ‘बेबी’ नामक एक प्रेमिकाको आगमन र प्रस्थान क्षणभङ्गुर देखाइएको छ । यो प्रेमकथाको अभ्योदय काठमाडौं र अन्त्य दार्जीलिङमा भएको फिल्मी जस्तै प्रसङ्ग रोचक लाग्छ । उनका बारेमा पर्याप्त खबर नभएर हो वा उनी आफैंले नचाहेर हो— खासै विस्तृतमा पढ्न भने पाइँदैन । हुन त लेखकले अन्तर्वार्तामा त्यो कुरा बताइसकेका छन् ।

भारतको बरोदामा सङ्गीत सिक्न गएका नारायणगोपालको जीवनमा बिस्तारै सङ्गीतले विराट रूप लिन थाल्छ । अब बिस्तारै उनको जीवनमा आएका गीतकार ईश्वर बल्लभ प्रवेश गर्छन् । नामुद लेखक शङ्कर लामिछाने र उनको अन्तरजातीय वैवाहिक प्रसङ्गदेखि भूपि शेरचनसँगको सङ्गत बडो ‘फ्यासिनेटिङ’ लाग्छ । ‘रेडियो नेपाल’का पहिलो गीतकार लामिछानेले त्यति बेलाका चर्चित दार्जीलिङे सङ्गीतकार अम्बर गुरुङलाई मातृशोकमा लेखेको पत्र बोकेर नारायणगोपाल ईश्वर बल्लभ भेट्न गएको प्रसङ्ग क्या ऊर्जा दिने खालको छ ।

दार्जीलिङको साहित्य-सङ्गीतले नेपालीलाई गुण लगाएको छ । नारायणगोपाल ती भाग्यमानी गायक हुन्, जो दार्जीलिङमा सुरुवाती दिनदेखि नै प्रख्यात थिए ।

त्यो वि.सं. २०१८/१९ सालको कुरा थियो, जतिबेला आममान्छेहरू नुन खोज्न भोट जाने चलन थियो । तर, यहाँ नारायणगोपाल गीत खोज्न दार्जीलिङ हिँडेका थिए । पहिलो प्रेमले ढोका ढप्काइदिएको दार्जीलिङमा अब सङ्गीतले ज्वाला लप्काउने समय आउँदै थियो ।

त्योभन्दा पनि मजबुत सङ्गीतको जन्म हुँदै थियो, जब नारायणगोपाल र गोपाल योञ्जनले साथीहरूको पहलमा मीत लगाए । यसलाई बडो रणनीतिक तवरले पनि हेर्न सकिन्छ । आजकाल हामी आफूसँग प्रतिस्पर्धा गर्न सक्ने र आफ्नै विधामा आफूलाई टक्कर दिन सक्ने मान्छेसँग दूरी राख्छौं । तर, दुई हस्तीले सङ्गीतलाई गोडमेल गरेर हुर्काउन मीत लगाएको कुरा प्रेरणादायी छ ।

नेपाली सङ्गीतलाई दार्जीलिङले काँधेकुरी हालेको प्रसङ्ग बडो मिहिन तरिकाले केलाइएको छ । त्यो पुस्ताले गीतमा रम्ने, गीतमै जम्ने र गीतमै मर्ने गरी यत्न गरेको देखिन्छ । यता नेपाली गीत-सङ्गीत पनि दार्जीलिङसँग निकट रहेर प्रतिस्पर्धा गरिरहेको देखिन्छ । नामुद कवि भूपि शेरचन पोखराबाट सुटुक्क काठमाडौं आएर नारायणगोपालको घरको भुइँतल्लामा बसी उनीसँगै गीत-कविता लेख्ने र सुनाउने गरेको प्रसङ्ग पढ्दा अनौठो लाग्छ ।

अचेल न कसैले खुलेर कसैको तारिफ गर्छ, न कोही कविता सुनाउन घरमै पाहुना डाक्न सक्छ । घरैपिच्छे स्टुडियो र ल्यापटप भएपछि अचेल सुर पनि बाँडिएको छ । यो पुस्तकले कालजयी गीत-सङ्गीत जन्माउन सर्जकहरू कहाँ र कसरी पुग्थे भन्ने देखाउँछ ।

लेखक आफैंमा सिनेमाकर्मी भएर होला— पढ्नेका आँखामा बडा रोचक चित्र नाच्छन् । यो उनको खुबी हो । अप्रासङ्गिक केही पनि नलाग्ने गरी पात्रहरू आउँदै जाँदै गर्छन् । हामी पाठक ती पात्रका फेरमा लेखकसँग कुदिरहन्छौं ।

