
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा गरेका स्वागत शान्तिपूर्ण भयो । एउटा शान्तिवादीको दृष्टिले हेर्दा यो शान्तिपूर्ण नै भयो ।
पाँच जना होऊन् कि पाँच सय, मरिसकेको राजतन्त्रलाई ब्युँताउन भनेर मानिस सडकमा आए । त्यसैले सत्तामा बस्ने र प्रमुख राजनीतिक दलहरूले हामीले के त्रुटि गर्यौं भनेर पुनरावलोकन गर्नुपर्छ । संविधानमा जनताको स्वामित्व रहेको त्यत्रो उत्कृष्ट व्यवस्थामा किन मानिस सडकमा आए, हामी किन यति नालायक भएछौं भनेर मार्गप्रशस्त गर्नुपर्छ ।
मैले यसो किन भनेँ भने व्यवस्था नै जाने भयो भने हामी यिनीहरूलाई पुजेर बस्दैनौं । आधा दर्जन नेताहरूको नालायकीपनको कारण मुलुकको भविष्य नै संकटमा पार्न खोजियो, यो दुःखको कुरा हो ।
हरेकले आफ्नो सीमा बुझ्नुपर्छ । पूर्वराजावादीहरूलाई म इतिहास पढेर उदाहरण दिन आग्रह गर्दछु । संसारमा नेपाल बाहेक कुन मुलुक छ, जहाँ व्यवस्थाको विरोधमा सडकमा आउन पाइन्छ, जहाँ व्यवस्थाको विरुद्ध मुर्दावाद भन्न पाइन्छ । कुनै मुलुकको उदाहरण उनीहरूले देखाउन सक्छन् ? यो स्वतन्त्रताको दुरूपयोग उनीहरूले नगरून् ।
संस्कृतमा चारवाकको एउटा श्लोक छ :
यावज्जीवेत सुखं जीवेद, ऋणं कृत्वा घृतं पिवेत,
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।
यसको सार हो, एकपटक भस्म भइसकेको शरीर फर्केर आएको कहाँ छ ? मैले धेरै अगाडि भनेको कुरा हो– नेपालमा राजतन्त्रको दाहसंस्कार भइसक्यो । दाहसंस्कार भएको कुरा फर्केर आउने कुरा कहाँ छ ?
त्यसैले म दाबाको साथ भन्छु, अरू दुर्घटनामा जाला, विकर्षण र आकर्षणमा जाला तर लेखेर राख्नुस्, म र मेरो पुस्ता रहँदासम्म राजतन्त्र फर्केर आउँदैन ।
ज्ञानेन्द्रले स्वतन्त्रताको सबै मर्यादा नाघे
यसमा सेनालाई पार्नु हुँदैन । पूर्वराजावादीहरूले कुप्रचार र दुश्प्रचार गरिरहेका छन् । उनीहरूले मर्यादाका सारा सीमाहरू नाघे । सेनासँग कुरा भइसकेको छ, सेना यस्तो छ, उस्तो छ भनिरहेका छन् । नेपालको सेनाले धेरै पापड बेलिसकेको छ । सेना राज्य हो र यो संविधान अन्तर्गत हुन्छ र सरकारको मातहतमा मात्र परिचालित हुन्छ ।
सरकारका कमीकमजोरी होलान्, तर यो सरकार अवैध छ त कसैले भनेको छैन । त्यसैले सेनालाई यो विवादमा ल्याउनु हुँदैन । त्यसैले यी अनेकौं हतकण्डा र प्रपोगन्डाहरू मिसाएर हल्ला गर्दा केही मान्छेहरू जम्मा हुनुभयो होला ।
मेरो प्रश्न छ– भोलि मलाई देउता घोषणा गरिदिनुपर्छ भनेर मैले यति नै मान्छे उतारें भने के मलाई देउता घोषणा गरिदिने ?
