+

मन्जुश्री ट्रेल रेसमा पाँच सय भन्दा बढी धावक दौडने

२०८१ फागुन  २५ गते १९:०४ २०८१ फागुन २५ गते १९:०४
मन्जुश्री ट्रेल रेसमा पाँच सय भन्दा बढी धावक दौडने

२६ फागुन, काठमाडौं । पाँचौ संस्करणको मन्जुश्री ट्रेल रेस (एमटिआर) चैत पहिलो साता हुने भएको छ ।

मन्जुरी ट्रेस रेसको आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करण यही मार्च १४ देखि १६ (चैत २-१६) सम्म हुने भएको जानकारी दिएको हो ।

यस संस्करणमा नेपाली र विदेशी गरी पाँच सय भन्दा बढी धावक दौडने आयोजकले जनाएको छ ।

‘यस संस्करणमा धावहरुको संख्यामा उल्लेख वृद्धि भएको छ । नेपालबाट ३७१ र विदेशी १३१ गरी कूल ५०२ धावकले अहिलेसम्म नाम दर्ता गराइसक्नुभाछ ।’ मन्जुश्री ट्रेल रेसका रेस डिरेक्टर आशिष मिश्रले भने ।

त्यसमा पुरुष धावक ४०८ जना छन् भने महिला ९४ जना छन् ।

नेपालकै चर्चित मध्येको एक रेस मन्जुश्री ट्रेल रेसमा नेपाल बाहेक विश्वभरका धावकहरु आएर दौडनेछन् ।

पाँचौ संस्करणमा विभिन्न पाँच क्याटेगोरीमा रेस हुनेछ । जसमा १०० माइल्स, १०० किमी, ५० किमी, ३० किमी र १० किमीमा प्रतिस्पर्धा गराइनेछ ।

मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले यो रेस मात्र नभएर पर्यटन प्रबर्दन र वातावरण मैत्री रेस पनि भएको बताए । ‘मन्जुश्रीको नामबाट हुने यो रेसले हाम्रो संस्कृतिलाई पनि बचाएको छ र पर्यटन विकासमा पनि टेवा पुर्‍याउनेछ ।’ उनले भने ।

यसैगरी मन्जुश्री ट्रेल रेस नेपाली ट्रेल धावकहरुका लागि राम्रो अवसर भएको र यहाँबाट खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरसम्म जाने अवसर पाउने आचार्यले बताए । ‘यो रेस जितेपछि खेलाडीहरुलाई बाहिर गएर खेल्ने अवसर पाउनेछन् । अहिले पनि यो रेस जितेका खेलाडीहरुले विदेशमा दौडने अवसर पाएका छन् ।’ उनले भने ।

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर रेसको रुपमा समेत रहेको छ । मन्जुश्रीमा विजेता हुने खेलाडीहरुका लागि यस वर्षको अन्तिममा भियतनामा हुने एसिया ट्रेल मास्टर्समा खेल्ने अवसर समेत हुनेछ ।

यसअघि पनि मन्जुश्री रेस जितेका खेलाडीहरुले त्यो अवसर पाएका थिए र ट्रेल मास्टर्सको उपाधि नै जितेका थिए । नेपालबाट सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

आयोजक कमिटीका रहेकी रशिलाले यस पटक भने आफू मन्जुरी ट्रेल रेसमा दौडने योजना नरहेको बताइन् ।

मन्जुश्री ट्रेल रेस बाहेक जुम्ला रारा अल्ट्रा म्याराथन पनि एसिया ट्रेल मास्टर्सको क्वालिफायरको रुपमा रहेको छ ।

मन्जुश्री ट्रेल रेसमा १० किमी बाहेक बाँकी चार विधामा नगर पुरस्कारको पनि व्यवस्था गरिएको छ । १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमश: ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् भने १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमश: ५० हजार, २५ हजार र १५ हजार, ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमश: ३० हजार, १५ हजार र १० हजार तथा ३० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमश: २० हजार १० हजार र ५ हजार पाउनेछन् ।

मन्जुश्री ट्रेल रेसको लागि करिब ३६ लाख बजेट लाग्ने कार्यवाहक अध्यक्ष आचार्यले बताए । आर्थिक अवस्थाले गर्दा पुरस्कार राशी कम राखिएको उनले बताए ।

मन्जुश्री ट्रेल रेस अन्तर्गत सबैभन्दा लामो दूरीको रेस १०० माइल्स स्वयम्भूस्थित सिंगल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिंगल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ भने पुरस्कार वितरण समारोह पनि त्यही हुनेछ ।

काठमाडौं उपत्यकाकै मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी ट्रेल धावकहरुका लागि प्रमुख रोजाई बनेको छ । यस्तै साहसिक खेल पर्यटकका लागि यो रेस आकर्षणको केन्द्र बनेको छ । हिमालय शृङ्खला, काठमाडौँ उपत्यका, जङ्गल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

मन्जुश्री ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय