
२८ फागुन, काठमाडौं । बुधबार एकैदिन प्रतिनिधिसभाको तीन वटा बैठक बसेको छ ।
बिहान ११ बजे बोलाइको बैठक केही ढिलो गरी सुरु भएको थियो । तर, बैठकमा एक जना पनि मन्त्रीको उपस्थित नभएपछि स्थगित भयो ।
पहिलो बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रिको अनुपस्थितिलाई लिएर प्रश्न उठाएका थिए ।
‘हाम्रा अभ्यासहरू सरकार मानिरहेको छैन । अहिले सदन सुरु भयो । तर, मन्त्रीहरू, सरकारको प्रतिनिधि कोही पनि छैनन’ पाण्डेले भनेका थिए ।
त्यसक्रममा पाण्डेले सरकारलाई हेपिरहेको बताएका थिए ।
‘सरकार सदनलाई हेपिरहेको छ । सरकार जनप्रतिनिधिहरूलाई हेपिरहेको छ’ उनले भनेका थिए ।
संसदीय समिति र उपसमितिको बैठकहरूमा प्रतिपक्षी दलका सांसदहरू उपस्थित हुने तर सरकार उपस्थित नहुने गरेको उनले बताएका थिए ।
मन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ ।
‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनु पर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनु पर्नेछ’ नियमावलीको नियम ६ को उपनियम ५ मा छ ।
त्यसपछि बसेको दोस्रो बैठकमा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भए ।
अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको समय तय गरेको जानकारी दिए ।
उनका अनुसार ७ चैतमा संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।
त्यसपछि सभामुख घिमिरेले फेरि १५ मिनेटका लागि बैठक स्थगित गरे ।
तेस्रो बैठकमा सभामुख घिमिरेले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल अगाडि बढाएका छन् ।
विधेयक प्रस्तुत भइसकेपछि अर्को बैठक राखेर सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि तेस्रो बैठक राखेका हुन् ।
प्रतिक्रिया 4