+

फारवेष्टद्वारा न्याभ कपको उपाधि रक्षा, टमाटालाई न्याभ अवार्ड

२०८१ फागुन  २६ गते ७:५४ २०८१ फागुन २६ गते ७:५४
फारवेष्टद्वारा न्याभ कपको उपाधि रक्षा, टमाटालाई न्याभ अवार्ड

अस्ट्रेलिया । फारवेष्ट हन्टर क्रिकेट क्लवले नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आइतबार मेलबर्नमा भएको फाइनलमा फारवेष्टले एक्सपर्ट सगरमाथा ब्लुजलाइ ८ विकेटले हरायो ।

नेपाली समाज भिक्टोरियाको वार्षिक कार्यक्रमको निरन्तरताका रुपमा न्याभ कप क्रिकेट आयोजना हुँदै आएको छ। २०औं संस्करणको फाइनलमा आइतबार १८२ रनको लक्ष्य फारवेष्टले १३ बल बाँकी छँदै भेट्टायो।

उसका लागि कप्तान तथा ओपनर केशव पन्तले २६ बलमा ५९ रनको विष्फोटक इनिङ्स खेले । सागर अधिकारीको बलमा क्याचआउट हुनुअघि उनले ५ छक्का र ६ चौका प्रहार गरे ।

अर्का ओपनर आर्यन विष्ट ३४ रन बनाएर आउट भए । महेश खत्री र सुनील भाटले क्रमसः ३३ र ३६ रनको नट आउट इनिङ्स खेले । फारवेष्टले २१ अतिरिक्त रन पाएको थियो ।

यसअघि ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका लागि ओपनर अभिनाश जीसीले ७७ रन बनाए । उनले ५३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रशिम कँडेलले ३१ रन जोडे ।

सेमिफाइनलमा एक्सपर्टले ट्राइकन क्रिकेट टिम र फारवेष्टले चितवन क्रिकेट क्लवलाई पराजित गरेका थिए । हरेक सप्ताहन्तमा म्याच सञ्चालन हुने गरी आयोजना गरिएको प्रतियोगितामा यस वर्ष १७ टिमको सहभागिता थियो ।

भिक्टोरिया राज्यमा रहेका नेपाली समुदायका टिमहरुबीच प्रतिस्पर्धा गराइने यो प्रतियोगिता न्याभले नेपाली समुदायबीच पर्वको रुपमा स्थापित गराउने लक्ष्य राखेको छ ।

जगत टमाटालाइ न्याभ अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा न्याभ अवार्ड २०२५ बाट सम्मानित भएका छन् । आइतबार साँझ मेलवर्नमै आयोजित विशेष कार्यक्रममा न्याभका अध्यक्ष डा. एकिन्द्र तिमिल्सिना, भिक्टोरिया राज्यका लागि नेपाली वाणिज्य दूत निराजन गौली लगायतले लिजेन्डरी नेपाली प्रशिक्षक टमाटालाइ सम्मान गरेका हुन् ।

यो अवार्डबाट गत वर्ष नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाइ सम्मानित गरिएको थियो । त्यस्तै कीर्तिमानी खेलाडी दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पनि सम्मानित भएका थिए । त्यसअघि पूर्वकप्तान पारस खड्काले पनि यो अवार्ड पाइसकेका छन् ।

न्याभले अस्ट्रेलियाली दूतावासको रहोवरमा तीन वर्षअघि क्यानसँग गरेको सम्झौताकै निरन्तरताका रुपमा हरेक वर्ष नेपाली क्रिकेट व्यक्तित्वलाइ सम्मान गर्दै आएको छ ।

भिक्टोरियाका लागि नेपाली वाणिज्य दूत गौलीले यहाँको सबैभन्दा पुरानो नेपाली संस्था न्याभले सन्चालन गर्ने समुदायलक्षित गतिविधिको प्रशंसा गरे ।

न्याभ कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय