
२७ फागुन, भक्तपुर । आसन्न स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पसमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) बीच तालमेल भएको छ ।
आगामी ५ चैतमा हुने निर्वाचनका लागि यी दुई दलनिकट संगठनले मंगलबार साझा गठबन्धनसहित मनोनयन दर्ता गराएका छन् ।
सहमति अनुसार अध्यक्ष पदका लागि अखिल( क्रान्तिकारी) का नरेन्द्रसिंह ठगुन्ना र सचिवमा नेविसंघका दिक्पाल कार्कीले उम्मेदवारी दिएका छन् ।
स्नातकोत्तर तहमा अध्ययनरत ठगुन्ना क्रान्तिकारीको सानोठिमी क्याम्पस इन्चार्ज हुन् । कोषाध्यक्षमा क्रान्तिकारीकै कुमार मानन्धर(कविर) ले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रत्यक्षतर्फका चार सदस्यमा क्रान्तिकारी र ३ सदस्यमा नेविसंघले उम्मेदवारी दर्ता गराएको छ । संयुक्त प्यानलबाट प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिनेमा फुर्वा छिरिङ लामा, हस्तबहादुर खड्का, सुजिता कार्की, झरना कार्की, कुशल अधिकारी ,लंका वली, सुवास पौडेल रहेका छन् ।
त्यस्तै, समानुपातिक तर्फबाट नेविसंघले उपाध्यक्ष र क्रान्तिकारीले सहसचिव लिनेगरी सहमति भएको सानोठिमी क्याम्पसका पूर्व स्ववियु सभापति रमेश खड्काले जानकारी दिए ।
०६५ सम्म सानोठिमी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको वर्चश्व थियो ।
२०६५ यताका ३ वटा निर्वाचनमा लगातार अखिल (क्रान्तिकारी) ले सभापति जित्दै आएको छ । यसअघि ०६५ सालमा वीरेन्द्र बस्नेत, ०७३ सालमा रमेश खड्का र ०७९ सालमा रेशमलाल श्रेष्ठले क्रान्तिकारीका तर्फबाट सभापति पदमा विजय हासिल गरेका थिए ।
प्रतिक्रिया 4