प्रष्ट कुरा, वैधानिक मार्गबाट यो संविधान विघटन हुँदैन । मेरो पुस्ता जीवित हुन्जेलसम्म राजतन्त्र फर्किएर आउँदैन भलै अरु केही दुर्घटना हुनसक्ला ।
दोस्रो, अब संविधानमा संशोधन मात्रै हुन्छ । जस्तो अमेरिका र भारतमा अभ्यासमा छ, संविधानमा संशोधन हुन्छ । यसो गर्दा पनि पूर्वराजतन्त्रलाई संविधानमा अटाउने ठाउँ छैन । किनकि, राजतन्त्र ल्याउन संविधान मास्नुपर्छ । यो गम्भीरतातर्फ कसैले सोचेकै छैन । यो संविधानलाई नमारेसम्म राजतन्त्र बौरिंदैन ।
यो संविधानलाई मासेपछिको परिणाम के हुन्छ ? के महेन्द्रले दिएको २०१९ सालको संविधान ल्याउने ? कि पद्मशमशेरले २००४ सालमा दिएको संविधान ल्याउने ? यसरी त मुलुक अन्तहिन द्वन्द्वमा जान्छ ।
गणतान्त्रिक व्यवस्थाकै कारण स्वतन्त्रता छ । त्यसको कसैले सदुपयोग गरेका छन् कसैले दुरूपयोग । पूर्वराजावादीहरूले दुरूपयोग गरे । केही युवावयका मानिसहरू पनि सडकमा देखिए । उनीहरू यो राजाले आर्जेको मुलुक भनिरहेका छन् । राजा फिर्ता ल्याउ भन्ने यो लहड हो ।
यो लहडलाई चिर्न व्यापक रूपमा सुशासनको अभियान आवश्यक छ । सुशासनले नै यसको जवाफ दिन्छ । हामी चाहन्छौं शान्ति । आन्दोलनहरू पनि शान्तिपूर्ण हुनुपर्छ । तर पूर्वराजावादीहरूले उदाहरण देखाइदिनु होस्– दिल्लीमा गएर भारतको संविधान च्यात्छु भन्नुभयो र तपाईं ढाड सग्लो लिएर फर्कनुभएछ भने मलाई भन्नुहोला ।
राजावादीहरूको सद्भाव भड्काउने प्रयास
तपाईं अमेरिका गएर त्यहाँको संविधान च्यात्छु र पुरानो शासन चाहियो भन्नुभयो भने तपाईं त्यहाँबाट सग्लै फर्कन सक्नुहुन्छ । बेलायतमा गएर यो संसदीय लोकतन्त्र चाहिंदैन भन्नुभयो भने तपाईंको हालत के होला ? अब नेपालमा अलि धेरै स्वतन्त्रता छ र हामी नै भनिरहेका छौं कि शान्तिपूर्ण रूपमा उठेका आवाजलाई दमन गर्नुहुँदैन, प्रकट हुन दिनुपर्छ । डराउनुपर्दैन किनभने यो नागरिकले नै ल्याएको व्यवस्था हो ।
तर शान्तिपूर्ण भनेको यसमा घृणा र हिंसा मिसिनु हुँदैन । त्यसैले पूर्वराजावादीहरूले भड्काउने काम गरिरहेका छन्, यसमा मेरो सबैभन्दा ठूलो आपत्ति छ । सेनालाई भड्काउने प्रयास यही हो ।
कथित ज्योतिषीलाई अगाडि सारिएको छ । उनीहरूसँग न कुनै ज्ञान, न कुनै दर्शन छ । त्यो पूर्वराजा ज्ञानेन्द्रले सिर्जना गरेको तमासाको मदारी हुन् । ती मदारीहरू युट्युबमा आएर भन्छन्– आज यति गते यति बजे गद्दीमा बस्नुहुन्छ । यति गते यति बजे ज्ञानेन्द्रलाई नारायणहिटी प्रवेश गराइन्छ । बौरिन्छ भन्छन् । यो त धर्म र ज्योतिषशास्त्रकै अपमान भयो नि । यसो गर्नुहुँदैन ।
मर्यादाको सारा सिमाना नाघ्दानाघ्दै एकजना राणाको नाममा योगी आदित्यनाथको फोटो राखेर हाम्रो पछाडि उनी छन् भनेर तराईमा धार्मिक भावनालाई भड्काउने प्रयत्न गरिएको छ । गाली गर्दा भारत र अमेरिकालाई गाली गर्ने, यूरोपलाई गाली गर्ने, गणतन्त्र यिनीहरूले ल्याइदिएको हो भन्ने जबकि यो झूट हो ।
