+
+
Shares

पूवि दीक्षान्त समारोहमा ओली : यहीँका विश्वमित्रले राम-लक्ष्मणलाई शिक्षा दिनुभयो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते २०:०९

२७ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेता युगमा कोशी नदी तरेर विश्वमित्र ऋषिले भगवान राम लक्ष्मणलाई शिक्षा दिएको टिप्पणी गरेका छन् । २०७७ असारमा प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मिएको र अयोध्या नेपालमै भएको दाबी गरेका थिए ।

मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको (पूवि) १३ औं दीक्षन्त समारोहमा उनले कोशीको किनार चतरामा बस्ने विश्वमित्र ऋषिले राम लक्ष्मणलाई शिक्षा दिएको बताएका हुन् ।

‘यो ठाउँ नै हो, जहाँबाट चतरामा बस्ने विश्वमित्र कोशी तरेर पश्चिमपट्टी गएर राम र लक्ष्मणलाई शिक्षा दिनुभएको थियो, अथवा राम लक्ष्मणलाई पनि शिक्षा दिने गुरुहरू बस्ने ठाउँ हो’, उनले भने, ‘यो विद्याको आरम्भ भएको थलो हो, प्रचारप्रसार भएको थलो हो । यहाँका ऋषिमुनीहरूले प्रोफेसरहरूले भगवानलाई शिक्षादीक्षा दिने इतिहास छ, त्यस्ता ठाउँका भाइबहिनीहरू तपाईंले आज दीक्षान्त प्राप्त गर्नुभएको छ ।’

उनले ज्ञानको प्रारम्भ हुँदै गरेको युगमा कोशी प्रदेश शिक्षा दिक्षाको ठाउँ भएको बताए । ‘यहीँ चतरामा पहिलो पल्ट सर्जरी विद्याको सुरुवात भएको थियो,अहिले भन्दा हजारौं वर्ष अगाडि,’ ओलीले भने, ‘रामको समयमा विश्वमित्रका पुत्र सुश्रूत ऋषिले, त्यसबेला प्रोफेसरलाई ऋषि भनिन्थ्यो, सुश्रूत ऋषिले शल्यक्रियाको सुरुवात गर्नुभएको थियो यहीँ चतरामा तर जनसंख्या सल्यक्रियाको प्रयोगका लागि पर्याप्त नभएकाले उहाँ बनारस जानुभयो, त्यसबेला कासी जानुभयो ।’

८१५० विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयबाट ८ हजार १५० जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री एवं कुलपति ओलीको उपस्थितिमा आज भएको १३औँ दीक्षान्त समारोहमा ८१५० विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८,विज्ञान तथा प्रविधिमा ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी दीक्षित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?