
भनिन्छ, एउटी महिला जब आमा बन्छिन् तब मात्र पूर्ण हुन्छिन् । यो त्यसै भनिएको होइन । सन्तान जन्माउने सौभाग्य पाएका हरेक महिलाले गर्भवती अवस्थामा खास अनुभव पक्कै गरेका हुन्छन् ।
अहिले म पहिलो सन्तानकी आमा बन्दैछु । गर्भ रहेको सात महिना पुग्दै गर्दा मैले पनि खास अनुभव गरिरहेकी छु । गर्भवती यस्तो अवस्था हो, जुन समयमा महिलाहरू सामान्यभन्दा निकै परिर्वतन हुन्छन् ।
मानौँ, आफू आफू नै होइन, मानसिकसँगै भावनात्मक परिर्वतन-कहिले नैराश्यता, कहिले भावुक त कहिले एक्लोपनको अनुभव।
बितेका ६ महिनामा मेरो शरीरमा धेरै उतारचढाव आए । थकान, आलस्य, कमजोरी अनि अपच । शरीरमा कुनै पनि जोस–जाँगर नै छैन ।
कसैले राम्रै बोल्दा पनि झर्को लाग्ने । नराम्रो बोल्दा मन दुख्ने । यी सबै कुरा सबै आमामा लागू हुन्छ नै भन्ने त हुँदैन । तर अधिकांश महिलाले यस्ता पीडा भोगेकै हुन्छन् ।
एकातिर पीडा अनि अर्कोतिर पेटभित्र हुँर्किदै गरेको बच्चाको माया । गर्भावस्थामा यस्ता समस्या हुनुलाई समान्य लिइन्छ तर जब पेटभित्र बच्चा हलचल गर्न थाल्छ, अनि सबै पीडा एकाएक गायब भइहाल्छ।
सुरुवाती तीन महिनामा भएको पीडा सम्झिँदा अहिले पनि मन आत्तिन्छ । त्यसमाथि परिवारका सदस्यले ख्याल नगरिदिँदाको क्षण झनै पीडादायी हुन्छ । यस्तो अवस्थामा परिवारको सदस्यले विशेष हेरचाह गर्नुपर्ने हुन्छ।
किनकि, गर्भावस्थामा महिलाको मानसिकता निकै कमजोर हुनेरहेछ । मनमा अनेक कुरा खेल्ने, खान मन नलाग्ने, खाए पनि पेटमा नअडिने । यस्तो बेलामा आत्मबल बढाउने मान्छे भएन भने महिलाहरू डिप्रेसनको सिकार बन्दारहेछन् । त्यसकारण गर्भवती भएका बेला घर–परिवारको भूमिका ठूलो रहेछ।
अहिले त चिकित्सकले पनि धेरै सल्लाह दिइरहेका हुन्छन् । गर्भवती भएको समयमा के गर्न हुने, के गर्न नहुने, के खाने अनि कस्ता खानेकुरा खाने लगायतका सबै जानकारी सहजै पाउन सकिन्छ।
गर्भवती महिलाको ख्याल कसरी गर्ने भनेर परिवारलाई पनि सम्झाइरहेका हुन्छन् । यस्तो अवस्थामा डाक्टरको सल्लाहअनुसार नै चल्नुपर्ने हो तर डाक्टरको सल्लाहभन्दा पनि आफ्नो मनको सुन्न मन लाग्दोरहेछ । कुनै खानेकुरा हेर्नै मन नलाग्ने अनि कुनै चिजको भने अत्यधिक चाहना हुने रहेछ।
मैले यी सबै कुरा भनिरहँदा अहिले पहिलो सन्तान जन्माउने तयारीमा रहनुभएका आमाहरूका लागि केही सहयोग पुग्न सक्छ जस्तो लाग्छ । यो अवस्थामा चिकित्सकले सकारात्मक मात्र सोच्नु भनिरहेका हुन्छन् ।
मनभित्र कुनै किसिमको दबाब हुनुहुँदैन, नकारात्मक त सोच्नै हुँदैन । नकारात्मक सोचाइ, पिर अनि नैराश्यले बच्चालाई पनि धेरै असर पुर्याउँछ ।
