+
+
Shares

पोखरामा होलीः रङहरूमा छचल्किन्छ खुसी (फोटोफिचर)

पोखरा र लेकसाइडमा व्यवसायी र अरुका निम्ति पनि होली प्रतीक्षाको दिन बन्न थालिसकेको छ । होली मनाउनकै लागि पोखरा आउने र भ्रमणको तालिका बदलेर यहाँ रमाउने विदेशी पर्यटकको संख्या पनि बढ्दो छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ फागुन २९ गते २१:०२

२९ फागुन, पोखरा । नेपाली होस् वा अंग्रेजी नयाँ वर्ष फेवा किनारमा निस्फिक्री रमाउनु, होलीमा रंगिनु र उन्मुक्त भएर रङ साट्नु पोखराको रोमाञ्चक संस्कृति नै बनिसक्यो । त्यसैमाथि पोखरामा रमाउन आइपुगेका विदेशी पर्यटकका निम्ति त नसोचेको पल बन्छ, त्यसैले हरेक उत्सवमा खुलेर झुम्छन् ।

फेवा किनारको फुटट्रयाक्क होस् वा लेकसाइड बजार होलीमा अरु ठाउँभन्दा खुलेर रंगिन्छ, झुम्छ र रमाउँछ । बाटोभरि कतै पञ्चेबाजा त कतै डिजे घन्किन्छन् ।

यसपटक पनि पोखरा होलीमा रंगिएको छ । विदेशी पर्यटकहरू पनि एक अर्कामा रङ दल्दै ‘ह्याप्पी होली’ भन्नु ओठमै झुण्डिएको छ । साना बालबच्चाहरू पनि होलीमा रमाएको देख्दा उनीहरू दंग पर्छन् ।

बिहीबार लेकसाइडका सडकमा ‘डान्सिङ सङ’ मा झुम्ने, कोमागाने पार्कमा भएको होलील्यान्डको ‘डिजे’ मा उफ्रिने नेपाली र विदेशी पर्यटक उस्तै थिए । नेपाली हुन् वा विदेशी एकअर्कालाई रङ लगाइँदै शुभकामना, अंकमान गर्दै गरेको दृष्य देखिन्थ्यो ।

पोखरा र लेकसाइडमा व्यवसायी र अरुका निम्ति पनि होली प्रतीक्षाको दिन बन्न थालिसकेको छ । रङ साट्दै होलीको सेलिब्रेसन गर्न पाउनु आफ्नो लागि जीवनको रोचक क्षण बनेको नेदरल्याण्डकी एन्जिला बताउँछिन् । साथीहरूसँगै रङमा रमाउँदै खुसी साट्नु पाउनु आफ्नो लागि ठूलो अवसर भएको उनको भनाइ थियो ।

होली मनाउनकै लागि पोखरा आउने र भ्रमणको तालिका बदलेर यहाँ रमाउने विदेशी पर्यटकको संख्या  पनि ठूलो रहेको बताउँछन्, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल ।

होली कार्यक्रम संयोजक सुमन भट्टराईले अहिले पोखरामा ६५ देशका पर्यटक रहेको र तीमध्ये अधिकांश होलीमा रमाइरहेको दाबी गरे । रेबान पोखराले गर्ने होली उत्सवमा लेकसाइडका केही क्षेत्रमा विभिन्न संघसंस्थाले सांगीतिक कार्यक्रम गरेका थिए ।

पर्यटकलाई नेपाली संस्कृतिसँग जोड्ने भन्दै २१ वर्षदेखि होली उत्सव आयोजना रेबानले गर्दै आएको छ । अब यो थाहा नहुनेका निम्ति पनि पोखराको होली नियमित तालिका बनिसकेको छ ।

महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्‍यालीसमेत निकालिएको थियो ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?