
काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने एनआईसी एसियाको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ ।
उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण सोही प्यानमा प्रविष्ट गरिने हुँदा आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा करकट्टी विवरण मिलान गर्ने बैंकको भनाइ छ ।
जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्था समेत अन्त्य हुने बैंकको भनाइ छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएका कारण ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्था र त्यसपछि ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया 4