
२९ फागुन, जनकपुरधाम । चार वर्षयता वीरगञ्ज महानगरपालिकामा २४ हजार ७४७ जना शिशु जन्मिएका छन् । वीरगञ्ज महानगर पञ्जीकरण शाखाको तथ्यांकअनुसार २०७७ चैत १ देखि २०८१ पुस २ सम्म १३ हजार ३७७ छोरा र ११ हजार ३७० छोरीको जन्मदर्ता भएको छ । सोही अवधिमा ४ हजार ५९० जनाको मृत्यु दर्ता भएको छ ।
महानगरमा बसाइँसराइको क्रम रोकिएको छैन । सो अवधिमा अन्यत्रबाट १ हजार ३५८ घरधुरी अर्थात् ५ हजार ४५१ व्यक्ति वीरगञ्ज भित्रिएका छन् भने १ हजार २६८ घरधुरी अर्थात् ४ हजार ७८८ व्यक्ति बाहिरिएका छन् । बसाइँसराइको अनुपात धेरै फरक नभए पनि वीरगञ्ज आर्थिक राजधानी भएकाले उद्योग र व्यापारका कारण जनघनत्व बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनघनत्व २,०६२ प्रति वर्गकिलोमिटर रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार वीरगञ्ज महानगरको कुल जनसंख्या २ लाख ७२ हजार ३८२ रहेको छ । जसमा १ लाख ४२ हजार १९५ पुरुष र १ लाख ३० हजार १८७ महिला छन् । यहाँ कुल ४७ हजार ११४ परिवार रहेको तथ्यांक छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार तथ्यांकमा पौने ३ लाख जनसंख्या देखिए पनि दैनिक ४ देखि ५ लाख व्यक्तिको बसोबास तथा आउजाउ हुन्छ । उनले भने, ‘यो आर्थिक राजधानी हो, यहाँ ठूलो उद्योग, व्यापार र ठूलो नाका छ । दैनिक लाखौंको संख्यामा मानिस आउजाउ गर्छन् ।’
जनसंख्या वृद्धिले वीरगञ्जमा विभिन्न चुनौती थप्दै गएको प्रमुख प्रशासकीय अधिकृत कर्ण बताउँछन् । उच्च जन्मदर र बसाइँसराइका कारण जनघनत्व बढ्दै जाँदा फोहर व्यवस्थापन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समस्या देखिएको छ ।
स्थानीय युवा साविर अंसारीका अनुसार जनसंख्याको वृद्धिले भौतिक पूर्वाधारमा कमी, अस्पतालमा उपचार पाउन सास्ती लगायतका समस्या देखिएका छन् । ‘वीरगञ्जमा मानिसको चापअनुसार पूर्वाधारको अभाव देखिएको छ । नारायणी अस्पतालमा बिरामीको चाप बढ्दा उपचार गराउन लामो समय कुर्नुपर्छ । विद्यालय र शैक्षिक संस्थामा विद्यार्थीको चाप बढ्दो छ । बैंकमा सेवा प्राप्त गर्न समेत कठिनाइ भइरहेको छ,’ उनले भने ।
पछिल्लो समय वीरगञ्ज महानगरपालिकाले योजना बनाएर फोहर व्यवस्थापनमा ध्यान दिँदै स्वच्छ सहर बनाउने प्रयास गरिरहेको छ । तर देशको आर्थिक राजधानी र ठूलो नाका रहे पनि सरकारले बजेटमा विभेद गरिरहेको वीरगञ्जका मेयर राजेशमान सिंहको गुनासो छ ।
‘जनसंख्याको चाप अत्यधिक छ । भारतबाट समेत व्यापारीहरू यहाँ व्यवसाय गर्न आउँछन् । व्यापार, व्यवसायसँगै विभिन्न उद्देश्यले मानिस आउँछन्, जान्छन् । सबैलाई सेवा दिनु महानगरको दायित्व हो,’ मेयर सिंह भन्छन् ‘तर, सरकारले बजेट कटौती गरिरहेको छ ।’
मेयर सिंह जनसांख्यिक विवरणअनुसार योजना बनाएर भएरकै स्रोत–साधनबाट जनतालाई सेवा दिने प्रयास गरिरहेको बताउँछन् ।
जनकपुरधाम : फोहर व्यवस्थापन मुख्य समस्या
