+
+
Shares

कांग्रेसले सुरु गर्‍यो ‘मिसन रोजगारी’ अभियान

राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेको निष्कर्षसहित नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ । एक वर्ष चल्ने अभियान दुई चरणमा सम्पन्न हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते २०:००

२५ फागुन, काठमाडौं । स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने गरी केही साताअघि कांग्रेसले आफ्नो मुख्यालयमै स्टलसहितको मेला आयोजना गरेको थियो । केही महिनाअघि देखि कांग्रेसले नीति बहस पनि चलाउँदै आएको छ ।

आइतबारबाट कांग्रेसले अर्को अभियान सुरु गरेको छ, ‘मिसन रोजगारी’ । बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका बेला कांग्रेसले रोजगारीको बहस थाल्न खोजेको छ ।

अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ छ ।

महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो ।

आइतबार अभियान सुरु गर्दै महामन्त्री थापाले विमर्शको केन्द्रमा रोजगारी बनाउन अभियान सुरु गरिएको जानकारी गराए । उनले भने, ‘रोजगारी राजनीतिक मुद्दा बनेको न प्रतिस्पर्धाको मुद्दा ।’

मिसन रोजागारी अभियानमा प्रारम्भमा विभिन्न क्षेत्रसँग प्रारम्भमा संवाद गरिने भएको छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसले जनाएको छ ।

साथै, रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसले जानकारी गराएको छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

पार्टीभित्रबाट नै रोजगारीका सन्दर्भमा अध्ययन अनुसन्धान गर्न समूह बनाउने कांग्रेसले जनाएको छ । आन्तरिक समूहमा अनुसन्धानकर्ता, विज्ञ, इन्टर्न, पार्टीका विभिन्न विभाग र संयन्त्र सम्मिलित हुनेछन् ।

अभियानका क्रममा रोजगारी सिर्जना गर्न भएका समस्या निराकरणका लागि स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालय, थिंक ट्यांक, अनुसन्धान संस्था, सरकारका संरचना, सरकारी–गैरसरकारी संस्थासँग सहकार्य कांग्रेसले गर्नेछ ।

विमर्शको केन्द्रमा रोजगारी हुँदा श्रम र रोजगारका विषयमा आइरहेका गलत भाष्यलाई चिर्न सहयोग पुग्ने कांग्रेसले जनाएको छ । सरकारले गर्नुपर्ने कार्यका साथै नीतिगत समस्याको पहिचान पनि ‘मिसन रोजगारी’को उपलब्धी हुने कांग्रेस जनाएको छ ।

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैन बारे अध्ययन नभएको उनले सुनाए । रोजगारी सिर्जना हुने कतिपय क्षेत्रमा विदेशी कामदारले आएको तर हामीकहाँ दक्षताको अभाव रहेको पनि उनले बताए ।

तल्लोदेखि माथिल्लो तहसम्म विदेशीले रोजगारीमा हुने तर नेपाली युवाले किन रोजगारी पाउन नसकिरहेको अवस्थाबारे अध्ययन गरिने कांग्रेसले जनाएको छ ।

विषयगत छलफलका लागि फरक फरक क्षेत्रका व्यक्तिहरू आमन्त्रण गरेर बहस गरिएको थियो । अर्थविद् विश्व पौडेल, श्रम मन्त्रालयका पूर्वसचिव केवल भण्डारी, अनुसन्धानकर्ता एवं प्राध्यापक डा. कुशुम शाक्य सीटीईभीटीका सदस्यसचिव महेश भट्टराई, व्यवसायी नीरञ्जन श्रेष्ठलगायतले रोजगारीमा रहेका समस्याबारे जानकारी गराएका थिए ।

नेपालमा प्रत्येक वर्ष ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ भनिँदै आए पनि एकिन संख्या भने नभएको कार्यक्रममा जानकारी गराइएको थियो । रोजगार प्राप्त व्यक्तिहरूमा औसत आम्दानी १७ हजार ८०९ रुपैयाँ तथ्यांक प्रस्तुत गरिएको थियो । नेपाल छाड्नुको प्रमुख कारण रोजगारी नपाउनुुसँगै प्राप्त पारिश्रमिक कमि हुनु पनि कारण रहेको महामन्त्री थापाले जानकारी गराए ।

नेपालमा उत्पादित वस्तुको निर्यात बढ्दा कामदार पनि विदेशीको भर पर्नु परेको उदाहरण समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । चाँदीबाट बनेका सामग्रीको निर्यात बढ्दा समेत कामदार नेपाली नहुने अवस्था रहेको छलफलमा बताइएको थियो । रोजगारी नपाएर विदेशिनुमा दक्ष जनशक्ति अभाव रहेको समस्या बहसमा सुनाइएको थियो ।

मिसन रोजगारी मार्फत विश्वविद्यालय, सरकार र उद्योगलाई जोडिने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?