२९ फागुन, काठमाडौं । बंगलादेशका अनुभवी क्रिकेटर महमुदुल्लाह रियादले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाहले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।
‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु’ उनले भनेका छन्, ‘म मेरा सबै टिममेट, प्रशिक्षक र विशेषगरी मेरा प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले सधैं मलाई समर्थन गर्नुभएको छ।’
यसअघि, महमुदुल्लाहले बंगलादेश क्रिकेट बोर्डलाई सन् २०२५ फेब्रुअरीपछि उनलाई केन्द्रीय सम्झौतामा नसमेट्न अनुरोध गरेका थिए। उनी बी ग्रेडमा समावेश भएका थिए ।
यसअघि अर्का अनुभवी क्रिकेटर मुस्किफर रहिमले पनि सन्यास लिएका थिए । हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीपछि महमुदुल्लाह र रहिम दुवैको टिममा स्थानप्रति प्रश्न उठ्न थालेको थियो।
महमुदुल्लाह एक मात्र बंगलादेशी खेलाडी हुन् जसले एकदिवसीय विश्वकपमा तीन शतक प्रहार गरेका छन्, जसमा दुई २०१५ संस्करणमा र एक २०२३ संस्करणमा थियो।
उनले बंगलादेशका लागि २३९ एकदिवसीय, ५० टेस्ट र १४१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। तीनवटै फर्म्याटमा गरेर उनले १० हजारभन्दा बढी रन बनाएका छन् ।
प्रतिक्रिया 4