२८ फागुन, काठमाडौं । पोखरा थण्डर्सले रोशन भुजेललाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि अनुबन्ध गरेको छ । पोखराले भुजेललाई क्याटेगोरी डी अन्तर्गत अनुबन्ध गरेको हो । यस सिजन क्याटेगोरी डी बाट पनि खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो ।
पोखराले यसअघि दोस्रो सिजनका मार्की प्लेअर आयुष घलानलाई नयाँ कप्तान चयन गर्दै युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको छ । यस्तै मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई अनुबन्ध गरेको छ ।
पोखराले आयुषसँगै क्याटेगोरी बी बाट पदम भट्टराई र क्याटेगोरी सी बाट नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो । पोखराले अक्सनमा क्याटेगोरी ए बाट सुरज ज्यु ठकुरीलाई मात्र अनुबन्ध गरेको थियो । एक खेलाडी एनआरएनए कोटाबाट राख्ने पोखराले जनाएको छ ।
यस्तै क्याटेगोरी बी बाट पोखराले अक्सनमा राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकीलाई अनुबन्ध गरेको थियो । तर राम थापालाई बी डिभिजन क्लब प्लानिङ ब्वाइजले रिलिज नगरेपछि उनको स्थानमा पोखराले फरवार्ड नवयुगलाई अनुबन्ध गरेको हो । नवयुग पहिलो संस्करणमा पोखराका मार्की खेलाडी थिए ।
पोखराले क्याटेगोरी सी को ड्राफ्टबाट गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनारलाई अनुबन्ध गरेको छ । पोखरा थण्डर्सले छिटै विदेशी खेलाडी पनि अनुबन्ध गर्ने जनाएको छ ।
एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि दशरथ रंगशालमा सुरु हुँदैछ । जहाँ पोखरासहित सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4