
‘तिमीहरू बुधवार ४ बजे आउनू’ लखनऊको एक होटलमा बसिरहेका ईश्वरशमशेर राणाको हातमा एक्कासी एउटा टेलिग्राम पर्यो । त्यो टेलिग्राम राजा त्रिभुवनका तर्फबाट ईश्वरशमशेरलाई बोलावटका लागि पठाइएको थियो । घटना २००७ सालको हो । महिना र मिति ठ्याक्कै भन्न नसके पनि बुधवारका दिन बोलाइएको घटनाको स्मरण ९० वर्ष नाघेका पुरुषोत्तमशमशेरलाई ताजै छ । ईश्वरशमशेरले छोरा पुरुषोत्तमशमशेरलाई टेलिग्राम देखाए । अमिनावादको होटलमा सपरिवार बस्दै आएका ईश्वरशमशेरका हातमा परेको टेलिग्राम पढ्दै ‘के गर्ने त पिताजी ?’ भनी पुरुषोत्तमशमशेरले जिज्ञाशा राखे ।
“जरूरी काम परेकोले महाराजाधिराजले बोलाइबक्सिएको होला । त्यसैले हामी उहाँलाई भेट्न जानुपर्दछ” ईश्वरशमशेरले पुरुषोत्तमशमशेरको जिज्ञाशा शान्त पार्दै भने, “बरु श्याम तिमी पनि हिंड ।”
ईश्वरशमशेर, उनका भाइ श्यामशमशेर र पुरुषोत्तमशमशेर लखनऊबाट दिल्ली प्रस्थान गरे । दिल्ली पुगेपछि उनीहरूको बसाइ इम्पेरियल होटलमा भयो । त्यतिबेलाको राम्रा होटलमा गनिन्थ्यो त्यो । राजा त्रिभुवनले बोलाएको निर्धारित दिन र समयमा नै हैदरावाद हाउसमा उनीहरू पुगे । राजा त्रिभुवनको मुकाम हैदरावाद हाउस थियो ।
हैदरावाद हाउसको बाहिर प्रतीक्षा गर्दैगर्दा महावीरशमशेर, सुवर्णशमशेर र मनशमशेर पनि देखापरे । एकैछिनमा महेन्द्रविक्रम शाह (नेपाली कांग्रेसका तत्कालीन महामन्त्री) र सूर्यप्रसाद उपाध्याय पनि आइपुगे । लगत्तै मातृकाप्रसाद कोइराला र बीपी कोइराला पनि त्यहीं पुगे । “हामीले आफूहरूलाई मात्रै त्रिभुवन सरकारले बोलाइबक्सिएको होला भन्ने ठानेका थियौं । तर त्यहाँ अरूलाई पनि देखेपछि सबैलाई बोलाइबक्सिएको रहेछ भनेर पिताजी, काका र मैले गाडीभित्रै बसेर कुराकानी गर्यौं । बोलाउनुको कारण यसै हो भनी यकिन गर्न सक्ने अवस्था थिएन । त्यसैले कारण थाहा पाउन व्यग्र उत्सुक थियौं” त्यो बेलाको घटना स्मरण गर्दै पुरुषोत्तमशमशेरले भने ।
केहीबेरको प्रतीक्षापछि गोविन्दनारायण देखा परे । उनी भारत सरकारले राजा त्रिभुवनलाई उपलब्ध गराएको सेक्रेटरी थिए । गोविन्दनारायणले सबैलाई भित्र जान आग्रह गरे । बोलाइएका जति सबै उनकै पछाडि लाग्दै हैदरावाद हाउसभित्र प्रवेश गरे । शुरूमा गोविन्दनारायणको कार्यालयमा सबै जनालाई राखियो । गोविन्दनारायण कहिले माथि र कहिले तल ओहोरदोहोर गरिरहन्थे । माथि त्रिभुवनको कोठा थियो । माथि उक्लिन आग्रह गरिएपछि सबै जना उनीसँगै पछि लागे । माथि पुगेपछि बन्दुकमा संगीन हालेर उभिएका गोर्खाली सेनाहरू ढोका ढोका र भवनका विभिन्न कुनामा उभिएका दृश्य सबै जनाले देखे ।
कोठाभित्र चारैतर्फ लहरै कुर्सी राखिएका थिए । एक दिशामा मातृका, बीपी, मनशमशेर, सुवर्णशमशेर र महावीरशमशेर बसे । अर्काे दिशामा ईश्वरशमशेर, श्यामशमशेर र पुरुषोत्तमशमशेर बसे । अर्काे दिशामा महेन्द्रविक्रम र सूर्यप्रसाद बसे । अर्काे दिशामा त्रिभुवन र छोराहरू बसे ।
