
काठमाडौं । दिलीप रायमाझीको शीर्ष भूमिका रहेको फिल्म ‘हेल्लो काशिराम’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म जेठ २ प्रदर्शन हुने भएको छ ।
निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् । पोस्टरमा रायमाझीलाई बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ ।
चाँडै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी दिइने भएको छ । फिल्ममा दिलीपसहित सुरवीर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई, भँगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुको अभिनय छ ।
रीम विश्वकर्माको निर्देशन र पटकथा लेखन रहेको फिल्म कमेडी कथावस्तुमा बनेको जनाइएको छ । प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न पाइनेछ ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मलाई पीबी थापाले निर्माण गरेका हुन् । यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्मलाई मित्र गुरुङले सम्पादन तथा रङ संयोजन गरेका छन् ।
नृत्य निर्देशन कविराज गहतराज, एक्सन कोरियोग्राफी शंकर महर्जन, संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता फिल्म निर्देशन गरेका छन् ।
प्रतिक्रिया 4