दार्जीलिङको साहित्य-सङ्गीतले नेपालीलाई गुण लगाएको छ । नारायणगोपाल ती भाग्यमानी गायक हुन्, जो दार्जीलिङमा सुरुवाती दिनदेखि नै प्रख्यात थिए । गोपाल योञ्जनसँग मीत लगाएपछि उनीहरू दार्जीलिङको घुममा दिलमाया खाती भेट्न घोडा चढेर गएको कुरा स्वप्न जस्तो लाग्छ ।

त्यतिबेला पेमालाले स्थानीय स्कुलमा पढाउँथिन् । स्फटिक जस्ती पेमालालाई भेट्न नारायणगोपाल साथीहरूसँग स्कुलमै पुगेका थिए । साथीहरू थिए— कर्म योञ्जन, गोपाल योञ्जन, नगेन्द्र थापा । संयोग पनि कस्तो भने नारायणगोपालले त्यसअघि नै ‘चिनारी हाम्रो धेरै पुरानो’ गाइसकेका रहेछन् । ‘चिनारी हाम्रो’ गाइसकेको नारायणगोपालले आफूलाई चिन्दै नचिनी भेट्न किन आयो होला ? पेमाला सोचमग्न भइन् । त्यतिबेला प्रेम व्यक्त गर्ने तौरतरिका त्यस्तै थियो ।

नारायण गोपाल र पेमाला

त्यो प्रेम त्यहीँ कतै छोडेर काठमाडौं फर्किएपछि नारायणगोपाल वेचैन भए । एकदिन नगेन्द्र थापासँग पैसा सापटी लिएर पेमालालाई लिन दार्जीलिङ गएको प्रसङ्गले मुटु शून्य बनाउँछ । खत र लतबाट गुज्रिएका नारायणगोपालसँग बिहे गर्दा सिन्दुर किन्ने समेत ढङ्ग थिएन । बिहे गरेर लामो समय नारायणगोपाल दम्पती पोखरा बसेका रहेछन् ।

गुरुवाचार्य कुलको नेवारले दार्जीलिङबाट मतवाली लिएर आएपछि समाजको अपेक्षित हेयबाट जोगिन नारायणगोपालले पोखरास्थित भूपिको घर रोजेका रहेछन् । नजिकैको आवास छोडेर पोखरा प्रवासमा बसेको प्रसङ्ग पनि गजबको छ । त्यहाँ पेमाला र नारायणगोपालले सङ्घर्षशील जीवन बिताएका रहेछन् ।

आज पनि कति बदलिएको छ र समाज ? विश्वले चिने पनि हाम्रो भान्साले चिन्दैन । हाम्रो अभिमानले चिन्दैन । हाम्रो जातले चिन्दैन । अवसादबाट गुज्रिरहेका दिनमा पेमालाको साथले जोसुकैलाई उत्साह जगाउँछन् ।

कुनै दिन ईश्वर बल्लभको ठेगाना बोकेर गीत खोज्न दार्जीलिङ निस्केका नारायणगोपाल जूनजस्तै शीतल पेमाला लिएर नेपाल त्यसै आएका होइन रहेछन् । पेमाला निकै सुशील, पढेलेखेकी तेजस्वी महिला थिइन् । सङ्गीतको सागरमा जति धेरै नारायणगोपालको पानी छ, त्योभन्दा कम छैन पेमालाले अजङ्गको नारायणगोपाललाई भरथेग गर्दा झरेको पसिना र प्रेम ।

सङ्गीतको अनुपम युग तब सुरु भयो, जब गोपाल योञ्जन नेपाल बसाइ सरे । अनि भयो, नेपाली कालखण्डमा सुगम सङ्गीतको जन्म । एकपछि अर्को हिट गीत जन्मिन थाले । कालजयी गीतका ताँती लाग्न थाले । ‘तिम्रो जस्तो मुटु मेरो पनि’ सदाबहार बनेर आजपर्यन्त बजिरहन्छ हाम्रो प्लेलिस्टमा । २०२६ सालतिर पुलिस क्लबको रङ्गमञ्चमा जेठी, माइली र कान्छी साँझ गरेर दुई मीतज्यूहरूले तहल्का पिटेछन् । त्यसैताका भूपि शेरचनले लेखेको सदाबहार गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ जन्मेको रहेछ ।

