
‘हामीले जित्ने पहाड होइन, आफैंलाई हो’ विख्यात आरोही सर एडमन्ड हिलारीको यो भनाइ मेरै लागि हो लाग्छ । रामेछापको तिल्पुङमा जन्मिएर त्यही सेरोफेरोमा हुर्किंदै गर्दा हिमालको टुप्पोमा पुग्ने मोहले मनमा घर गरिसकेको रहेछ । तर त्यो पत्तो पाउन मैले त्यही ठाउँ छोड्नु परेको थियो ।
अहिले इमाडोल घरमा हरेक बिहान ब्युँझिंदा कसरी हिजोभन्दा आज राम्रो गर्ने भन्ने प्रश्न मेरो मन–मस्तिष्कमा खेलिरहेको हुन्छ । र, त्यही प्रश्नको जवाफ खोज्ने प्रयासमा दिनचर्या बितेको पत्तै नपाइने रहेछ । तिल्पुङको त्यो फुच्चेले दर्जन जति हिमाल चढिसक्यो अहिलेसम्म । आफैं चकित हुन्छु र सोच्छु जिन्दगीका कस्ता र कति अग्ला हिमाल चढ्न अझै बाँकी होला मैले ?
तिल्पुङको नवदर्शन माविमा कक्षा चार पढेको मान्छे अंग्रेजीमा अत्यन्तै कमजोर भएका कारण पुल्चोक ललितपुरको डाँफे अंग्रेजी स्कूलमा मैले फेरि नर्सरीबाटै सुरु गर्दै पढाइ अगाडि बढाउनु परेको थियो । ठाउँ विशेषले पनि मान्छेलाई अवसर प्रदान गर्ने र त्यो अवसरले धेरै कुरा सिकाउने रहेछ ।
कखरा पढिसकेर अघि बढिसकेको मान्छे म, एबीसीडीका कारणले अक्षरारम्भ गर्दै गरेका स–साना भाइबहिनीहरूसँगै झर्नुपर्दा कम्ता नरमाइलो लागेको थिएन । मलाई त्यो अनुभव हिमाल चढ्दा काम आयो ।
सयौं मिटर चढिसकेर पनि मौसम अनुकूल नभएका कारण फेरि तल्लो क्याम्प झरेर बस्नुपर्दा नर्सरीमा पढ्न फर्किएको स्मरण ताजा हुन्थ्यो र चित्त बुझाउँथें । अनि त्यही अनुभवले मलाई शिखरमा पुर्याउँथ्यो । विजयको आत्मविश्वास आफूसँग छ भने केही कदम पछि हट्नु पनि जितकै लागि हो भन्ने लाग्दोरहेछ र त्यसले सफलता सुनिश्चित गर्न बल प्रदान गर्दोरहेछ भन्ने मेरो अनुभव छ ।
ललितपुर बसाइले मलाई स्काउट नामको विश्वव्यापी युवा सञ्जालसँग आवद्ध गरायो । त्यसैबाट समूहमा गरिने कार्यको महत्व उजागर गरायो, साहसिक कामतर्फ आकर्षित गरायो । पछि मैले स्काउटका संस्थापकको नाउँमा नामकरण गरिएको बेडेन पावेल स्काउट पिकको आरोहण पनि गरें ।
२०७२ सालको भूकम्पलगत्तै लाङटाङमा रहेको सो हिमाल चढ्न पुगेको थिएँ । लाङटाङ उपत्यकामा भूकम्पले क्षत–विक्षत पारेका होटल तथा घरहरू अनि आफन्त गुमाएर विलखबन्दमा परेका स्थानीयहरूको अनुहार हेर्ने जो–कोहीलाई पनि दुःखित तुल्याउने खालको थियो ।
पति गुमाएका महिला, छोराछोरी गुमाएका बाबुआमा, परिवारै बेपत्ता भएका बाबुआमा र बस्ने घर अनि गरिखाने होटल व्यवसाय गुमाएर बसेका मानिसहरू हिमाल चढ्न आउने पर्यटकलाई आफ्नो दुःख लुकाएर हाँस्दै स्वागत गरिरहेका थिए । पर्यटकको आगमनले उनीहरूमा पुनर्निर्माणको आशा पलाएको थियो र पुरानै अवस्थामा फर्किन त्यतिखेर असम्भव जस्तै देखिने भए पनि सम्भावनाको त्यान्द्रो भनेको त्यही थियो त्यस ठाउँको लागि । मानिसको जीवनको अनिश्चितता र प्रकृतिसँग मानवीय निरीहता त्यहाँ स्पष्टै देखिन्थ्यो ।