अनि योगी आदित्यनाथकै फोटो प्रदर्शन गर्ने ? यस्तो दुश्प्रचार, प्रोपोगन्डा, हावादारी कुरा भइरहेको छ । यसरी सारा मर्यादाको सीमा नाघिएको छ ।
हरेक मानिसको जीवन आफैंमा एउटा तपस्या हो । तर दुःखद कुरा के छ भने आधा दर्जन नेताहरूको असक्षमताले गर्दा यो नकरात्मक लोकप्रियता पूर्वराजाको बढेर गएको छ । दण्डहिनता स्थापित भयो । जस्तो, राजतन्त्र त इतिहासले फालेको हो नि त ! बरू अर्को पार्टी खोल्छु, हामी यो खराब दलको विकल्प दिन्छौं, सुशासन दिन्छौं भन्नुपर्नेमा पूर्वराजा नै चाहिन्छ भनिएको छ । उनीहरू यसरी निहुँ खोज्दैछन् । हिंसामा जाने बाटो खोज्दै छन् ।
पूर्वराजाले दलसँग छिमेकको रिस दुरूपयोग गरिरहेका छन्
केही कुरामा छिमेकीहरू रिसाएका होलान् । त्यसको दुरूपयोग पूर्वराजा ज्ञानेन्द्रले गर्न खोज्नुभयो । तर, अमेरिका, भारत यहाँसम्म कि चीन र यूरोपबाट पूर्वराजाको आन्दोलन सफल हुन्छ र यसलाई हाम्रो समर्थन छ भनेर कोही पनि अगाडि आउँदैन ।
सडकमा राजावादीहरूको आन्दोलन भइरहँदा राजनीतिक दलहरूमा दबाब बढेर आन्तरिक लोकतन्त्र बलियो हुने र पुस्तान्तरण हुनुपर्ने हो, तर त्यस्तो देखिंदैन । इतिहास हेरौं, त्यत्रो अत्याचार भएर राणा फाल्नुपर्छ भन्दा पनि राणाका समर्थकले बोलेनन् । परिणाम राणातन्त्र अर्थात् श्री ३ शासनतन्त्र गयो । पञ्चायत सुधार्नुपर्छ भन्न सकेनन् पञ्चहरू, त्यो व्यवस्था पनि गयो । राजा फाल्नुपर्छ भन्न सकेनन् राजावादीहरूले २०४७ देखि ०६१ सालको बीचमा, राजतन्त्र नै गयो ।
यिनै राजाहरूलाई र यही इतिहासलाई उद्धरण गरेर इतिहासलाई पुनरावृत्ति गर्दै जाने हो भने यिनै नेताहरूको कारणले व्यवस्था धरापमा पनि पर्नसक्छ । हामी सजक हुनुपर्दछ । उनीहरूको पछाडि आएको भीड लर्तरो छैन । आक्रोशको भीड छ । त्यो सबै प्रायोजित भीड छैन ।
चार जना नेता किनारा लाग्दिने, पार्टीले किनारा लगाइदिने हो र संसद चलायमान र सक्रिय भएर राम्रो काम गर्ने हो भने राजावादी द्वन्द्वको बीउ निमिट्यान्न भएर जान्छ । तर ती चार नेता छोड्न तयार छैनन् । तिनलाई हटाउन पार्टी पंक्ति तयार छैनन् । त्यसलै पूर्व राजावादीहरूको पहिलो रणनीति हुनसक्छ– संरचना विहीनता । उनको आक्रमण अब संसदमाथि हुन्छ । संसद विघटन गर्न सकियो भने संरचनाविहीन अवस्था बन्छ ।
मेलमिलापको नाममा पूर्वराजाले तुरूपको पत्ता फालेका छन् । मेलमिलापको त्यो तुरूप फाल्दा मलाई ठाउँ देऊ न त भन्नुहुन्छ । १०/२० हजार मान्छे काठमाडौंमा भेला पारेर, मोटरसाइकल र्याली गरेर संसारमा कुनै पनि व्यवस्था उल्टिन्न । तर यो आक्रोश बढ्दै गयो र यिनै नेताहरू हालीमुहाली सत्तामा बढ्दै गएर सुशासन नहुने हो भने परिणाम डरलाग्दो हुन्छ । त्यसमा अरु पनि खेल्नसक्छन् ।
यी दलहरू सुध्रने अवस्था पनि नहुँदा कसैले खेल्नसक्छ । राजावादी शक्तिले यो संविधान मास्न खोज्छन् । त्यो जोखिम विदेशी स्वदेशी कसैले पनि उठाउँदैनन् । यो बार्गेनिङका लागि पूर्व राजाले तुरूप फालेका छन् । संविधान नै मासेपछि नेपाल अन्तहीन जन्जालमा फस्छ । त्यसलाई भावी पुस्ताले माफ गर्दैन ।
