
२८ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तारलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।
अमेरिकाको वासिङटन डीसीमा आयोजित ‘यातायात मार्फत ‘रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चमा उनले नेपाल भौगोलिक रूपमा सानो भए पनि पर्यावरणीय दृष्टिकोणबाट विविधतायुक्त भएको पनि बताए ।
नेपालको पर्यावरणीय विविधता अनुकूलन हुने गरी सडक सञ्जाल तथा यातायात विस्तारमा सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।
सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी सडक सञ्जाललाई कृषिको व्यावसायीकरण, आधुनिकीकरण, पर्यटन प्रवर्द्धन समेत हुने गरी विकास अघि बढाइएको मन्त्री दाहालले दाबी गरे ।
देशका ग्रामीण क्षेत्रमा मूल आधारभूत सडक सेवा विस्तार गर्ने, पहिले नै निर्माण भइसकेको सडकलाई सवारीसाधन सञ्चालन लागत न्यूनतम राख्न सकिने गरी कायम राख्ने र सम्भाव्यता अध्ययनका आधारमा छोटा सडक सञ्जाल, स्तरोन्नति र विस्तार गरेर व्यवस्थित सडक सञ्जाल अभिवृद्धि गर्नेतर्फ नेपाल सरकारले ध्यान दिएको मन्त्री दाहालको भनाइ छ ।
नेपालले सडक सञ्जाल विकास गर्न सबै पालिका केन्द्र, व्यवसाय र सेवा केन्द्रलाई सडक पहुँचमा ल्याउने, ग्रामीण पहुँच विकासका लागि स्थानीय प्रविधि र स्रोत लागु गर्ने, प्रकृतिमा आधारित बायोइन्जिनियरिङ प्रवद्र्धन गर्नसमेत ध्यान दिएको बताए ।
उनले सुरक्षित, भरपर्दो, किफायती, समावेशी र दिगो यातायात पूर्वाधार र सेवा विकासमा सरकारले ध्यान दिएको पनि बताए । १० मार्चदेखि विश्व बैंकको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ कार्यक्रममा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोली अमेरिका गएको हो ।
प्रतिक्रिया 4