पछि सन् २०१८ मा मैले विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि चढें । त्यसअघि तयारीकै लागि आइल्यान्ड पिक पनि चढें । निकै सुन्दर तर टेक्निकल मानिने आमादब्लम हिमाल पनि आरोहण गरें । सन् २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमाल पनि चढ्न सफल भएपछि थप आत्मविश्वास पलायो र मैले नयाँ केही गर्ने सोच बनाएँ ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको लागि मानसिक रूपले तयारी गर्दै आर्थिक जोहो गर्ने र अन्य समन्वयको काममा जुटें । संसारका सात महादेश तथा भौगोलिक क्षेत्रमा रहेका उच्च हिमालहरूको आरोहण गर्ने कामलाई पर्वतारोहणको क्षेत्रमा सेभेन समिट भनिन्छ । पर्वतारोहणमा लाग्ने निकै कम आरोहीहरूले यो उपलब्धि हासिल गरेका छन् । कतिपय महादेशका उच्च हिमशिखरहरू अति सामान्य उचाइका भए पनि ती स्थानको भौगोलिक अवस्थिति, हिमाल बन्दाखेरीको प्रक्रिया र मौसमको अवस्थाले ती हिमालको आरोहणलाई चुनौतीपूर्ण बनाउँछ ।
सेभेन समिट अभियान र इस्तानबुलको संघर्षपूर्ण यात्रा
सेभेन समिट अभियानमा मैले विश्वको सर्वोच्च शिखर सगरमाथा पहिले नै चढिसकेको हुनाले मेरो अभियान युरोपेली हिमालको आरोहणबाट शुरू हुने निश्चित भयो ।
युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस रूसमा पर्छ । संसारकै चिसो स्थान मानिने साइबेरिया क्षेत्रमा पर्ने यो हिमाल आरोहणका लागि प्रस्थान गर्दा रूसमा भने निकै गर्मागर्मी चलिरहेको थियो । युक्रेन युद्ध त चलेकै थियो, वाग्नर समूह भनिने निजी सैन्य संगठनले मस्कोतर्फ मार्चपास गर्दै गरेको बखत म हिमाली क्षेत्र पुगिसकेको थिएँ । दुई देशीय द्वन्द्वका कारण उत्पन्न तनावका बीच मैले २०२३ को जून २८ र २९ मा दुवै चुचुरो चढ्न सफल भएँ । तत्पश्चात् अफ्रिकी महादेशको उच्च हिमाल किलिमन्जारोको आरोहण गरें । तान्जानियामा रहेको उक्त हिमाल सोही वर्षको अक्टोबर ३१ मा चढ्न सफल भएको थिएँ ।
मेरो अभियानको अर्को लक्ष्य दक्षिण अमेरिकाको हिमाल आरोहण गर्ने थियो । सोही अनुरूप अर्जेन्टिनाको अकोन्कागुआ हिमालको आरोहणमा जानुपर्ने थियो । अर्जेन्टिनासँग हाम्रो दौत्य सम्बन्ध भए पनि पूरै दक्षिण अमेरिकी महादेशमा हाम्रो उडान सहज छैन । निकै खर्चिलो, लामो र थकानपूर्ण यात्रापश्चात् मात्रै त्यहाँ पुग्न सकिने रहेछ । किफायती यात्रा गर्नुपर्ने भएकोले केही ट्रान्जिट भएको घुमाउरो रुटबाट यात्रा तय भयो, जसअनुरूप काठमाडौंबाट टर्कीको इस्तानबुल र त्यहाँबाट पनामा सिटी अनि त्यहाँबाट बल्ल अर्जेन्टिनामा हिमाल रहेको प्रान्त मेन्डोजा पुगिने भइयो ।
म प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली झण्डा लिएर जनवरी २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडें । त्यहाँ लामो ट्रान्जिट थियो । ट्रान्जिटको समय व्यतीत गरेपछि अर्को दिन चेक इनका लागि बोलाइयो । मलाई लाग्छ, यो हिमाल चढ्न आउनु अगाडि नै मेरो यात्रा संघर्षमय हुने तय भइसकेको रहेछ । नेपालबाट अर्जेन्टिना पुग्न लामो उडान यात्रा त गर्नु नै थियो । तर पनामा हुँदै मेन्डोजा पुग्ने मेरो योजनामा इस्तानबुलमै अपेक्षा गरेभन्दा फरक अनुभव मेरो लागि कठिन भएर निस्कियो ।
विभिन्न देशका गैरकानूनी आप्रवासीहरूले अमेरिका छिर्न पनामाको मार्ग प्रयोग गर्ने गरेका कारणले हुनुपर्छ, इस्तानबुल एअरपोर्टमै मेरो यो यात्राका सम्बन्धमा उनीहरूले शंका व्यक्त गरे । बोर्डिङ पास लिएर उड्न तयार जहाजमा बसिसकेको मलाई त्यहाँबाट ओरालेर लबीमा थन्क्याए । म पनि त्यही गैरकानूनी आप्रवासीहरूको समूहकै सदस्य हुँ भन्ने उनीहरूलाई लागेछ क्यार ! अर्कै लक्ष्य लिएर फुर्तिका साथ हिंडेको म त्यस्तो आप्रवासनमा जाने कुनै योजना नभए पनि मेरो पासपोर्टको भिसा, ट्राभल हिस्ट्री र दोहोरो टिकट हेर्दा पनि उनीहरू सन्तुष्ट भएनन् ।
मैले म पर्वतारोही भएको र मेरो कथनलाई प्रमाणित गर्ने कागजातहरू देखाउन खोज्दा पनि उनीहरूले त्यसमा रुचि देखाएनन् र मलाई त्यहीं अलपत्र पारेर राखे । मेरो उडान पूरै अनिश्चित भएको थियो । अन्य यात्रुहरू उडिसक्दा पनि म विमानस्थलमै रोकिनुपर्दा, कस्तो देशको नागरिक रहेछु भनेर दिक्क मान्नुपर्ने अवस्थामा म थिएँ ।
अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन खोजिरहेको मेरो देशबाट हजारौं नागरिक लाखौं खर्च गरेर अमेरिका जस्तो उच्च विकास भएको देशमा अवैधानिक रूपमा छिर्न त्यतिको अनिश्चित, कष्टकर र जोखिमपूर्ण यात्रामा निस्किंदा रहेछन् भनेर दुःखी मनले सोचें । त्यो क्षण अत्यन्तै निराशाजनक थियो ।
तीन दिनको अन्योलपूर्ण एअरपोर्ट बसाइपछि बल्ल मैले उड्न पाउने भएँ । त्यसबेला मात्रै मैले राहतको लामो सास फेरें । यतिका दिनपछि मेरो यात्राको रुट फेरिएछ । म अब सोझै अर्जेन्टिनाको छिमेकी देश ब्राजिल पुग्ने भएँ, र त्यहाँबाट क्रमिक उडानमा ब्युनर्सआयर्स हुँदै मेन्डोजा पुर्याउने भयो ।