त्यस्तो बेलामा अरू दुर्घटनामा हुनसक्छ । यसरी नै भोलि १४ ठाउँमा २८ हजार नागरिक उत्रिनसक्छन् । सुरक्षा निकाय बाहिर बस्दै गयो, रमिते भयो र यिनै नेताले खाने हो भन्दै गयो भने स्थिति अर्को अराजकतामा जानसक्छ ।
अर्को अराजकता भनेको संरचनाविहीनता हो । लोकतान्त्रिक संस्थाहरू फालिने, संसदको प्रभावहिनता हुने हो । त्यसैले संसद प्रभावकारी हुनुपर्छ ।
त्यसैले हाम्रो पहिलो चाहना शान्ति हो । दोस्रो, स्थायी शान्तिको खातिर सुशासन हुनुपर्दछ । तेस्रो, स्थायित्व हुनुपर्दछ । सुशासन नहुँदा शान्ति भंग हुन स्थिति देखापर्यो । सैद्धान्तिक रूपमा भन्नुपर्दा कोर्स करेक्सन नहुने हो भने एउटा विन्दुमा पुगेर शान्ति भंग हुनसक्छ । तोडफोडमा जाने आशंका बढिरहेको छ ।
अब नेपाल संविधानमै अलमल्लिन सक्दैन । नागरिकको चाहना र काल परिस्थिति हेरेर संशोधन गर्नुपर्दछ । नयाँ बनाउने भनेर संविधानको विकल्प खोज्नु हुँदैन । होइन भने दक्षिणपन्थ र उग्रपन्थी बौरिएपछिको परिणाम संविधानकै लागि अन्त्यहीन झगडा चलिरहन सक्छ । आजको यो जुलुसले स्थायित्वमा पनि प्रश्न उठाउन सक्छ । सुशासन नहुँदा शान्ति खलल हुने भइहाल्यो ।
लिङदेनहरूलाई संसद छाड्ने हिम्मत छैन
एकै हजारको संख्यामा भए पनि प्रदर्शनकारीहरू हृदयदेखि उत्रेर आएका हुन् भने प्रश्न गर्नुपर्छ कि त्यो स्केलमा नागरिकले विद्रोह किन गरे ? नागरिकलाई गाली गरिंदैन । ती राजावादी हुन् भनिंदैन । हिन्दीमा नाराज भन्छ । त्यहाँ असन्तुष्ट भएर आएकाहरूको संख्या थुप्रै छन् । तिनीहरूलाई सम्बोधन गर्न खराब नेतालाई अब फाल्नुपर्दछ ।
यसरी न पूर्वराजावादीहरूले विकल्प खोज्न सके न दलहरूभित्र नेतृत्वको विकल्प खोज्न सकेका छन् ।
पार्टीहरूमा अर्को राजतन्त्र पुनरावृत्ति भएको छ । पार्टीहरूमा ती नेताहरूलाई फाल्न सामर्थ्य छैन । राणाहरूलाई फाल्न पनि तिनीहरूका दासले नेतृत्व बदल्ने सामर्थ्य देखाएनन् । पञ्चायतीहरूको त्यत्रो भीडले नेतृत्व सच्याउन नसक्दा व्यवस्था नै गयो । नेता सच्चिएनन् र पञ्चायत आफैं गयो । राजतन्त्र पनि त्यसै गएको होइन । दुःखद कुरा के छ भने हिजो इतिहासकै कलंक भनेर फालिएको राजतन्त्रलाई आदर्श बनाउने प्रयत्न भइरहेको छ ।
पूर्व राजावादीहरूले पनि विकल्प खोजेनन् । हामी चुनाव लडेर आएर तह लगाउँछौं भनेर गएनन् । राजेन्द्र लिङदेन र धवलशमसेर राणाहरूले यदि साँच्चै विद्रोह गरेको हो भने संसदबाट राजनीमा दिएर आइहाल्नु हुन्थ्यो नि ! त्यो आँट उहाँहरूमा छैन । संसदमै बसेर टाँस्सिएर खाइराखौं भन्ने उहाँहरूलाई छ ।
एउटा विन्दुसम्म उहाँहरू संसद छोडेर पनि जानुहुन्न । विकल्पको खोजी पनि गर्नुहुन्न् । अहिलेको यो अवस्था भारत रिसाएको कारणले अलिकति ज्यादा उर्लेको परिस्थिति हो । नेताहरूले यसलाई कमजोर आँके ।
(नागरिक अगुवा पहाडीसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4