
२९ फागुन, काठमाडौं । नेपालका हिमाली र पहाडी जिल्लाबासीले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । रंगहरुको पर्वको यो रौनकमा विदेशी नागरिकहरु पनि संलग्न छन् ।
आज काठमाडौंको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरुले पनि आपसमा रंग खेलेर होली मनाए । उनीहरु बसन्तपुर, ठमेल लगायतका क्षेत्रमा रंगिएर हिँडेको दृष्य देखिन्छ ।
बसन्तपुर लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरुको चहलपहल छ । ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम पनि आयोजना भइरहेका छन् ।
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात् होली आज परम्परागत रूपमा विभिन्न रंग र लोला खेली मनाउने परम्परा छ ।
यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक र पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा लिने गरिन्छ ।
आज हिमाली र पहाडी जिल्लामा तथा भोलि तराई–मधेशका जिल्लामा धुमधामका साथ होली पर्व मनाउने गरिन्छ । होलीको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ ।
होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
नेपाल प्रहरीले होली खेल्नेक्रममा अनुशासित र मर्यादित हुन आग्रह गरेको छ । साथै घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह पनि गरेको छ ।
प्रतिक्रिया 4