२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । सिदार्थ रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हराएको हो ।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो । अर्जुन कुमालले ६२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सुबास भण्डारीले ३० तथा अमृत गुरुङले अविजित २४ रन बनाए । मुस्कान थापा पनि २४ रनमा आउट भए ।
सुरुवात राम्रो गरेपनि नियमित अन्तरालमा विकेट गुमाउँदा गण्डकी पराजित हुन पुग्यो । लुम्बिनीका निर्मल गुरुङले ८ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । बिप्राशन केसीले २ तथा रमेश कुर्मि र नरबहादुर सार्कीले १-१ विकेट लिए ।
जारी खेलमा लुम्बिनीले गण्डकीलाई २१८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा २१७ रनमा अलआउट भयो । मृनाल गुरुङले सर्वाधिक ३८ रन बनाउँदा कप्तान देव खनालले ३३ रन बनाए । बिप्राशन केसीले २५ तथा मनिष थापाले २४ रन बनाए ।
गण्डकीका अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र बिपिन खत्रीले २-२ विकेट लिँदा सुबास भण्डारी, कमल परियार र वंश क्षेत्रीले १-१ विकेट लिए ।
गण्डकी प्रदेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । लुम्बिनीले पहिलो खेलमा कोशीलाई हराउँदा दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।
प्रतिक्रिया 4