+
+
Shares

प्रतिगामी प्रयत्नविरुद्ध कार्यगत एकता गरौं : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निरंकुश राजतन्त्रका प्रतिगामी प्रयत्न असफल बनाउन लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बिच ऐक्यबद्धता र कार्यगत एकता आवश्यक रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १५:३४

२५ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरूलाई निरंकुश राजतन्त्रका प्रतिगामी प्रयत्न असफल बनाउन कार्यगत एकताको प्रस्ताव गरेका छन् ।

विभिन्न राजावादी पार्टी र संगठनहरूले गतिविधि बनाइरहेका बेला राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै सबै परिवर्तनकारी शक्तिलाई कार्यगत एकताको प्रस्ताव गरेका हुन् ।

उनले यस्तो बेला सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बिच ऐक्यबद्धता कायम हुनु पर्ने आवश्यकतामा जोड दिँदै लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने जनाएका छन् ।

विगतमा पनि जनताका अधिकार हनन हुँदा जनताको एकताबद्ध आन्दोलन हुने गरेको भन्दै केसीले विज्ञप्तिमा भनेका छन्, ‘देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकताप्रति हामीले अहिले पनि जोड दिन्छौं ।’

उनले विगतमा त्यसप्रकारका खतराहरूका विरुद्ध देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा जनताको एकताबद्ध आन्दोलन हुने गरेको भन्दै त्यस्ता आन्दोलनहरू उठान गर्न विभिन्न लोकतन्त्रवादी शक्तिहरू बिच कार्यगत एकता वा गठबन्धन हुने गरेको स्मरण गरेका छन् ।

त्यस्ता गठबन्धन वा कार्यगत एकताहरू २०४६ वा २०६२–६३ सालका जनआन्दोलनहरूमा गरिएको केसीले विज्ञप्तिमा जनाएका छन् ।

‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो,’ उनले भनेका छन्, ‘त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो । तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गयो र त्यसबाट पनि राजावादीलाई बल पुग्यो ।’

गत ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएपछिका गतिविधिबाट गणतन्त्र र धर्मनिरपेक्षताका साथै जनताको आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि खतरा बढेर गएको केसीले जनाएका छन् । ‘देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको कुरालाई हामीले बारम्बार चेतावनी दिँदै आइरहेका छौं,’ उनले भनेका छन् ।

अहिलेको परिस्थिति सिर्जना हुनुमा सरकारले अपनाएका गलत नीति, कुशासन वा भ्रष्टाचारको ठूलो भूमिका रहेको विज्ञपितमा उल्लेख छ । ‘त्यसरी जनतामा पैदा भएको असन्तोष र स्वयं गणतन्त्रप्रति बढ्दै गएको वितृष्णाका कारणले पनि पुनरुत्थानवादी शक्तिलाई धेरै बल पुगेको छ । तर, नेपाली जनताले युगौंयुगदेखि संघर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु अहिले नेपालको राष्ट्रिय र ऐतिहासिक आवश्यकता बनेको छ । त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बिच ऐक्यबद्धता कायम हुनु पर्ने आवश्यकतामा जोड दिन्छौं । त्यसरी लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?