
काठमाडौं । गायक सुशान्त केसीले शनिबार भक्तपुरको सल्लाघारीमा प्रस्तुति दिए । उनलाई सुन्न हजारौं दर्शक सल्लाघारी मैदानमा जम्मा भएका थिए । रात छिप्पिँदै जाँदा उनले एकपछि अर्को हिट गीत सुनाए ।
यो मेसोमा स्टेजमा अभिनेत्री आना शर्माको उपस्थिती धेरैका लागि ‘सरप्राइज’ दृश्य थियो । सुशान्तले ‘सारंगी’ गाउँदा आनाले नाचेर उनलाई साथ दिइन् । यो दृश्य धेरैका लागि रोमान्टिक र चर्चायोग्य अवश्य हो ।
जतिबेला, आनाको फिल्म ‘एक्टर : टेक वन’ रिलिज तयारीमा थियो । त्यतिबेला सुशान्तले आनालाई टिकटकमा अनफलो गरेका थिए । त्यसपछि यी दुईबीच ब्रेकअपको चर्चा पनि चल्यो । कन्सर्टको प्रेसमिटमा पनि सुशान्तले आनाबारेको प्रश्नलाई पन्छाए ।
केही मिडिया कुराकानीमा पनि आनाले ब्रेकअप भएको संकेत गरिन् । तर, अहिले टिकटकमा सुशान्तलाई फलो मात्र होइन, आफ्नो भव्य कन्सर्टमा समेत आनालाई स्पेस दिएका छन् । सुशान्तको हालैको जन्मदिनमा पनि आनाले बर्थडे विस गरेकी थिइन् ।
‘ब्रेकअप’ र ‘प्याचअप’को चर्चाबीच प्रशंसक अन्योलमा छन् । उनीहरूको प्रश्न छ- के ब्रेकअप प्रचारको फण्डा मात्र हो त ? फिल्म प्रचार र कन्सर्ट प्रचारको फन्डाको रुपमा सामाजिक संजाल प्रयोगकर्ताले यसलाई लिएका छन् । ब्रेकअपको यो चर्चाले फिल्मको प्रचारलाई पनि राम्रै फाइदा पुग्यो ।
हुनपनि, रिलिज हुने बेला सेलिब्रेटीको सम्बन्ध र दाम्पत्य जीवनबारे धेरै किस्सा आउँछन् । हलिउड अभिनेत्री जेन्डायाले हालै पछिल्लो फिल्म ‘च्यालेन्जर्स’ रिलिजको मुखैमा ब्याइफ्रेन्ड टम हल्याण्डलाई इन्स्टाग्राममा अनफलो गरेकी थिइन् । फिल्म रिलिजको केही सातापछि फेरि फलो गरिन् ।
आना र सुशान्तले पनि जेन्डायाको यो शैलीलाई पछ्याएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । फलो र अनफलो, ब्रेकअपको चर्चा नेपालमा मात्र होइन, बलिउड र हलिउडमा समेत चलिरहेको देखिन्छ ।
प्रतिक्रिया 4