
काठमाडौं । फागु पूर्णिमाको अवसरमा विहीबारदेखि देशब्यापी ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आउँदैछन् । शुक्रबारदेखि भने ‘राजागञ्ज’ रिलिज तयारीमा छ ।
प्रदर्शन तयारीमा रहेका फिल्मलाई हलले शो विभाजन गरेका छन् । ‘आउट ल’ र ‘अञ्जिला’ले समान १०७ शो पाएका छन् । बुधबार अपरान्हसम्मको डेटाअनुसार सबैभन्दा न्यून ‘राजागञ्ज’ले ४० शो पाएको छ ।
‘राजागञ्ज’ले न्यून शो पाउनुमा २ कारण देखिन्छ । पहिलो- एकदिनअघि विहिबार रिलिज हुने दुई फिल्मको पर्फमेन्सको आधारमा राजागञ्जले पाउने शोमा वृद्धि हुनसक्छ । दोस्रो– केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति नपाइसकेकाले कतिपय हलले यो फिल्मको शो होल्डमा राखेका छन् ।
हलले प्रदर्शन तयारीमा रहेको फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन् । टिकट बिक्रीको ट्रेन्डले कुन आकार लिनेछ भन्ने कुरा बुधबार बेलुकासम्म निक्र्योल हुनेछ ।
एक्सन फिल्म ‘आउट ल’मा सुशिल श्रेष्ठको शीर्ष भूमिका छ । उनी यसमा ‘एन्टिहिरो’ भूमिकामा प्रस्तुत छन् । मिलन चाम्स निर्देशित ‘अञ्जिला’ महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । यो फिल्मलाई बायोपिक ड्रामा जनरामा राखिएको छ ।
दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ले भेनिस, बुसानसहित संसारका ठूला फिल्म फेस्टिभलको चक्र पुरा गरेर नेपालमा रिलिज हुन लागेको हो । अन्तर्राष्ट्रिय मिडियाले प्रशंसा गरेको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । मधेशको सेटिङमा खिचिएको यो फिल्मलाई पुलिस थ्रीलर जनरामा राखिएको छ ।
अहिले हलमा होस्टेल २, लाज शरणम्, मिकी १७, छावा, फेरि रेशम फिलिली, मायावी, क्रेजी, क्याप्टेन अमेरिका, सनम तेरी कसम र पूर्णबहादुरको सारंगी पनि प्रदर्शनरत छन् ।
प्रतिक्रिया 4