माणिकरत्नको सहयोगमा काठमाडौंको घर फर्किएका नारायणगोपाल दम्पती जमलमा डेरा गरेर बस्न थाले । यस बेला पाठकसँग भेट्न आइपुग्छन्— मीरा राणा र तारादेवीहरू । यसै कालखण्डमा दिलमायाले दार्जीलिङमा गाइसकेको गीत फेरि नारायणगोपालले गाउँछन्— ‘ए मलाई माया गर्छु भन्ने हजुर ।’ उनका प्रिय गीतकार हरिभक्त कटुवालसँगको चिनजान र बोलचाल गर्ने तौरतरिकाले हाँसो पैदा गर्छ ।

नारायणगोपालले कटुवाललाई ‘कट्टुवाल’ भनेर सम्बोधन गर्दा रहेछन् । उनै नारायणगोपालका ‘कट्टुवाल’ साथी तथा गीतकार हरिभक्तले ‘पाइन्टवाल’ नारायणगोपाललाई कालजयी गीत दिए र नारायणगोपालले गाए । ‘पोखिएर घामको झुल्का’ र ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ कालजयी गीत उनै ‘कट्टुवाल’ले लेखे ।

चलचित्रमा गीत गएका प्रसङ्ग पनि समयक्रममा आउँदै जान्छन् । गज्जब-गज्जबका गीत जन्मिँदै जान्छन्, जुन आजपर्यन्त जीवित छन् । यसै बेला तारादेवी भेट हुन्छिन् । अनि फेरि लोभलाग्दा युगल गीत जन्मिन्छ्न् । नारायणगोपालले सङ्गीत भरेर हिट बनाएका ‘ए कान्छा, ठट्टैमा यो वैंश जान लाग्यो’, ‘कुञ्जमा गुञ्जियो’ जस्ता दुवै मिलेर गाए ।

नारायणगोपालको पहलकदमीमा सुरु भएको ‘बागीना’ अर्थात् बाजा, गीत र नाचको प्रयत्न प्रसंशनीय छ । यतिन्जेल २०३० साल लागिसकेको हुन्छ । यहाँनेर कालीप्रसाद रिजाल भेट हुन्छन् । अनि जन्मिन्छन्— ‘आँखा छोपी नरोऊ भनी’, र ‘झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी’ जस्ता कालजयी गीत ।

बडो सादगीपूर्ण जीवन बाँचेकी अरुणा लामाको जीवनलाई यहानेर लेखकले क्रमैसँग उतारेका छन् । दार्जीलिङमा कलिलो उमेरमै देहावसान भएका उनका पतिको सम्झनामा पोखरास्थित भूपिको घरमा आयोजित बृहत् शोकसभाले सीमारहित सम्मानको बोध गराउँछ ।

नारायण गोपाल र भूपि शेरचन

कलाको प्रशासनिक जिम्मेवारीस्वरूप नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक सम्हालेका नारायणागोपालको बिराट र अग्लो रूप पनि लेखकले दुरुस्तै उतारेका छन् । ३० को दशकमा आइपुग्दा त्यो जिम्मेवारी सम्हालिसकेका नारायणगोपालले यो बीचमा विभिन्न नाटक र सयौं गीतले गीत-सङ्गीतको आयाम बदलिसकेका थिए ।

नेवारी भोज र सभामा गाउँदै हिँड्ने नारायणगोपाल भोज सकिएपछि एक्लिँदा पेमालासँग साइकलमा हार्मोनियम राखेर लुखुरलुखुर डेरा फर्किने गरेको प्रसङ्ग बडो दयनीय लाग्ने खालको छ । सायद पेमालाले भने झैं, नेवारी गीत-सङ्गीतमा अपहेलना वा बेवास्ता गरिएका कारण पनि नारायणगोपालले तुलनात्मक रूपमा नेवारी गीत धेरै गाएनन् । नाटकदेखि फिल्मसम्मका गायनमा खोजी गरिएका नारायणगोपालले कसरी ‘मुनामदन’ हिट बनाए र कसरी ‘मालती मङ्गले’ नाटकले तहल्का मच्चायो भन्ने प्रसङ्ग पनि रोचक छन् ।

