
मेरो नाम हस्तिमाया लिम्बू हो । गएको कात्तिकमा परदेशबाट फर्र्किएको ६ वर्ष भयो । शुरूमा दुबई गएकी थिएँ । एक वर्ष त्यहाँ बसें । त्यसपछि ओमन ‘ट्रान्सफर’ भएँ । त्यहाँ घरेलु कामदारको रूपमा काम गर्न थालें ।
बिहान ५ देखि राति ११ बजेसम्म काम गर्नुपर्थ्यो । खाना बनाउने, घर सरसफाइ गर्ने सबै मेरो जिम्मा थियो । रात–दिन निरन्तर काम गर्दा हातखुट्टा फतक्कै गल्थे । ओमनमा बढी माछा, मासु खाने रहेछन् । प्रत्येक दिनजसो मासुका परिकार बनाउनुपर्थ्यो । अहिले सोच्दा खाँदा भन्दा मासुको गन्धले मलाई असर गरे जस्तो लाग्छ ।
गर्मी पनि बेस्सरी हुन्थ्यो । माछा–मासुको गन्ध र चर्को तापक्रमको कारण मलाई उच्च रक्तचापको समस्या देखियो । पानी खान पटक्कै मन लाग्दैनथ्यो । धेरै तिर्खा लागेपछि मात्रै पानी खान्थें । कहिलेकाहीं त दिसा–पिसाब पनि रोकेर बस्थें । धेरै गुलियो फलफूल खाइहने हुँदा मधुमेहको समस्या पनि देखिएछ ।
मलाई उच्च रक्तचाप र मधुमेह भएको थाहा नै भएन । घामको काम, थोरै पानी खाँदा पनि बेस्करी रिगंटा लाग्थ्यो । रिंगटा लाग्दा देवीदेवता रिसाएको भन्ने ठान्थें । काम र दाममा मात्रै ध्यान हुन्थ्यो । फुर्सद हुनासाथ मोबाइल हेर्ने बानी थियो ।
एकदिन दाँत कीराले खाएको दुखाइ खप्न नसकेपछि मालिकलाई अस्पताल लैजान भनें । डाक्टरले दाँतसँगै, उच्च रक्तचाप र मधुमेहको परीक्षण गरे । उच्च रक्तचाप र मधुमेह भएपछि नुन र गुलियो नखान डाक्टरले सुझाव दिनुभएको थियो । तर खानपानमा खासै वास्ता गरिनँ ।
शुक्रवार अरबीकोमा खानपानको पार्टी हुन्छ । माछा, मासु तारेको तेल मार्बलमा पोखिएको थियो । कामको धन्दाले पुछ्न बिर्सिएछु । काम सकेर रुममा जाने बेलामा ग्यास बन्द छ कि छैन भनेर हेर्न जाँदा त्यही तेलमा चिप्लिन पुगें ।
ढाडमा बेस्करी ठोकिंदा दुई हप्ता एकदमै गाह्रो भयो । हिंड्नै नसक्दा पनि मालिकले काम लगाइरहे । सकी–नसकी काम गर्नुपर्थ्यो । अस्पताल लैजान पटक–पटक अनुरोध गरें, उनीहरूले वास्ता गरेनन् । ‘मुब’ ले मालिस गर्दा ठीक हुन्छ भनेर घरमै राखे ।
विस्तारै खानमा रुचि कम हुँदै गएको थियो । धेरै फलफूल खान्थें । बल्लतल्ल थोरै दहीसँग मात्रै खाना खान्थें । पानी धेरै खाएपछि पिसाब लाग्छ भनेर पानी कम पिउने बानी थियो । काम सकेर मात्रै पिसाब गर्न जान्छु भनेर रोकेर राख्नुपर्ने हुन्थ्यो ।
दिसा–पिसाब गर्न जाँदा करेन्ट लागे जस्तो ‘सोला’ हान्थ्यो । बेस्सरी दुख्दा पनि दिसा–पिसाब रोकेर दुःखेको होला भन्ने ठानें । विस्तारै खुट्टा, पैताला पनि चिलाउने, सुन्निने हुन थाल्यो । चिसोमा काम गर्दा र लामखुट्टेले टोक्दा यस्तो भयो कि भन्ने लाग्यो ।
एक दिन शुक्रवारको पार्टी थियो । सबै काम सकेर सुत्न जाने तयारीमा थिएँ । तर केही खान मन नलाग्ने हुँदा थोरै आलु उसिनेकी थिएँ । त्यही आलु चाउचाउको मसलाको धुलोमा थोरै चोपेर खाएपछि वाक्वाकी होला जस्तो भयो ।
बिहानको दुई बजेतिर श्वास फेर्नै गाह्रो भयो । विस्तारै उठेर शौचालय गएँ । वाक्वाकी पनि भयो । एकछिनपछि श्वास–प्रश्वास बढ्न थाल्यो । बाहिर गएर हेर्दा एक जना म्याडम उठिराख्नुभएको देखें । मलाई श्वास फेर्न गाह्रो भयो, मेडिकल लैजानुहोस् भनें । अरू सबै जना सुतिराख्नुभएको छ, उठेपछि लैजानुहुन्छ भन्नुभयो ।
तर ‘बाबा’ बिहान उठेपछि मस्जिद जानुभयो । निकै बेरपछि मात्रै घर आउनुभयो । त्यतिबेलासम्म मलाई धेरै गाह्रो भइसकेको थियो । त्यसपछि मलाई ट्याक्सीमा हालेर नजिकैको अस्पताल लगे । त्यहाँबाट अर्को ठाउँमा रेफर गरे ।
