+
+
Shares

सुहाङले संसद्‌मा बुवाको जन्मदिन सम्झिए, उठाए इलामको छुर्पीको कुरा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १३:२७
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सुहाङ नेम्वाङ

२८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संसद्‌मा सम्झिएका छन् ।

बुवासमेत रहेका सुवास नेम्वाङको आज जन्मदिन भएको जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे ।

‘आज हामी सबैको नेता, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको जन्मदिन । म उहाँलाई सम्झिएर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,’ नेम्वाङले बुधबारको प्रतिनिधिसभा बैठकमा भने ।

विसं २०८० भदौ २६ गते सुवासको हृदयघातबाट निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनबाट सुहाङ निर्वाचित भएका थिए ।

उनी अहिले एमालेबाट प्रतिनिधिसभामामा प्रतिनिधित्व गर्छन् ।

सुहाङले बुवा सुवासलाई श्रद्धासुमन व्यक्त गर्दै इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे संसद्लाई जानकारी गराए ।

छुर्पीको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको जानकारी गराउँदै उनले वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको तथ्यांक भएको बताए ।

‘तर, सम्भावना बोकेको वस्तु खासगरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्यौलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ,’ नेम्वाङले भने, ‘यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना भएको छ ।’

उनले नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशा देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।

‘नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले व्यवसायीमा संकट पैदा भइरहेको छ । म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?