‘रेडियो नेपाल’सँगको दूरी बढ्दै गएपछि ३० को दशक अन्त्यतिर ‘ब्लु नोट्स’ गीति एल्बम निस्किनुको कारण र यसमा उनको नौलो साङ्गीतिक प्रयोग पनि पढ्नै पर्ने गरी उल्लेख गरिएको छ । अहिले पनि ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ सुन्दा सपाट युग चिरेर विरहको धुन जन्मेको जस्तो तपाईंलाई लाग्छ भने त्यो त्यही प्रयोगको प्रतिफल रहेछ । यो गीतमा नयाँ प्रयोगको जन्म गराइएको रहेछ । बादल, वर्षा र नैराश्यताको धुन थपेर नयाँ प्रयोगमा मेलोडी बनाइएको रहेछ ।

अब यतिबेला हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहहरू देखिन थाल्छन् । त्यसैगरी वसन्त चौधरी, विश्वम्भर प्याकुर्‍यालहरू आउँछन् । वसन्त चौधरी त नारायणगोपालको अन्तिम समयसम्म साथ हुन्छन् । अनि आउँछ, सर्वाधिक २०४५ को चर्चित कार्यक्रम ‘स्वर्णिम सन्ध्या ।’

म्युजिक नेपालले यो कार्यक्रम अहिले पनि युट्युबमा उपलब्ध गराएको छ । हामी भाग्यमानी हौं कि यो कार्यक्रम भिडियोमा रेकर्ड भयो र युगीन कलाकार नारायणगोपाललाई हामीले देख्न पाइरहेका छौं । हो त्यही साँझको फेहरिस्त लेखकले प्रथम नजरले लेखेका छन् । लेखक स्वयम् त्यहाँ भएका बेला हरिहर शर्माले सञ्चालन गरेको त्यो कार्यक्रम अत्यन्त सफल भएको थियो । त्यस रात पूरै काठमाडौं सुनसान बनेर सुनेको रहेछ ।

यो किताब पढुन्जेल मैले फेरि भिडियोमा त्यो कार्यक्रम पूरै सुनें– शरीरमा काँडा उम्रिए । पुरातन सोचको रागिलो कार्यक्रमबाट परिमार्जन गर्दै त्यहाँ ओरिजिनालिटी मिसाइएको रहेछ । खोकेका नारायणगोपालले, अलिकति जिस्केका नारायणगोपालले काकाकुल सहरमा पानी बर्साए झैं गीत गएका रहेछन् ।

पूरै जीवनलाई जितेर मृत्युले नारायणगोपाललाई आफूमा समाहित गरेको त्यो २०४७ साल मंसिर १९ गतेको बयानले मगज हल्लाउँछ । मै हुँ भन्ने पाठकलाई पनि कमजोर बनाउँछ ।

उनी पनि त मान्छे थिए— तब न जगदम्बा पुरस्कार जन्मिएपछि गीत-सङ्गीतको पनि साहित्यमा अब्बल भूमिका छ भनेर आफ्नो जिद्दी दर्ज गरे । अन्ततः उनी पहिलो ‘जगदम्बाश्री’ प्राप्त गर्ने व्यक्ति पनि बने ।

मलाई ठ्याक्कै ‘हरियो डाँडामाथि’ गाउने जनकविकेशरी धर्मराज थापाको याद आयो । थापाले एउटा टेलिभिजन अन्तर्वार्तामा पदकको आश गरेका थिए । पछि पाए । यहाँ नारायणगोपालले मागे भन्न त सकिँदैन तर छनक त्यस्तै देखिन्छ ।

कवितादेखि कुस्तीसम्म— उनले नछोएको विषय थिएन । उतरार्द्धतिर चेसमा तल्लिन नारायणगोपाल जिद्दी स्वभावका कारण नजितेसम्म खेलिरहन्थे । मूर्तिकार प्रवीण श्रेष्ठसँग चेसमा कहिल्यै जित्न नसक्ने नारायणगोपालले एकदिन अबेरसम्म चेस खेलिरहेका हुन्छन् ।

उता पेमाला अफिसबाट डेरा फर्किने बेला त्यता पस्छिन् । उसो त पेमाला पतिको जक्सन पोइन्टबारे जानकार नै हुन्छिन् । उनले पतिको ध्यानभङ्ग नगरी घण्टौं कुर्छिन् र पनि केही नभनी एक्लै कोठा फर्किन्छिन् । उनको धीरतामा तपस्या जस्तो लाग्ने प्रेम देख्न पाइन्छ । भरे राति नारायणगोपाल एक खेल जितेर शेर बनी फर्किन्छन् ।

