
काठमाडौं । नेपाली फिल्म र नाट्य अभिनेता दिग्गज खत्रीले सोनी लिभको चर्चित भारतीय वेब-सिरिज ‘द वेकिङ अफ अ नेसन’मा अभिनय गरेका छन् । शुक्रबारदेखि स्ट्रिमिङ सुरु भएको यो हिस्टोरिकल-फिक्सन सिरिजलाई राम माधवानीले निर्देशन गरेका हुन् ।
यो श्रृंखला अप्रिल १३, १९१९ मा पञ्जाबको अमृतसरमा भएको भारतीय औपनिवेशिक इतिहासको एक महत्वपूर्ण र दुखद घटना, जलियाँवाला बाग नरसंहारको पृष्ठभूमिमा सेट गरिएको छ ।
यो ६ एपिसोडको श्रृंखलाले ऐतिहासिक कथावस्तुलाई अदालती नोकझोकसँग मिश्रण गर्छ । साथै, नरसंहार अघि र पछिका घटनाहरूलाई काल्पनिक दृष्टिकोणबाट अन्वेषण गर्दछ ।
यो श्रृंखलामा अभिनेता खत्रीले बेलायती सेनामा कार्यरत गुरुङ सिपाहीको भूमिका निर्वाह गरेका छन् । सिरिजको ट्रेलरमा समेत संक्षिप्त झलक प्रस्तुत गरिएको छ । डेढवर्षअघि सेप्टेम्बरमा पञ्जाबमा पुगेर खत्रीले आफ्नो दृश्य छायांकन गरेका थिए । उनी अडिसनबाट छनोट भएका थिए ।
‘रिलिजपछि राम्रो प्रतिक्रिया मिलेको छ’ खत्रीले अनलाइनखबरसँग भने । खत्रीले नेपाली फिल्महरू गोर्खा वारिअर, अन्तिम संस्कार र प्रदर्शन तयारीमा रहेको ‘एक्लो’मा अभिनय गरेका छन् । मण्डला थिएटरसँग आबद्ध उनले ‘उम्लिँदो खरानी र लेम्लेम्मा’सहित म्याकबेथ, मुनमुन, टिकट टु हलिउड लगायतका नाटकमा अभिनय गरेका छन् ।
प्रतिक्रिया 4