
२७ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको नाममा भड्किला कार्यक्रम नगर्न सचेत गराएको छ ।
प्रशासन कार्यालयले कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध गरेका छन् ।
‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ कानुनी व्यवस्था सम्झाउँदै प्रवक्ता पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।’
‘तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी कसैको इच्छा विपरीत पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन काठमाडौं प्रशासनले अनुरोध गरेको छ । तर कोही कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया 4