यही समय वरपर गीतकार शिव अधिकारी देखा पर्छन् । रवीन्द्र मिश्रका पिताजी चित्रकार मनुजबाबु मिश्र पनि देखिन्छन् । र, यसै बेला शशी शाहले उनको त्यो गातोमा भएको चित्र कोरेका रहेछन् । लेखकले सायद ट्रिब्युटस्वरूप नारायणगोपालको यो रुग्ण लाग्ने तस्बिर गातोमा राखिदिएको हुनुपर्छ ।

जीवनका अनेक उतारचढावमा ठक्कर र हन्डर खाँदै अघि बढेका नारायणगोपाललाई स्वरसम्राट घोषणा गर्दा उठेका मतभेद र टिप्पणी पनि सपाट रूपमा प्रस्तुत गरिएको छ । पाठक द्विविधामा नपर्ने गरी यसको प्रामाणिकता पेस गरिएको छ ।

‘सिटी सुसेली’ कार्यक्रमका सञ्चालक विष्णुगोपाल श्रेष्ठ, गीतकार बासु शशीले ‘नारायणगोपाललाई पहिलोपल्ट स्वरसम्राट मैले भनेको हुँ’ भन्ने तर्कका उपर शिव अधिकारीले ‘देशान्तर’ पत्रिकामा छापेको लेखमा ‘मैले चाहेको भए स्वरसम्राट भन्थें’ भनेर उल्लेख गरेका रहेछन् ।

त्यस्तै, गीतकार नगेन्द्र थापाले समेत एक हरफ चिठी जस्तो भावमा ‘स्वरसम्राट’ सम्बोधन गरेका रहेछन् । र, यिनै उद्धरणहरू जोड्दै २०४५ सालको ‘स्वर्णिम सन्ध्या’ कार्यक्रमका सञ्चालक हरिहर शर्माले ‘स्वरसम्राट’ भनेर मञ्चमा डाकेका रहेछन् । यो कुनै मानपदवी भन्दा पनि जनबोलीबाट उठेको रहेछ ।

यो त भयो, हामी नेपालीका स्वरसम्राट नारायणगोपालको जीवनकहानी । यो पूरै जीवनलाई जितेर मृत्युले नारायणगोपाललाई आफूमा समाहित गरेको त्यो २०४७ साल मंसिर १९ गतेको बयानले मगज हल्लाउँछ । मै हुँ भन्ने पाठकलाई पनि कमजोर बनाउँछ । रोगसँग हारेर मृत्यु अँगालेका नारायणगोपाललाई नेपालको इतिहासमा सबैभन्दा ठूलो मलामीले बिदाइ गरेको प्रसङ्गले डम्म छाती रोकिए जस्तो हुन्छ । उकुसमुकुस हुन्छ ।

ठीक यही बेला सायमीको तिलस्मी लेखनले मुटु छिया-छिया बनाउँछ । पशुपतिमा आमाले छोरा बिदाइ गर्दा किरण खरेलले लेखेको हिट गीत बज्छ– ‘मन्दिरमा छ कि मूर्तिमा माया’ । यहाँ आइपुग्दा आँखा डम्म भरिन्छन् ।

एउटी आमा जिउँदै मर्छे

छोराको माया ममतामा

एउटा छोरो मरेर बाँच्छ

आमाको सपना विपनामा ….

यो शब्दको संयोग यसरी जुराइएको छ कि पत्थर मुटुहरू पनि मैन झैं पग्लिन्छन् ।

म पुस्तक अत्यन्त ढिला पढ्छु । अमला खाएपछिको गुलियोमा रम्न पानी पिएर एकछिन सुस्ताए झैं उल्लेखनीय प्रसङ्गहरूमा म टक्क रोकिन्छु । मलाई सम्झना छ— सानोमा सिनेमा हेर्न जाँदा हलमा सुरुतिर कहिल्यै नसक्किने मलामीको ताँती देखाइन्थ्यो । त्यो नारायणगोपालको शवयात्रा रहेछ भनेर किताब पढेपछि सम्झिएँ । यो किताब पढेर मैले नारायणगोपाल भेटे झैं महसुस गरें । उनीसँग देखापरेका कवि, गीतकार, वाद्ययवादक, रेडियोकर्मी, बिहेको सादगी, मीत लगाउने चलन, अन्तरजातीय विवाहको प्रचलन— सबैको स्वाद चाख्न पाएँ ।

सबैभन्दा त मलाई पेमालाले भनेको वाक्यले काँडा उमारिदियो । ‘पानी पर्दा महाराजगन्ज चोकको पतिको शालिकलाई छाता ओढाइदिन पाए हुन्थ्यो’ भन्ने कुराले उनको प्रेमको असीमितता देखाउँछ । पढेलेखेकी एक सक्षम नारीले प्रेमको साथ दिन आफ्ना सम्पूर्ण खुसी त्यागेको वर्णन गहन छ ।

अवश्य पनि लेखकले नारायणगोपाल र उनका सन्दर्भमा जोडिन आइपुग्ने पात्रउपर जति समय र अनुसन्धान खर्चिएका छन्, त्यति पेमालामा छैनन् । तर, पनि पेमालाले नबोलेर, नदेखिएर, सँगसँगै हिँडेर मात्रै पनि एक विराट छाया छोडेकी छन् ।

लेखक आफू फिल्मकर्मी हुन्, साहित्यकर्मी त उसै पनि हुन् । उनले आफूलाई एक ठाउँमा बडो सभ्य तरिकाले बाहेक अन्यत्र नघुसाएर उदार अनि अनुशासित लेखक सावित गरेका छन् । रचनागर्भमा उल्लेख गरिएका उनका खोजमूलक सन्दर्भ सामग्रीले पुस्तकलाई थप मजबुत बनाएको छ । निकै थोरै मान्छेले यसरी लेख्न सक्छन् । यो किताब एउटा बायोपिक बनाउन लायक छ । विभिन्न शीर्षकमा विभाजन गरिएकाले यो किताब पढ्न पनि सजिलो छ । भिन्टेज लाग्ने तस्बिरहरूले त्यो समयमा लैजान्छन् ।

लेखकले खोज-अनुसन्धानमा जति मेहनत गरेका छन्, भाषाको लालित्य र शुद्धाशुद्धिमा ठीक उल्टो छ । ह्रस्वदीर्घका सामान्य गल्ती अनगिन्ती छन् । पुस्तकमा थुप्रै हरफ मिलेका छैनन् । फिक्सनल नबनाए पनि यो पूर्णतः जीवनी मात्रै पनि लाग्दैन । न त यो रिसर्च जस्तो लाग्छ । एक विषयदेखि अर्को विषय र त्यसको तारतम्यभन्दा पनि शीर्षकका उपर मात्रै खेलेको देखिन्छ ।

कुनै-कुनै अनुच्देछहरू व्याकरणीय हिसाबले अनुवाद गरिए झैं लाग्छन् । यानेकि काल, वाच्यहरू मिलेका छैनन् । लेखकले सम्पादकीय पक्षमा कम ध्यान दिएको प्रस्ट थाहा हुन्छ । सामन्य लाग्ने शब्द, पदवर्गका व्याकरणीय त्रुटिले आधा किताब पढुन्जेल हलुवामा बालुवा परे झैं महसुस भइरहन्छ । पछि नारायणगोपालकै ओजस्वी तेजले तान्छ ।

एक असल शुभेच्छुक सम्पादक छेउमा राखेर दोस्रो संस्करण सच्चिएर आओस् भनी शुभकामना दिन्छु । विशेषगरी भाषाको लालित्य, व्याकरण र फिक्सन लेखनमा अब्बल सम्पादक आवश्यक देखिन्छन् । यति धेरै तथ्य र प्रसङ्ग छन् कि फिल्म हेरे झैं भान हुन्छ । तर, पनि सामान्य शब्दका उच्चारण, सर्वनाममा सुधार जरुरी छ ।

लेखनीको आफ्नो सीमितता पक्कै हुन्छ तर यो सीमितताभित्र असङ्ख्य साहित्यकर्मीको कोलाज प्रस्तुत गरिएको छ । तर, पुस्तकमा चाँदनी शाह र उनले लेखेका गीतको बारेमा पढ्न पाइँदैन । साथै, त्यो बेलाका चर्चित गायक भक्तराज आचार्यबारे पनि केही उल्लेख नगरिनुले अचम्म लाग्छ ।

आजसम्म पढेका किताबमध्ये यति धेरै मान्छे चिनाएको मेरो लागि यो पहिलो किताब हो । त्यसको लागि लेखकलाई साधुवाद छ । एकतमासले नारायणगोपालको पछि हुइँकिएको यो पुस्तकले पेमालालाई कतै छोडेको त छैन तर पनि साथमा लिई हिँडेको छ भन्न पनि सकिन्न । पेमाला अन्डररेटेड देखिन्छिन् ।

मलाई पेमालाको श्रद्धा लागेर आयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?