+
+
Shares

सरकारले सदनलाई हेपिरहेको छ : माओवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १२:३९

२८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारले संसद्‍लाई महत्त्व नदिएको बताएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एक जना पनि मन्त्री अनुपस्थित रहेपछि माओवादी केन्द्रले यस्तो टिप्पणी गरेको हो ।

बैठक सुरु भए लगत्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे उठे । सभामुख देवराज घिमिरेले समय दिएपछि पाण्डेले सरकारले जनप्रतिनिधिहरूलाई हेपिरहेको बताएका हुन् ।

‘सरकार सदनलाई हेपिरहेको छ । सरकार जनप्रतिनिधिहरूलाई हेपिरहेको छ’ उनले भने । हरेक कुरामा सरकारले सदनलाई कम महत्व दिएको उनको भनाइ छ ।

‘त्यो एउटा कुरामा होइन, हरेक कुरामा हेपिरहेको छ । हाम्रा अभ्यासहरू सरकार मानिरहेको छैन । अहिले सदन सुरु भयो । तर, मन्त्रीहरू, सरकारको प्रतिनिधि कोही पनि छैनन’ पाण्डेले सभामुख घिमिरेको ध्यानाकर्षण गरे ।

संसदीय समिति र उपसमितिको बैठकहरूमा प्रतिपक्षी दलका सांसदहरू उपस्थित हुने तर सरकार उपस्थित नहुने गरेको उनले बताए ।

प्रतिनिधि सभा नियमावली अनुसार मन्त्रीको उपस्थिति बिना सभाको बैठक चल्न नसक्ने बताए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ ।

‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनु पर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनु पर्नेछ’ नियमावलीको नियम ६ को उपनियम ५ मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?