
२६ फागुन, काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै महिला सहभागीता बढाउनु पर्नेमा सरोकारवालाले बताएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौँ मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरुको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका हुन् ।
सम्मेलनमा एडब्लुएस एसिया प्रशान्त तथा जापान क्षेत्रका डेभलपर रिलेसन प्रमुख मौना निलाकण्ठाले प्रविधिमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘क्लाउड प्रविधिको बढ्दो प्रभाव, नवीनता र समावेशीको महत्व र आवश्यकता छ, जसमा महिलाहरूको अनिवार्य सहभागिता जरूरी छ ।’
प्रविधिमा महिलाहरूको उपस्थितिले थप पहिचान, अवसर र नेतृत्वमा सहजता हुने भन्दै यसका लागि सहभागिता बढाउनुपर्ने उनको भनाइ थियो ।
यस्तै नेपालमा ब्लकचेन स्टार्टअपमा महिलाहरु विषयक सत्रमा रुमी सिंहले महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । ‘ब्लकचेन स्टार्टअप अहिले बढिरहेको छ। यसप्रति महिलाको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भनेर प्रोत्साहन गर्नुपर्ने छ ।’ उनले भनिन् ।
यस्तै रुचि पाण्डेले प्रविधिको क्षेत्रमा करिअर निर्माण र स्टार्टअपमा सफलताका लागि पीआर र व्यक्तिगत ब्राण्डिङ पनि गर्नेपर्ने बताइन् ।
आयोजक तथा एडब्लुएस वुमन इन टेक नेपालका वर्षा भण्डारीले सम्मेलन प्रविधि शिक्षा र अवसरमा मात्रै केन्द्रित नभइ समावेशी प्रविधि समुदाय निर्माण गर्न महत्वपूर्ण अवसर भएको बताइन् । उनले भनिन्, ‘प्रविधिमा महिला सहभागिता बढाइ डिजिटल परिवर्तन सबैका लागि समान योगदान पुर्याउन आवश्यक छ’,
त्यसअवसरमा बोल्ने अधिकांशले सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको पहिचान, अवसर र नेतृत्व बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । सम्मेलनमा क्लाउड प्रविधिमा नवीनतम प्रयोग, व्यवसायिक अवसर र समावेशीकरणका विषयमा वृहत छलफल भएको थियो । सम्मेलनमा देश तथा विदेशका प्रविधि विज्ञ, क्लाउड विशेषज्ञ, उद्यमी तथा विद्यार्थीको उपस्थिति थियो ।
सम्मेलनमा क्लाउड युगमा विविधता, समानता र समावेशिता प्रवर्द्धन शीर्षकको समूहगत छलफलका क्रममा प्रविधिको क्षेत्रमा महिलाका लागि अवसरका विषयमा गहन छलफल भएको थियो ।
साथै क्लाउडका नवीनतम प्रविधि, व्यावसायिक अवसर र प्रविधि क्षेत्रमा समावेशीकरणलाई बढावा दिने गरी विभिन्न विषयमा कार्यशाला आयोजना समेत गरिएको थियो ।
बुस्ट प्रडक्टिभिटी एण्ड ह्याप्पीनेस विथ एडब्लुएस जेनएआई शीर्षकको कार्यशालामा एडब्लुएस जेनेरेटिभ एआईले कसरी कार्यालयको क्षमता बढाउन सहयोग गर्छ भन्ने विषयमा चर्चा गरियो ।
साथै एडब्लुएस क्लाउडः बिल्ड एनिथिङ, स्केल एभ्रिवेयर, इनोभेट फास्टर शीर्षकको कार्यशालामा स्टार्टअप, व्यापार र डेभलपरको क्षेत्रमा एडब्लुएसले कसरी असीमित अवसर सिर्जना गरिरहेको छ भन्ने विषयमा छलफल गरियो ।
साथै स्केलिङ युअर, स्किल्सः एडब्लुएस क्लाउड एज अ प्लेटफर्म फर कन्टिनियस लर्निङ शीर्षकको कार्यशालामा एडब्लुएस प्रमाणपत्र र स्रोतको उपयोग गर्दै करिअर निर्माण गर्न सकिनेमा जोड दिइयो ।
प्रतिक्रिया 4