२६ फागुन, बुटवल । कपिलवस्तु ११ रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा महावीर क्लब काठमाडौंलाई पेनाल्टी सुट–आउटमा पछि पार्दै कपिलवस्तु ११ ले उपाधि भिडन्त पक्का गरेको हो । अब कपिलवस्तु ११ ले उपाधिका लागि अभिषेक चर्च रजहरसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल फागुन २८ फागुनमा हुनेछ ।
निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । महावीर क्लब काठमाडौंका अरुण चौधरीको बल बाहिरिएपछि प्रतियोगितामा कपिलवस्तु ११ फाइनल प्रवेश गरेको प्रतियोगिताका संयोजक अशोक खड्काले जानकारी दिए ।
मुर्गिया फुटबल क्लबको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
त्यस्तै, सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरूलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रवीन भारीले जानकारी दिए ।
प्रतिक्रिया 4