राजा त्रिभुवनले जुरुक्क उठी खल्तीबाट चुरोटको बट्टा झिके । सबै जना बसेको स्थानमै पुगेर हात अगाडि सारे । केहीले लिए केहीले लिएनन् । त्रिभुवनबाट ईश्वरशमशेरलाई चुरोट पिउन आग्रह हुँदा उनले चुरोट नसल्काई सेरवानीको खल्तीभित्र राखे । त्रिभुवनलाई भेट्न सेरवानी पोशाक र कालो टोपी लगाउन पहिले नै उर्दी दिइएको थियो । त्यसैले सबै जना सेरवानी पोशाक लगाएर त्यहाँ पुगेका थिए । आफ्ना बुबा र काकाले चुरोट लिएपछि राजाले दिएको चुरोट लिनुपर्छ भन्ने ठानेर पुरुषोत्तमशमशेरले पनि बट्टाबाट एक खिल्ली चुरोट झिके ।
“तिमीहरूले थाहा पाएकै होलाउ । मोहनशमशेर प्रधानमन्त्री हुने भए” राजा त्रिभुवनले शुरुमै भनेको त्यो वाक्य अहिलेसम्म सम्झना रहेको बताउँदै पुरुषोत्तमशमशेरले भने, “मोहनशमशेरका तर्फबाट पाँच जना र हाम्रो तर्फबाट पाँच जना मन्त्री सहितको मन्त्रिमण्डल गठन हुनेभयो भनेर महाराजाधिराजबाट मर्जी भयो । फेरि उहाँले तुरुन्तै ‘हाम्रो’ भन्ने शब्द सच्याएर कांग्रेसको तर्फबाट भनेर मर्जी भयो ।”
राजा त्रिभुवनले डाक्नुको कारणलाई लिएर सबै जना उत्सुक थिए । त्रिभुवनले बोल्दै जाँदा कारण खुल्दै गयो । “मातृका तिम्रो के विचार छ ?” राजा त्रिभुवनले सबैभन्दा पहिले मातृकाप्रसादतर्फ हेर्दै प्रश्न सोझ्याए ।
बेरै नलगाई मातृकाप्रसादले ‘सरकार, मलाई यो मन्त्रिमण्डलमा समावेश हुने मन छैन’ भनेर जवाफ दिए ।
मातृकाप्रसादसँगै बसेका बीपीतर्फ त्रिभुवनको नजर गयो । पुरुषोत्तमशमशेरले त्यसबेलाको घटनाको बेलीविस्तार गरे, “मन्त्रिमण्डलमा ‘म एक जना बस्छु र एक जना सुवर्णशमशेरलाई राख्नुपर्दछ’ भनेर बीपीले भन्नुभयो ।”
लगत्तै त्रिभुवनले ‘एउटा क्यान्डिडेट मेरो हुनुपर्दछ’ भने । त्यसमा सबैको सहमति बन्यो ।
मन्त्रिमण्डलमा कसलाई राख्ने भन्ने चर्चा र छलफल चलिरहँदा सूर्यप्रसाद उपाध्यायले फ्याट्टै भनिदिए, “सरकार, एक जना रुद्रशमशेरलाई पनि राख्नुपर्दछ ।”
उनको प्रस्ताव सुन्नासाथै राजा त्रिभुवनले ईश्वरशमशेरतिर फर्कंदै सोधे, “ईश्वर, हुन्छ ?” तर ईश्वरशमशेरले ‘मेरो बुबा (रुद्रशमशेर) मिनिस्टरमा सवारी हुन्न’ प्रष्ट भने । ईश्वरशमशेरको जवाफ सुन्नासाथै राजा त्रिभुवनले भने, “हो, कणचिफ (कमान्डर इन चिफ) त कणचिफमा बस्नुपर्दछ ।”
ईश्वरशमशेरले आफ्ना पिता रुद्रशमशेर कणचिफ नहुने जवाफ दिए । फेरि त्रिभुवनले ‘त्यसो भए बहादुरशमशेरलाई कस्तो होला त ?’ भने । रुद्रशमशेरलाई पाल्पा धपाउने नायकमध्ये बहादुरशमशेर पनि भएकाले ईश्वरशमशेरले अस्वीकार गर्नु स्वाभाविक पनि थियो । “बहादुरशमशेरलाई कणचिफ बनाउने हो भने पश्चिम विभागले फेरि विद्रोह गर्छ सरकार” ईश्वरशमशेरले जवाफ दिए ।
