
२६ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सात महिनामा सूचना प्रविधि (आईटी) निर्यात १२ अर्ब ४१ करोड रुपैयाँ बराबर देखिएको छ ।
तर, आईटी उद्यमीहरू भने नेपालबाट कम्तीमा पनि १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब ४० अर्ब हाराहारी भएको दाबी गर्छन् ।
राष्ट्र बैंकको तथ्यांक र निजी क्षेत्रको दाबीबीच किन यति ठूलो फरक छ त ?
यसमा दुइटा कारण रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । पहिलो, आईटी निर्यातबाट नेपाल भित्रिने सबै रकम ब्यालेन्स अफ पेमेन्टको टेबुलमा रहेको टेलिकम्युनिकेसन, कम्प्युटर तथा सूचना सेवा भन्ने शीर्षकमा राख्न गरिएको छ, जुन अन्तर्राष्ट्रिय मुद्रा कोषको म्यानुअल अनुसार छ । त्यसमा ‘आईटी र आईटी इनेबल्ड सर्भिस’ भन्ने छुट्टै क्याटगोरी हुन्न ।
दोस्रो, स्वतन्त्र रूपमा आईटी क्षेत्रमा काम गरिरहेका (फ्रिलान्सर) हरू र कतिपय सन्दर्भमा कम्पनीहरूले पनि आफ्नो कमाइ रेमिट्यान्सका रूपमा भित्र्याउने गरेको अनुमान राष्ट्र बैंककै अधिकारीहरू गर्छन् ।
त्यस्तो रकम नेपाल भित्रिने रेमिट्यान्स रअन्य ट्रान्सफरमा जोडिने गरेको हुनसक्छ, तर आईटीसँग सम्बन्धित रकम कति हो भनेर छुट्याउन सक्ने अवस्था हुँदैन ।
आईटी निर्यात गरेर आएको कमाइ भनेर ल्यायो भने ५ प्रतिशत कर तिर्नुपर्ने भएकाले त्यसबाट बच्न पनि रेमिट्यान्स शीर्षकमा पैसा भित्र्याइरहेको हुन सक्छ । तर, रेमिट्यान्स सर्वेक्षण हुन नसकेको अवस्थामा त्यस्तो रकम यति नै हो भन्न सकिने अवस्था छैन ।
राष्ट्रबैंकले ब्यालेन्स अफ पेमेन्टमा आईटी सम्बन्धी तथ्यांक बाणिज्य बैंकहरुबाट लिने गर्छ । आईटी सेवा निर्यात गरेबापत प्राप्त हुने रकम स्विफ्ट मार्फत भित्रिने गरेको छ ।
चालु आव सात महिनामा भएको आईटी निर्यातमध्ये ९ अर्ब २१ करोड ६१ लाख रुपैयाँ कम्युटरसँग सम्बन्धित सफ्टवेयर लगायत निर्यात भएको छ भने रोमिङ लगायत टेलिकम्युनिकेसनसँग सम्बन्धित सेवा निर्यात ३ अर्ब १६ करोड रुपैयाँ भएको छ ।
अन्य व्यावसायिक सेवा (अदर बिजनेस सर्भिसेस) शीर्षकमा ३२ अर्ब ५३ करोड रुपैयाँ निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ । यो रकममध्ये २० अर्ब ५९ करोड रुपैयाँ व्यावसायिक तथा व्यवस्थापन कन्सल्टिङ सेवा निर्यात गरेबापत प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
तर, यसमा शैक्षिक परामर्श सेवा दिने कम्पनीले पाउने कमिसनको रकम पर्ने गर्छ, जुन आईटीसँग सम्बन्धित होइन ।
त्यस्तै प्राविधिक, व्यापारसँग सम्बन्धित एवं अन्य व्यावसायिक सेवा निर्यात बापत ११ अर्ब ७७ करोड रुपैयाँ प्राप्त भएको देखिन्छ । यो शीर्षकमा आउने रकम चाहिँ कुनै प्राविधिक विदेश गएर कुनै सेवा प्रदान गरेबापत आउने रकम हो । यसमा आईटीसँग सम्बन्धित विषय पर्न पनि सक्छ, नपर्न पनि सक्छ ।
व्यक्तिगत, सांस्कृतिक एवं मनोरञ्जनात्मक सेवा २ अर्ब १३ करोड ३२ लाखको निर्यात भएकोमा अडियो भिजुअल सेवाबाट मात्रै १ अर्ब ९८ करोड प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । टिकटक, युट्युब लगायतमा हुने आम्दानी यसमा देखिने गरेको छ ।
प्रतिक्रिया 4