+
+
Shares
फिल्म :

‘राजागंज’ प्रिमियर : ‘कला स्वतन्त्रता’को पक्षमा नेतादेखि कलाकार (तस्वीर)

बाबुराम भन्छन्- मधेश आन्दोलनको सेरोफेरोमा बनेको र म त्यसको प्रत्यक्ष साक्षी हुनुको नाताले पनि यो धेरै वस्तुवादी तथ्यपरक छ । ‘तर, मलाई दुःख के लाग्यो भने जुन फिल्म हामीले हेर्न पायौं, पूर्णरुपमा यसका केही महत्वपूर्ण अंशहरू काटिएको छ भन्ने सुनेँ । यदि मुख्य अंश काटिएको हो भने, यो त फिल्मको टाउकै काटिएजस्तो हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १०:५८
‘राजागंज’को काठमाडौं प्रिमियरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई (दायाँ) र निर्देशक दीपक रौनियार ।

काठमाडौं । दीपक रौनियार निर्देशित ‘राजागंज’को लागि बुधबार उतारचढावपूर्ण रह्यो । प्रधानमन्त्रीका अभिव्यक्तिका दृश्य र संवादमा कैंची चलाएर केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको अनुमति दिएकै दिन बेलुका यो फिल्मको काठमाडौं प्रिमियर गरिएको थियो ।

प्रिमियर समारोहमा नेतादेखि कलाकारको लर्को लाग्यो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेतृ हिसिला यमी, नेता मनिष झा लगायतका राजनीतिज्ञले पनि फिल्म हेरे । नेता भट्टराईले मधेशको कथावस्तु र पहाड तथा मधेशको सम्बन्धको कथामा फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।

‘मधेश आन्दोलनको सेरोफेरोमा बनेको र म त्यसको प्रत्यक्ष साक्षी हुनुको नाताले पनि यो धेरै वस्तुवादी तथ्यपरक छ’ उनले भने, ‘तर, मलाई दुःख के लाग्यो भने जुन फिल्म हामीले हेर्न पायौं, पूर्णरुपमा यसका केही महत्वपूर्ण अंशहरू काटिएको छ भन्ने सुनेँ । यदि मुख्य अंश काटिएको हो भने, यो त फिल्मको टाउकै काटिएजस्तो हुन्छ ।’

बाबुराम र हिसिलाले फिल्ममा सेन्सर गर्ने कार्यको विरोध गरे । अभिनेत्री लुनिभा तुलाधरले महिला पनि हिरो हुने बताइन् । ‘हिरो पुरुष मात्र हुँदैन । महिला पनि हुन्छ । उमेर, रङ, रुपले केही फरक पार्दैन’ उनले भनिन् ।

फिल्म हेर्न केकी अधिकारी, रीमा विश्वकर्मा, अशोक शर्मा, नाजिर हुसेनसहित फिल्मका कलाकार दयाहाङ राई, ऋचा शर्मा, गौमाया गुरुङ लगायत प्रिमियरमा सहभागि थिए ।

जनकपुर र बिर्तामोडपछि ‘राजागंज’को काठमाडौंमा यो तेस्रो प्रिमियर समारोह थियो । यो ‘पुलिस थ्रीलर’ फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । हलहरूले एड्भान्स टिकट बिक्री खुलाएका छन् भने फिल्मले देशब्यापी ५० हाराहारीमा शो पाएको छ । शो संख्यामा वृद्धि हुने देखिन्छ ।

यो फिल्ममा अभिनेत्री आशा मगराती पहिलोपटक शीर्ष भूमिकामा देखिएकी छन् । निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, दयाहाङ राई लगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?