त्यो सुन्नासाथै राजा त्रिभुवनले भने, “होइन होइन ईश्वर, कणचिफ दिनैका लागि भनेको होइन । मैले प्रस्ताव मात्र राखेको हुँ ।” त्रिभुवनका पुत्रहरू हिमालय र बसुन्धराका बाजे ससुरा थिए बहादुरशमशेर । त्यसैले पनि त्रिभुवनले बहादुरशमशेरलाई कमान्डर इन चिफ बनाउन खोजेको अनुमान ईश्वरशमशेरको थियो ।
छलफल चल्दै गर्दा गणेशमान सिंहलाई पनि मन्त्री बनाउने कुरा तय भयो । मन्त्रिमण्डलमा राणाहरू मात्रै बढी होलान् भन्ने डर सबैलाई थियो । त्यसैले कांग्रेसका तर्फबाट सुवर्णशमशेरलाई मात्र मन्त्रीमा लैजाने निचोड बैठकले निकाल्यो ।
ईश्वरशमशेर कृष्णनगर र नौतनवामा रहँदा भारतको बनारस हिन्दू विश्वविद्यालयका स्नातक भरतमणि शर्मा बारम्बार त्यहाँ पुगिरहन्थे । “बुबा (ईश्वरशमशेर)ले भरतमणिको नाम प्रस्ताव गर्नुभयो । सबैको त्यसमा सहमति बन्यो” पुरुषोत्तमशमशेरले भने ।
त्यसपछि सबै बाहिरिए । ईश्वरशमशेर, श्यामशमशेर र पुरुषोत्तमशमशेर लखनऊतर्फ फिरे ।
◙◙◙
नेपाल फिर्ने भएपछि ईश्वरशमशेरका सबै परिवार नयाँदिल्ली आइपुगे । उनीहरू सबैका लागि भारतीय सरकारले एउटा हवाईजहाजको व्यवस्था गरिदिएको थियो ।
२००७ साल फागुन ४ गते बिहीवार सबै जना दिल्ली विमानस्थलमा पुगिसकेका थिए । शुरूमा राजपरिवारलाई लिएर एउटा विमान नेपालतर्फ उड्यो । केही मिनेटपछि फेरि अर्काे विमान ईश्वरशमशेर लगायतलाई लिएर उड्यो ।
राजा त्रिभुवन स्वदेश फर्किन लागेको समाचार काठमाडौंका सारालाई थाहा थियो । विमानस्थलमा निकै ठूलो भीड थियो । हजारौं मानिसले त्रिभुवनका पक्षमा जयजयकार गरे । राणाशासन र शासकका विरुद्धमा नाराबाजी भए । प्रधानमन्त्री मोहनशमशेर ‘ओजस्वी राजन्य’ पदक छातीमा झुण्ड्याउँदै राजा त्रिभुवनलाई स्वागत गर्न विमानस्थल पुगे । नेपालस्थित भारतीय राजदूत सीपीएन सिन्हा पनि पुगेका थिए ।
२००७ साल फागुन ७ गते आइतबार त्रिभुवनले नारायणहिटी दरबारबाट देशवासीका नाममा सम्बोधन गरे । अन्तरिम सरकार गठन गरिएको घोषणा गरियो । भद्रकाली मिश्र राजा त्रिभुवनका तर्फबाट मन्त्री बनेका थिए । सबै मन्त्रीहरूले सोही दिन शपथ ग्रहण गरे । “प्रधानमन्त्री मोहनशमशेरले लमजुङ र कास्कीको श्री ३ महाराजको श्रीपेच राजा त्रिभुवनलाई जिम्मा लगाए” पुरुषोत्तमशमशेरले भने, “राजा त्रिभुवन मुटु रोगी होइबक्सन्थ्यो । उहाँको उपचार खर्च चाहिएको थियो । त्यसैले महावीरशमशेरलाई श्रीपेच बेच्न लगाइबक्स्यो ।”
२००८ सालको विजया दशमीका दिन राजा त्रिभुवनको हातबाट टीका थाप्न गएका बखत नारायणहिटी दरबारको बैठकमा मोहनशमशेर र रुद्रशमशेरको भेट भयो । वार्तालापका बीचमा रुद्रशमशेरले मोहनशमशेरलाई (नाताले भाइ भए पनि पदका कारण सरकार भनी सम्बोधन गर्ने गरेको) “सरकार, ज्ञानेन्द्रलाई सिंहासनमा राख्नुहुँदैनथ्यो” भन्दा मोहनशमशेरले स्वीकार गर्दै भने, “हो दाजी, त्यो मेरो भूल थियो ।”
(प्रकृति अधिकारीको दिल्ली सम्झौता पुस्तकबाट ।)
प्रतिक्रिया 4