+
+
Shares

मुक्कुमलुङका मुन्धुमी योद्धाहरूलाई दिलीपकुमार महतोको पत्र ‘अर्जेन्ट’

विनोदविक्रम केसी विनोदविक्रम केसी
२०८१ फागुन २६ गते २०:२०

बेचैन छु

बेचैन रही
बेचैनीको कामना गर्छु

तपाईंहरूको अतीव बेचैनीको
कामना गर्छु

अस्तित्वले खुनको उल्टी गरिरहेको
यस डरमर्दो घडीमा
तपाईंहरूले चैन–आराम फर्माउनुभयो भने
हुनेछ जङ्गलको कत्लेआम
वनतरूलको रगतले रङ्गिएका आफ्ना हात
कुन चाहिं बहुराष्ट्रिय कम्पनीको साबुनले धुनुहोला खै ?

लौ है लुङा हो ! लौ है दरदाजुभाइ हो ! लौ है छोरीचेली हो !

रिसियाहरूको आमसंहार उनीहरूको ‘फाइनल सोलुसन’ हो
कुन हिम्मतले हेर्नुहोला खै
ग्यास च्याम्बरमा खात लागेका लयका लासहरू ?
तपाईंहरू गर्भमै छँदा
तपाईंहरूको चित्त दुख्ला भनेर
खाने बेलामा एक भाग छुट्याउन कदापि नभुल्ने
त्यो विपुल स्नेहप्रथा, त्यो महान् मर्मज्ञता, त्यो सुकोमल मोहको
त्यो विराट् इन्तजाम…
मासिनेछन् सबै सबै

त्यसैले त
म कामना गरिरहेको छु
तपाईंहरूको बेचैनीको
बेचैनीले नै जोगाउँछ बेर्ना सपनाको
बेचैनीले नै जोगाउँछ बीउ इतिहासको
यो सपनाको बेर्ना जोगाउने समय हो
यो इतिहासको बीउ जोगाउने समय हो

मध्यरात जब मुन्धुमी भूमिका घर–घरमा
ढोका फोरेर
बन्दुक भिरेको विकास बुट बजार्दै छिर्छ
मनसा, वाचा, कर्मणा मुनाफाखोरका
मनसा, वाचा, कर्मणा काइते दूतहरू
निहत्था, निर्दाेषहरूको छाती टेकेर नाच्छन् मैमत्त
छोरीचेलीमाथि चकारको अम्लवर्षा हुन्छ,
बत्तिन्छन् तिनमाथि अश्लील हातहरू
लालाबालाका चीत्कार फिंजिन्छन् बतासमा
अन्धकार आतङ्क खापेर झन् गाढा भइदिन्छ

यो सबको अर्थ के हो ?
एउटै अर्थ कि—
लौ है लुङा हो ! लौ है दरदाजुभाइ हो ! लौ है छोरीचेली हो !
लडाइँ सुरु भयो…
माटोको लडाइँ
गीतको लडाइँ
अस्तित्वको लडाइँ
भावनाको लडाइँ
प्रेमको लडाइँ

उनीहरूसँग के छैन
सिंहदरबार छ, अस्त्रागार छ
बैंक छ, सेयर बजार छ
डोजर छ, एक्सकाभेटर छ
विकासऽऽ विकासऽऽ र विकासऽऽ को कङ्क्रिटे तानाशाही छ

तपाईंहरूसँग के छ ?
हरियालीमा घोलिएको मुटु छ
नदी उर्लिने नसा नागबेली छ
चराले गुँड लगाउने मन छ
अनि…
छ गीत एउटा

न्याय–अन्यायको छ्यानविचार गर्ने लाटोकोसेरो
जसलाई तपाईंहरू फक्तिम्बा भन्नुहुन्छ
हो, तपाईंहरूसँग फक्तिम्बा छ

उनीहरूविरूद्ध लड्न
काफी छन् यति हतियार
बस्, चढाइरहनुहोस् तिनमा पाइन भावनाको
अर्जापिरहनुहोस् आँसुले, वेदनाले, अभिप्रायले

उनीहरू जो रूखलाई काठ मात्र देख्छन्
फगत बेचिनलायक काठ
तपाईंहरू रूखलाई बर्काे ओढेकी बोजू देख्नुहुन्छ

उनीहरू मान्छेलाई गड्यौलामा खसाल्छन्
तपाईंहरू गड्यौलालाई मान्छेमा उकास्नुहुन्छ

उनीहरूका निम्ति प्रकृति एटीएम बुथसिबाय केही होइन
जहाँ बद्नियतको कार्ड घुसाएपिच्छे निस्कन्छन्
नयाँ नयाँ संस्करणका अतृप्तिहरू
र, नयाँ नयाँ लुटका आकाङ्क्षाहरू

तपाईंहरू जो ढुङ्गासँग पनि सञ्चोबिसञ्चो सोधनी गर्नुहुन्छ
चराको खसेको एक प्वाँखले
कस्तरी दुखाउँछ तपाईंहरूको आत्मा
लाछिएको एक डालीमा नजर पर्दा
चहर्‍याउँछ तपाईंहरूको चित्त
यो दुखाइ, यो चहर्‍याइ
तपाईंहरूको सर्वस्व हो
यही हो तपाईंहरूको हतियार

लौ है लुङा हो ! लौ है दरदाजुभाइ हो ! लौ है छोरीचेली हो !
लडाइँ सुरु भयो…
मुटुविहीनहरूसँग लडाइँ सुरु भयो

गीत, चरा, जन्तु, जल, बुट्यान,
फूल, पात, शीत… आदि आदिको
अनि अर्को मान्छेको मायामा
भुतुक्क हुने मुटु
मुन्धुमले सिर्जेको मुटु
तपाईंहरूको मुटु

यही मुटुले
पराजित गर्नेछ मुटुविहीनहरूलाई ।

लेखक
विनोदविक्रम केसी

‘भोकको क्षेत्रफल’ कविता संग्रह र ‘भेन्टिलेटरमा आमा’ निबन्ध संग्रहका रचनाकार विनोदविक्रम केसी उम्दा लेखक, सम्पादक र अनुवादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?