+
+
Shares

सुध्रियो तथ्यांक, सुध्रिएन बजार

मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चिति, ब्याजदर, भुक्तानी सन्तुलनलगायत तथ्यांकहरू झनै सुदृढ भएका छन् भने खासगरी बजारमा मागको अवस्था देखाउने आयात, कर्जाको विस्तारलगायत तथ्यांक भने कमजोर नै देखिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते २२:१७

२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकले मुलुकको बहद् अर्थशास्त्रीय तथ्यांकहरू निकै बलिया देखिए पनि बजारमा मागको अवस्थामा भने मन्दी नै देखिएको छ ।

मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चिति, ब्याजदर, भुक्तानी सन्तुलनलगायत तथ्यांकहरू झनै सुदृढ भएका छन् भने खासगरी बजारमा मागको अवस्था देखाउने आयात, कर्जाको विस्तारलगायत तथ्यांक भने कमजोर नै देखिन्छन् ।

चालू आर्थिक वर्षको सात महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ, अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह तथा गैर–खाद्य तथा सेवा समूह दुवैको मुद्रास्फीति नियन्त्रणमा देखिन्छ ।

तर, घ्यू तथा तेल उप–समूहको मूल्यवृद्धि औसतभन्दा निकै बढी १२.८० प्रतिशत भएको छ भने दाल तथा गेडागुडीको ९.०६ प्रतिशत पुगेको छ ।

रेमिट्यान्सको वृद्धिदर गत वर्षको तुलनामा सुस्त भएको छ, तर वृद्धि निराशाजनक भने छैन ।

यस अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई माघ मसान्तमा २३ खर्ब ६९ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोडबाट ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

खासगरी बजारमा माग बढेको छ कि छैन भन्ने देखाउने तथ्यांक हेर्दा भने उत्साहित हुनुपर्ने अवस्था देखिन्न ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १७.२ महिनाको वस्तु तथा १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

तर, खासगरी बजारमा माग बढेको छ कि छैन भन्ने देखाउने तथ्यांक हेर्दा भने उत्साहित हुनुपर्ने अवस्था देखिन्न ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । तर, आयातको वृद्धिदर भने अझै पनि १० प्रतिशत मात्रै छ । यसले आन्तरिक माग अझै कमजोर रहेको देखिन्छ । खासगरी ठूलो मात्रामा निर्यात भइरहेको सोयाबिन तेलको कच्चा पदार्थ आयात बढ्दा समग्र आयातलाई भरथेग भएको छ ।

ब्याजदर घटे पनि यस अवधिमा कर्जाको विस्तार उत्साहप्रद हुन सकेको छैन । २०८१ माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.४६ प्रतिशत, विकास बैंकहरूको ८.५२ प्रतिशत र वित्त कम्पनीहरूको ९.३९ प्रतिशत रहेको छ । २०८० माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरूको ११.१३ प्रतिशत र वित्त कम्पनीहरूको १२.७० प्रतिशत रहेको थियो ।

ब्याजदर घटे पनि यस अवधिमा कर्जाको विस्तार उत्साहप्रद हुन सकेको छैन ।

तर, यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५.६ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. १ खर्ब ९७ अर्ब २१ करोड अर्थात् ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा विस्तृत मुद्राप्रदाय पनि लक्ष्यको अत्यन्तै कम ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७.० प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?