+

५ खेल संघलाई १५ दिनभित्र ओलम्पिकको पूर्ण सदस्यता दिइने, सबै मुद्दा फिर्ता लिने सहमति

२०८१ फागुन  २८ गते १६:२१ २०८१ फागुन २८ गते १६:२१
५ खेल संघलाई १५ दिनभित्र ओलम्पिकको पूर्ण सदस्यता दिइने, सबै मुद्दा फिर्ता लिने सहमति

२८ फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफू विरुद्ध अदालतमा मुद्दा हालेका पाँच खेल संघलाई १५ दिन भित्र फुल मेम्बरसिप (पूर्ण सदस्यता) दिने सहमति बनेको छ । एनओसीको सदस्यता नपाएपछि अदालत पुगेका पाँच खेल संघलाई बिना शर्त पूर्ण सदस्यता दिने सहमति बनेको हो ।

एनओसी सदस्यता पाउनुपर्ने माग राखेका नेपाल रग्बी संघ, नेपाल घोडचढी संघ, नेपाल बेसबल तथा सफ्ट बल संघ, नेपाल स्केटिङ संघ र नेपाल पेन्टाथोलन संघलाई अबको १५ दिन दिनभित्र विशेष साधारण सभा बोलाएर सदस्यता दिने भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), एनओसी र पाँच संघहरुबीच कुवेतमा मंगलबार बसेको बैठकबाट उक्त सहमति बनेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सहमतिमा ओसिए र एनओसी तथा पाँच संघका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

यस्तै पाँच संघले एनओसीविरुद्ध अदालतमा दायर भएको सम्पूर्ण मुद्दाहरु पनि बिनाशर्त फिर्ता लिने सहमति भएको छ । एनओसीमा देखिएको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले कुवेत बैठकको आयोजना गरेका थिए ।

पाँच खेल संघले यसअघि नै एनओसीको सदस्यता पाउनुपर्ने माग राख्दै आएपनि लामो सयमसम्म एनओसीले झुलाएको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

यसअघि एनओसीको विवादित बनेको निर्वाचनको समयमा एनओसीले पाँच खेल संघलाई सदस्यता दिने निर्णय गरेपनि त्यो वैधानिकता नहुने भन्दै विशेष साधारण सभाबाटै सदस्यतासम्बन्धी निर्णय हुनुपर्ने पाँच संघको माग थियो ।

एनओसीको सोही निर्वाचनलाई नेपाल सरकारले नै मानन्यता नलिएपछि नेपालमा भइरहेको गतिविधिलाई नजिकबाट नियालीरहेको आओसीले तत्काल निर्वाचनको निर्णयलाई स्वागत गरेको थिएन । त्यसैले आइओसीले यो समस्या समाधान गर्न एनओसी र खेल संघहरुलाई नै बोलाएर छलफल गरेको हो ।

बैठकमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, विवादित निर्वाचअघिका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अदालतमा मुद्दा दायर गरेका नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकार, नेपाल बेसबल तथा सफ्ट बल संघका दीपक न्यौपाने, नेपाल स्केटिङ संघका अध्यक्ष अच्यूत खनाल र नेपाल पेन्टाथोलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए।

एनओसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय