
आसन्न स्ववियु चुनावलाई लिएर काभ्रेका १६ मध्ये १५ क्याम्पसमा ५ विद्यार्थीहरूले चुनावी तालमेल गरेका छन् । काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।
सहमतिअनुसार कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले ६/६ सभापति र माओवादी निकट अखिल क्रान्तिकारीले ३ क्याम्पस सभापति बाँडेका छन् ।
नेविसंघका जिल्ला अध्यक्ष अंजनराज खतिवडाका अनुसार इन्द्रेश्वर क्याम्पस, प्रकाश बहुमुखी क्याम्पस, कानपुर क्याम्पस, चैतन्य क्याम्पस, पार्वती क्याम्पस र मंगलजनविजय क्याम्पसमा नेविसंघको अध्यक्षमा नेविसंघले उम्मेदवारी दिनेछ र अन्य संगठनले सघाउनेछन् ।
तेजगंगा बहुमुखी क्याम्पस, जनक क्याम्पस, सर्वमंगला क्याम्पस, डेडिथुम्का क्याम्पस, धुलिखेल क्याम्पस र कुशादेवी क्याम्पसको स्ववियु अध्यक्षमा एमाले निकट अनेरास्ववियुबाट उम्मेदवारी पर्नेछ ।
यस्तै, सञ्जिवनी क्याम्पस, प्रभा बहुमुखी क्याम्पस र दाप्चाकृष्ण बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीले उम्मेदवारी दिने सहमति भएको छ ।
एकीकृत समाजवादी निकट अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापतिको उम्मेदवारी दिने र अन्यले सघाउने सहमति भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य र धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ ।
काभ्रे बहुमुखी क्याम्पसको निर्वाचनमा भने मित्रवत प्रतिस्पर्धा गर्ने उनीहरू निर्णय गरेका छन् ।
बैठकपछि नेविसंघका जिल्ला अध्यक्ष अंजनराज खतिवडा, अनेरास्ववियु अध्यक्ष दीपेश तिमल्सिना, अखिल क्रान्तिकारी अध्यक्ष विवश तामाङ, अनेरास्ववियू अध्यक्ष रामेश्वर आचार्य र अखिल समाजवादीका अध्यक्ष मेघेन्द्र सिंको हस्ताक्षरसहितको विज्ञप्ति जारी भएको छ ।
उनीहरूले विद्यार्थी राजनीतिमा मात्र सीमित नभई समग्र विश्वविद्यालयको नीति र नेतृत्व निर्माणमा पनि प्रभाव पार्ने अवसर भन्दै स्ववियुलाई पुनः सशक्त बनाउने उद्देश्यसहित सहमति, सहकार्य र एकताको नयाँ अभ्यास सुरु गर्ने ऐतिहासिक निर्णयमा पुगेको जिकिर गरेका छन् ।
प्रतिक्रिया 4