२८ फागुन, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्नले बायर लेभकुसन र इन्टरले फेयनोर्डलाई हराउँदै समग्रमा पनि जितकै नतिजाले अगाडि बढेका हुन् ।
बायर्नले लेभरकुसनलाई उसकै मैदानमा २-० ले हराउँदै समग्रमा ५-० को नतिजा निकाल्यो । बायर्नको जितमा ह्यारी केनले ५२औं तथा अल्फोन्सो डेभिसले ७१औं मिनेटमा गोल गरे ।
त्यस्तै इन्टर मिलानले फेयनोर्डमाथि २-१ को जित निकाल्दै समग्रमा ४-१ को नतिजाले अगाडि बढ्यो । इन्टरको जितमा मार्कस थुराम र हाकान कान्हालग्लुले १-१ गोल गर्दा फेयनोर्डका जाकोब मुडरले १ गोल गरे ।
पहिलो लेगमा बायर्न ३-० र इन्टर २-० ले विजयी भएका थिए ।
प्रतिक्रिया 4