+
+
Shares
फिल्म :

संसार घुमिसकेको ‘राजागञ्ज’ले घरमै पाएन प्रदर्शन अनुमति

प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको भिडियो राखेकोमा आपत्ति

सार्वजनिक कार्यक्रममा ओलीले बोलेको भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते २२:३५

काठमाडौं । २०७२ सालको भदौ अन्त्यतिर नेकपा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।

धुम्बाराहीस्थित त्यतिबेलाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भनेका थिए, ‘संविधानसभाबाट तराई बाहिरिएको होइन, कोही–कोही बाहिर गएका हुन् । तराई कांग्रेससँग छ, एमालेसँग छ, एमाओवादीसँग छ ।’

ओलीको यो अभिव्यक्तिको भिडियोलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘राजागञ्ज’ले फिल्मभित्र पनि समेटेको छ । ओलीको उक्त भाषणको समाचार भिडियो र टेक्स्टमा अनलाइनखबरमा प्रकाशित भएको थियो ।

सार्वजनिक कार्यक्रममा ओलीले बोलेको उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।

जाँच समितिले प्रधानमन्त्री ओलीबाट अनुमति लिएको प्रमाण पेश गर्न समेत भनेको छ । फिल्मका निर्देशक रौनियारले मिडिया कानुनअनुसार भिडियोको प्रतिलिपि अधिकार अनलाइनखबरसँग सुरक्षित रहेको र उसैबाट अनुमति लिएको तर प्रधानमन्त्रीकहाँ अनुमति माग्न जान नसकिने बताए ।

‘हामी पत्र लिन प्रधानमन्त्रीकहाँ जाने होइन । हाम्रो भनाइ भिडियो प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । किनभने प्रधानमन्त्रीले सार्वजनिकरुपमा बोलेको कुुरा हो । भिडियोको धनी अनलाइनखबरसँग अनुमति लिएका छौं । उहाँहरूलाई आपत्ति छैन । हामीले किन हटाउनुपर्‍यो’ रौनियारले भने ।

उक्त दृश्य फिल्मबाट हटाउँदा कला मर्ने दीपकको भनाइ छ । ‘त्यो हटाउँदा फिल्म मर्छ, आर्टलाई त मार्नुभएन नि’ दीपकले भने, ‘संसारभर देखाइसकेको फिल्म हो । यत्रो फेस्टिभलमा देखाएको र मिडियाले लेखिसेकको हो । हामी घरमा आएका छौ । घरका दर्शकलाई फिल्म देखाउन चाहन्छौं ।’

उनले सेन्सर बोर्डसँग सहमतिको लागि प्रयास हुने बताए । यसका लागि सेन्सर बोर्डसँग ‘राजागञ्ज’को टीमले भेट्दैछ । केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले बोर्डले दिएका निर्देशनलाई फिल्मले पालना गर्नुपर्ने बताए ।

‘राजागञ्ज’ यसवर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भैसकेको छ । यो फेस्टिभलमा फिल्मले १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । चर्चित मिडिया र क्रिटिकले फिल्मको प्रशंसा गरेका छन् ।

मधेशको परिवेशमा खिचिएको फिल्मले सभासदका छोरासहित २ बच्चा अपहरणमा परेपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्र्रेसनको कथा भन्छ । आशा मगरातीले शीर्ष भूमिका निर्वाह गरेको फिल्ममा दयाहाङ राई, विजय बराल, निकिता चाण्डक लगायतको अभिनय छ ।

फिल्म चैत १ गते शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?