अस्पताल लगेपछिको कुनै याद नै छैन । भोलिपल्ट वार्डमा निकालिएको रहेछ । दाहिने हातमा टेप राखिएको रहेछ । छेउमा भएका मानिसलाई के भएर बाँधेको भनेर सोधें । उनीहरूले किड्नीमा फोहोर भएकाले डायलिसिस गर्ने ठाउँ बनाएको भने ।
कहिलेसम्म निको हुन्छ भनेर सोध्दा ६ महिनासम्म लाग्ने बताएका थिए । म डराउँछु भनेर उनीहरूले ढाँटेका रहेछन् । मलाई लाग्यो मेरो किड्नी चाहिं गएछ । चार दिनसम्म डायलिसिस भयो । त्यसपछि मात्रै कोठामा ल्याए । तर मलाई नेपाल पठाउन त्यो रात नै टिकट काटिसकिएको रहेछ ।
यहाँ आएपछि माइती घर झापा गएँ । रोगले गलेकी थिएँ । विदेशबाट फर्किंदा कोरोना महामारी थियो । सहज रूपमा काठमाडौं आउन सम्भव भएन । एम्बुलेन्सलाई २२ हजार तिरेर बहिनीको साथमा काठमाडौं आएँ । विभिन्न अस्पताल गएर डायलिसिस गरें ।
नियमित डायलिसिस गर्नुपर्ने हुँदा प्रत्यारोपण गर्ने कि भन्ने कुरा चल्यो । त्यसका लागि काठमाडौंका विभिन्न निजी अस्पताल चहारें । कहिले यता कहिले उता मात्रै भयो । अन्तिममा त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने तयारी भयो । त्यसबेला नै पित्तथैलीमा पत्थरी देखापर्यो । त्यसलाई अप्रेसन गरेर निकालेर फालियो ।
दुई–तीन महिना आराम गरेपछि फेरि प्रक्रिया शुरु गरियो । फेरि अप्रेसनको डेट दिने बेलामा नसामा फेरि ढुंगा देखियो । डाक्टरले त्यसलाई इन्डोस्कोपी गरेर निकाल्न खोज्नुभयो तर सम्भव भएन । अनि नसाको प्वाल खुकुलो गर्ने औषधि राख्ने काम भयो । दुई महिनापछि इन्डोस्कोपी गरेर ढुंगा निकालियो ।
फेरि प्रत्यारोपणको प्रक्रिया शुरु भयो । डायलिसिस प्रक्रिया चलिरहेको थियो, कोरोना संक्रमित हुन पुगें । एकातिर रोगले थला पारेको, अर्कोतर्फ कोरोना संक्रमण हुँदा स्वास्थ्य अवस्था जटिल नै बन्यो । त्यसबेला मलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो । सबै जनाले माया मारिसकेका थिए रे ! एक महिनापछि मात्रै कोमाबाट फर्किएछु । त्यसपछि १६ दिन वार्डमा बसेर निस्किएकी थिएँ ।
अघिल्लो वर्ष चैतमा टिचिङ अस्तपालमा मिर्गौैला प्रत्यारोपण भयो । मलाई बहिनीले मिर्गौला दिएकी हुन् । ५ वर्षसम्म डायलिसिस, कोरोनाको बेलामा बिरामी हुँदाको खर्च, प्रत्यारोपण गर्दा र औषधि उपचार गर्दा ७० लाख रुपैयाँ खर्च भयो ।
मैले कमाएको त नानीलाई पढाउँदा नै खर्च भइसकेको थियो । उपचारमा लागेको सबैजसो खर्च जेठी छोरी र ज्वाइँले गर्नुभएको हो । कतार पठाएका श्रीमान् छोरीहरू सानै छँदा नै हराउनुभयो । ५ वर्ष बसेर फर्किन्छु भन्नुभएको थियो । उहाँले नै मलाई छोरीलाई माइती घरमा छोडेर विदेश जानु भन्नुभएको थियो ।
रामेछाप घरमा काम गर्न गाह्रो हुने र खानपिन राम्रो नहुने हुँदा म परदेश हुँदासम्म माइतीमा बस्नु भन्नुभएको थियो । चार वर्षसम्म सम्पर्कमा हुनुहुन्थ्यो । त्यसपछि सम्पर्कविहीन हुनुभयो । नेपाल फर्किएपछि अर्कैसँग विवाह गरेको पछि मात्रै थाहा भयो ।
दश वर्षसम्म त आउनुहुन्छ कि भनेर कुरेर बसें । त्यसपछि छोरीलाई लालनपालन गर्न पनि समस्या भयो, अनि ठूली छोरी १४ वर्ष, सानी छोरी ११ वर्षको हुँदा माइतीमै छोडेर विदेश गएकी थिएँ । छोरीहरू पढाउनकै लागि दुई पटक विदेश गएँ । तर आफ्नै लापरवाहीले गर्दा जिन्दगीभरको रोग लिएर आउनुपर्यो ।
(त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपणपछि फलोअपमा आएकी लिम्बूसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4