त्यसैले आमा सधैँ खुसी रहनुपर्छ । भनिन्छ, यस्तो अवस्थामा आमाले जस्तो व्यवहार देखायो, पछि बच्चाले पनि त्यस्तै व्यवहार देखाउँछ । त्यसैले यी सबै कुरा आमाले ख्याल गर्नुपर्छ।
अहिले सात महिनाको दौरानमा छु । नौ महिनाको पर्खाइसम्म थाहा छैन कस्तो भोग्नुपर्ने हो । तर म विस्वस्त छु, ती भोगाइका अनुभव पनि रोचक बन्नेछन् ।
आफू यस्तो अवस्थामा हुँदा कतिपय कुरा आफ्नो मन मिल्ने मान्छेलाई सुनाउन मन लाग्दोरहेछ, जसले सुनिदियोस् अनि बुझिदियोस् । तर यो अवस्थाको पीडा उसलाई मात्र थाहा हुन्छ, जो आमा बनिसक्नुभएको छ ।
हुन त धेरै महिलाले आफू पहिलो पटक आमा बन्न लाग्दाको तितामिठा अनुभव सुनाइरहेका हुन्छन् । कतिपयले यो कुरालाई सामान्य मान्दै कसैले नपाएको बच्चा उसैले पाउन लागिछे भन्दै उडाउँछन् पनि ।
पहिला–पहिला धेरै बच्चा जन्माउने आमाका लागि त यो कुरा पटक्कै पाच्य हुँदैन । तर वास्तवमा आमा बन्नै लाग्दाको अनुभव निकै गहकिला र रोचक हुँदा रहेछन्, जुन कुरा बाहिर निकाल्दा पनि मन शान्त हुने रहेछ।
मलाई लाग्छ, आमा बन्न लागेका महिलाहरू खुला हृदयको हुनुपर्छ । यस्तो अवस्थामा कसैप्रति नराम्रो सोच्नु हुँदैन । नचाहिँदो हर्कत त गर्नै हुँदैन । त्यसैले नौ महिनाको अवधिमा सकेसम्म आफूलाई स्वच्छ बनाइराख्न जरुरी छ।
पहिलेका आमाहरूले सायदै यी कुरा सोच्नुभयो होला । उहाँहरूले गर्भावस्थामा पनि गाउँघरमा मेलापात, गाईवस्तुसँगै परिवार सम्हाल्नुपर्ने जिम्मेवारी ठूलो हुन्थ्यो।
एउटालाई ढाडमा र अर्कोलाई गर्भमा बोकेर काम गर्नुपर्ने बाध्यता थियो । त्यसमाथि घरपरिवारले नबुझिदिँदाको पीडा झनै दर्दनाक हुन्थ्यो । पोषणयुक्त खानेकुराको त कुरै नगरौं । हामीले आफ्नै आमाहरूको कहानी सुन्दा पनि मनै सिरिंग हुन्छ ।
सन्तान धेरै जन्माउनुपर्ने, छोराको चाहनाले धेरै छोरी जन्मिसक्दा पनि बच्चा जन्माइरहनुपर्ने बाध्यता हुन्थ्यो आमाहरूलाई । तर अहिले समय परिवर्तन भएको छ।
गर्भवतीको पीडाभाव परिवारले बुझिरहेका हुन्छन् । तथापि, पहिलो सन्तानको रुपमा छोरा भए हुन्थ्यो भन्ने पुरातनवादी सोच भने कतै–कतै बाँकी नै छ।
अहिलेको परिर्वतनशील समयसँगै धेरै आमाहरूले आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका हुन्छन् । बच्चा जन्माउने अवधिभर आफूलाई कसरी पोजेटिभ राख्ने भन्ने कुरा विभिन्न माध्यमबाट हेरेर भए पनि ज्ञान लिइरहेका हुन्छन्।
स्वस्थ बच्चा जन्माउने चाहना सबैको हुन्छ । त्यसका लागि आमा स्वस्थ हुनु जरुरी छ । गर्भावस्था तथा सुनौला हजार दिनको अवधिलाई सकेसम्म सुनौलो बनाउने प्रयास सबै आमाले गर्नुपर्छ । आफूले हजार पीडा सहेर सन्तान जन्माउने सबै आमाहरूमा नमन अनि नयाँ बन्दै गरेका आमा र बच्चालाई सुस्वास्थ्यको कामना।
प्रतिक्रिया 4