
२५ फागुन, काठमाडौं । एक करोड रुपैयाँ बराबरको बीमा रकम हत्याउन आफ्नै पसलमा आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर घर भई पोखरा महानगरपालिका–२७ तालचोकमा बस्ने २८ वर्षीय रमेश शर्मा लोहार छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । १६ फागुनमा साँझ ९ बजेतिर पोखरा महानगरपालिका–८ न्यूरोडमा लोहारले सञ्चालन गरेको शर्मा आईटी हबमा आगलागी भएको थियो ।
तत्लकालै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पौन ८ बजे नै आगो नियन्त्रणमा लिएको थियो । तर घटनको अनुसन्धान गर्दा लोहारले बीमाको रकम हत्याउने उदेश्यले आफ्नै पसलमा आगो लगाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
आगलागीबाट ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै उनले वडा प्रहरी कार्यालय बैदाममा १७ फागुनमा निवेदन दिएका थिए । उनले मोबाइल चार्जमा राखेर वास रुम गएको र केही पड्केको आवाज आएकाले हेर्दा खेरी आगलागी भएको दाबी गर्दै निवेदन दिएका थिए ।
उनले गत पुसबाट मासिक ३५ हजार भाडा तिरेर आईटी हब सञ्चालन गर्दै आएका थिए । पसलमा दुई जना कामदार रहेकामा घटना हुने दिन उनीहरू बिदामा रहेको खुलेको कास्की प्रहरीका प्रवक्ता वसन्त शर्माको भनाइ छ ।
घटनाको दुई दिनदेखि पसल भने बन्द अवस्थामा रहेको प्रहरीको भनाइ छ । उनले शिखर इन्स्योरेसन कम्पनीमा १ करोड बराबरको बीमा गरेका थिए । तर अनुसन्धानका क्रममा भने बीमाको रकम दाबी गर्न आफैंले आगो लगाएको खुलेको प्रवक्ता शर्माले बताए ।
पक्राउ परेका उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4