एकैछिनको सोचमग्न अवस्थामा केही उडान छोट्टिएकोमा फरक भाव पैदा भयो, प्रसन्नताको थोरै कारण भए पनि खुसी भइहाल्ने मनस्थितिमा म थिइनँ । जब म अर्जेन्टिना उत्रें, शरीर त थाकेको थियो नै, त्योभन्दा बढी मन थकित थियो ।
मैले सोचें र आफैंलाई सम्झाएँ, हेर केटा ! सबै सपना सहजै पूरा हुँदैनन् । जसरी हिमालले पाइला–पाइलामा परीक्षा लिन्छ, हिमाल चढ्नु अगावै मलाई मेरो यात्राले नै परीक्षा लिएको थियो । चार कक्षा पढिसकेको केटो नर्सरीमा पुगेभन्दा पनि बढी हुने गरी घरै फर्काइदिए जस्तो अनुभव मैले इस्तानबुलमा गरेको थिएँ ।
हिउँविहीन चुचुरोमा पुग्दा
पहिलो दिनको यात्रा मेन्डोजा शहरबाट शुरू भयो । मेन्डोजाबाट २५७१ मिटर उचाइमा रहेको पेनिटेन्टेस भन्ने ठाउँमा पुगियो र त्यहींबाट शुरू भएको अर्को दिनको यात्रा ३४०० मिटर उचाइमा कन्फ्लुएन्सिया पुगेर त्यहाँको वातावरणमा अनुकूल हुने काम भयो । उच्च हिमाली क्षेत्रमा ४००० मिटरसम्मको उचाइमा पुग्ने र फर्कने क्रम चल्यो । त्यसपछि चौथो दिनमा प्लाज डे मुलास पुगियो र त्यहाँ आधारशिविरमा बास बसियो ।
पाँचौं, छैटौं र सातौं दिनमा उच्च स्थानको वातावरणमा अनुकूल हुनको लागि ५५०० मिटरको उचाइमा बास बसेर ६००० मिटर माथि पुग्दै पुनः आधारशिविर फर्किने गर्यौं । त्यहाँ प्रत्येक शिविरमा चिकित्सकको व्यवस्था थियो । अन्य देशका हिमाल आरोहणभन्दा फरक व्यवस्था मैले त्यहाँ देखेको थिएँ । आठौं र नवौं दिन आधारशिविरमै आराम गरेर बस्ने काम मात्रै भयो ।
दशौं दिनमा बल्ल उचाइतर्फ लम्किने दिन आयो । रातको ११ः४५ बजेतिर समिटतर्फको यात्रा सुरु भयो । अन्तिम आरोहणका लागि झिसमिसेमै प्रयास गर्दै जाँदा शरीर थकित थियो तर मन उत्साहले भरिपूर्ण भएर एक–एक कदम अगाडि बढ्दै थियो ।
सगरमाथा र मनास्लु चढिसकेको भए पनि त्यहाँको भौगोलिक अवस्थितिका कारण सुख्खा हावाको साथमा कठिन श्वास–प्रश्वास लिंदै हामी माथि चढ्दै थियौं । किन हो त्यो आरोहण सगरमाथा जत्तिकै गाह्रो लागिरहेको थियो । हामीसँगै आरोहणमा गएको एक पर्वतारोही महिला आरोहण गर्न नसकी हाई अल्टिच्युडको असरले ग्रस्त भएपछि उनलाई फर्किंदै गरेको समूहको जिम्मा लगाएर पठायौं । नेपाल पृथ्वीको उत्तरी गोलाद्र्धमा पर्छ तर यो क्षेत्र हामीभन्दा ठ्याक्कै अर्कोतर्फ दक्षिणी गोलाद्र्धमा आर्कटिक क्षेत्रमा पर्ने भएकाले हो कि औसत उचाइको हिमालको आरोहण पनि असहज लागिरहेको थियो ।
हिमालको आसपास तलका क्याम्प र माथिका क्याम्प आसपास पनि हिउँ नदेखेर म अचम्ममा पर्दै थिएँ । उचाइ बढ्दै जाँदा हिउँले सेतै भएको ठाउँ भेटाउँला र दक्षिण अमेरिकाको हिउँ अनि फुसफुसे हिमपातको समेत अनुभव लिउँला भन्ने मेरो अपेक्षा निराशामा परिणत हुँदै थियो ।