साढे दुई वर्षको अवधिमा जनकपुरधाममा १० हजार ३७१ शिशु जन्मिए । जसमा ५ हजार ९०९ छोरा र ४ हजार ४६२ छोरी छन् । जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार, सोही अवधिमा २ हजार ३९० जनाले ज्यान गुमाए । यसबीच, जनकपुरधामका २५ वटै वडामा ५१८ घरपरिवारका १ हजार ९४० जना अन्यत्रबाट बसाइँ सरेर आए भने ४७१ घरपरिवारका १ हजार ६८७ जना अन्यत्र गएका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, जनकपुरधाम उपमहानगरपालिकाको जनसंख्या १ लाख ९४ हजार ५५६ पुगेको छ । जसमा ९९,७६४ पुरुष र ९४,७९२ महिला छन् । जनसंख्या वृद्धिसँगै घरधुरी संख्या ४० हजार ४०९ पुगेको छ भने जनघनत्व प्रति वर्गकिलोमिटर २,११५ रहेको छ ।
जनकपुरधाम ऐतिहासिक रूपमा मिथिलाको राजधानी मात्र नभई मधेश प्रदेशको राजधानी पनि हो । जानकी मन्दिर जस्ता धार्मिक स्थल, नेपाल–भारत सीमाको निकटता तथा रोजगारी, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको पहुँचका कारण यहाँ बसोबास गर्ने जनसंख्या बढ्दै गएको छ । तथापि, उपमहानगरपालिकासँग यहाँ बसोबास गरिरहेका हजारौं व्यक्तिको तथ्यांक भने छैन ।
बढ्दो जनसंख्याका कारण फोहोर व्यवस्थापन, पूर्वाधार विकास, यातायात, स्वास्थ्य र बेरोजगारी जस्ता समस्या थपिएका छन् । जनकपुरधाम प्रदेशको राजधानी बनेको तीन वर्ष बितिसक्दा पनि यहाँको फोहोर व्यवस्थापन प्रभावकारी बन्न सकेको छैन । गल्लीहरूमा फोहोर थुप्रिएको देखिन्छ । जसले जल प्रदूषण र हरियाली संरक्षणमा चुनौती थपेको छ ।
जनसंख्या वृद्धिले मुख्य रूपमा फोहोर व्यवस्थापन र ट्राफिक जामको समस्या बढाएको जनकपुरधाम उपमहानगरपालिका–१४ का रुपेश मिश्र बताउँछन् । ‘सडकमा चाप बढ्दो छ, ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । राज्यले प्रभावकारी योजना नबनाउँदा सफा र व्यवस्थित जनकपुर बनाउने चुनौती थपिएको छ,’ उनले भने ।
स्वास्थ्य सेवा र शिक्षामा पनि जनसंख्या वृद्धिको असर परेको छ । मधेश सरकारको प्रादेशिक अस्पतालमा बिरामीको चाप छ । स्थानीय जयनारायण महतोका अनुसार, जनसंख्या वृद्धिले अस्पताल र विद्यालयमा क्षमताभन्दा बढी चाप बढाएको छ । सरकारी अस्पतालमा जनशक्ति अभाव छ । बाहिरबाट पनि बिरामी आउँदा सेवामा असर परिरहेको छ ।
जनकपुरमा शिक्षाको गुणस्तरमा पनि चुनौती देखिएको छ । जनगणना २०७८ अनुसार जनकपुरधाममा साक्षरता दर ७६.६ प्रतिशत मात्र छ ।
जनसंख्या वृद्धिले ठूलो समस्या सिर्जना नगरेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको दाबी छ । ‘धार्मिक सहर र प्रदेश राजधानी भएकाले मानिसको आवत–जावत हुनु स्वाभाविक हो । यसले खासै समस्या सिर्जना गरेको छैन,’ उनले भने ।
जनकपुरधामको अर्थतन्त्र मुख्यतः व्यापार, व्यवसाय, रोजगारी र कृषिमा निर्भर छ । तर जनसंख्या वृद्धिबाट उत्पन्न चुनौतीको सामना गर्न नगरपालिकाले ठोस योजना ल्याएको देखिँदैन । जनसांख्यिक प्रोफाइलअनुसार काम गरिरहेको नगरपालिकाले जनाएको छ ।
महोत्तरीको बर्दिबास चोक ।
बर्दिबासमा बाक्लिँदै बस्ती
महोत्तरीको बर्दिबासमा १ साउन २०७५ देखि ३० माघ २०८१ सम्म ११ हजार ९५० शिशु जन्मिएका छन् । बर्दिबासको पञ्जीकरण शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा ६ हजार २११ छोरा र ५ हजार ७३९ छोरी जन्मिएका छन् । जनसंख्या वृद्धि दरलाई बसाइँसराइका आधारमा हेर्दा, उक्त अवधिमा १ हजार २७२ घरपरिवार अर्थात् ४ हजार ३६७ जना अन्य स्थानबाट बर्दिबास आएका छन् भने ६९५ घरपरिवार अर्थात् २ हजार ३५७ जना अन्यत्र गएका छन् ।
१ वैशाख २०७५ देखि १३ असोज २०८१ सम्मको तथ्यांकअनुसार, सहरी क्षेत्र पर्ने वडा नम्बर १, २, ३ र १४ मा बस्न आउनेको संख्या जानेको तुलनामा तेब्बर रहेको छ । यस अवधिमा यी वडामा ६६६ घरपरिवार २ हजार ३१८ व्यक्ति बसाइँ सरेर आएका छन् भने १८९ घरपरिवारका ५९० जना व्यक्ति अन्यत्र गएका छन् ।
बर्दिबासमा बसाइँसराइ बढ्नुका मुख्य कारणमध्ये व्यापार–व्यवसायको राम्रो अवसर, पहाडी र मधेशी समुदायको मिश्रित बस्ती तथा भूगोलले निम्त्याएका अवसर रहेका छन् । महेन्द्र राजमार्ग र बीपी राजमार्गको मिलनबिन्दु भएकाले पनि यो क्षेत्र व्यापारिक तथा बसोबासका लागि आकर्षक बनेको छ । बीपी राजमार्ग सञ्चालनमा आएपछि पूर्वी तराई जोड्न सहज भएपछि व्यापारिक गतिविधि वृद्धि भएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, बर्दिबास नगरपालिकामा १६ हजार ८२४ घरधुरी रहेको छ भने जनसंख्या ७४ हजार ३६१ पुगेको छ । यहाँको जनघनत्व ३३६ प्रतिवर्ग किलोमिटर रहेको छ ।
स्थानीय शंकर थापाका अनुसार, बीपी राजमार्ग सञ्चालनमा आएपछि बर्दिबास व्यापारिक केन्द्रको रूपमा फस्टाएको छ । मधेश आन्दोलनका बेला पनि यहाँ कुनै ठूला बन्द तथा अवरोध नहुँदा यो क्षेत्र सुरक्षित रह्यो, जसले गर्दा मानिसलाई बसाइँसराइ गर्न प्रेरित गर्यो । बर्दिबास शिक्षाको केन्द्रसमेत बन्दै गएकाले मानिसको आकर्षण बढेको उनको भनाइ छ ।
बर्दिबास–१ का वडाध्यक्ष भोला खड्का बर्दिबासको समाज सहिष्णु भएकाले यो क्षेत्र बसोबासका लागि उपयुक्त बन्दै गएको बताउँछन् । जातजाति, वर्ग, लिंग, तथा समुदायबीचको मेलमिलापले बर्दिबासको विशेषता दर्शाउँछ ।
बढ्दो जनसंख्याका कारण उत्पन्न चुनौतीहरू समाधान गर्न नगरपालिकाले विभिन्न नीति तथा योजनाहरू अघि सारेको छ । प्रमुख प्रशासकीय अधिकृत रमणमणि अधिकारीका अनुसार, सहरी क्षेत्रमा विशेषगरी सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन र सहरी संरचनाको विकास प्राथमिकतामा राखिएको छ ।
सार्वजनिक जग्गा संरक्षण, सुन्दर सहर निर्माणका लागि टोल सुधार समिति गठन, फोहोर व्यवस्थापन तथा सीसीटीभी निगरानी जस्ता उपायहरू लागू गरिँदै छन् । साथै, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई समेत विशेष प्राथमिकता दिइएको अधिकारी बताउँछन् ।
वीरगञ्ज, जनकपुर, बर्दिबास लगायत मधेशका अन्य सहरी क्षेत्रमा बढ्दै गएको जनसंख्याको चापलाई व्यवस्थापन गर्न वैज्ञानिक टाउन प्लानिङ तथा स्पष्ट नीति आवश्यक रहेको बताउँछन् अर्थशास्त्री इन्दु शेखर मिश्र ।
‘जति पनि सहरीकरणको समस्या छ, त्यसको समाधानका लागि व्यवस्थित टाउन प्लानिङ आवश्यक छ,’ उनको सुझाव छ, ‘शिक्षा, स्वास्थ्य, परिवहन र रोजगारीको उचित सुविधा गाउँमै विकास गरियो भने सहरी क्षेत्रमा हुने अनियन्त्रित चापलाई कम गर्न सकिन्छ ।’
प्रतिक्रिया 4