अकोन्कागुआको चुचुरो नजिकिंदै जाँदा त्यहाँको दृश्य झनै उदास बनाउने खालको थियो । अन्ततः म हिमाल चुम्न सफल भएँ । सफलताको प्रसन्न भाव मनमा खेलिरहे पनि भित्रभित्रै उकुसमुकुस पनि कम्ता थिएन ।
गौरवका साथ हाम्रो चन्द्र–सूर्य झन्डा फहराएँ । त्यसपछि नेपाल स्काउट अनि क्रमशः मेरो अभियानमा साथ दिने मकालु आउटफिट, रोटरी इन्टरनेशनल लगायत संघसंस्थाका झन्डा पनि फहराउँदै फोटो खिच्नतिर लागें ।
हिमालको चुचुरोमा धेरैबेर अडिन गाह्रो हुन्छ र केहीबेरमै कम उचाइतर्फ लागिहाल्नुपर्ने हुन्छ । तर पनि वरपर आँखा डुलाउन मलाई केही कुराले छेक्ने अवस्था थिएन र मैले त्यही मेसोमा चारैतिर दृष्टि लगाएँ ।
लगभग ७ हजार मिटर उचाइको त्यो हिमालमा उल्लेख्य हिउँ देख्न पाइएन । हिउँ नभएको सुख्खा जमिन, चिसो र शुष्क हावाको अनुभव लिंदा भित्रभित्रै तातो महसुस भइरहेको थियो । मलाई लाग्छ, त्यही नै जलवायु परिवतर्नको प्रत्यक्ष प्रमाण हो ।
थुप्रै हिमाल चढिसकेर पनि अकोन्कागुआको आरोहणमा उचाइ मात्र चुनौती थिएन मेरो लागि । जलवायु परिवर्तनले पारेको प्रभावलाई नजिकैबाट नियाल्ने अवसर पनि मेरा लागि महत्वपूर्ण थियो । सेता हिमाल बिहानीको घामले सुनौलो भई टल्किएको देखेर हुर्र्केको मान्छेले हिमालमै हिउँको नामोनिसान नदेख्नु दुःखको कुरा हो ।
हिमालहरू हिउँविहीन हुँदै जानु पर्वतारोहीका लागि मात्रै होइन, सम्पूर्ण पृथ्वी र यसमा आश्रित प्राणीका लागि पनि खतरा हो । हिमालका टुप्पामा हिउँ नभएर हिमनदीहरू नाउँ मात्रका बनिरहँदा नेपाल सहित एशियाका करोडौं मानिस यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । कतिपयले यस्ता कुरालाई हावादारी ठान्छन् तर मैले त्यहाँ प्रत्यक्ष देखें ।
त्यहाँका गाइड र पर्यटन क्षेत्रमा काम गरिरहेका मानिसले हिमाली वातावरणमा आएको पछिल्लो परिवर्तनका विषयमा छलफल गरिरहेका थिए । एक्काइसौं शताब्दीको पहिलो दशकको सुरुआतमा अकोन्कागुआको चुचुरो र आसपास तलसम्म हिउँले सेताम्य रहन्थ्यो । तर त्यही हिमाल अहिले कालो ढुंगाको स्थल बनेको छ ।
त्यहाँ मात्र होइन, नेपालका हिमाल र हिमाली क्षेत्रमा पनि यो परिवर्तन देखिंदैछ । मनास्लु, ल्होत्से र धौलागिरि हिमालमा हिउँको मात्रा उल्लेखनीय रूपमा घटेको अध्ययनले देखाएको छ । यसै वर्षको मध्य हिउँदमा माछापुच्छ«े हिमालमा हिउँ नभएर कालो ढुंगोको ढिस्को जस्तो मात्रै देखियो भनेर धेरै सर्वसाधारणले समेत चर्चा गरेको हामी सबैले देखेका छौं ।
तर, अब यसको चर्चा गरेर मात्रै पुग्ने अवस्थामा हामी छैनौं । अझै केही ढिलो गरे अत्यन्तै दुरवस्थामा पुग्ने निश्चित छ । त्यसैले मेरो हिमाल आरोहणको अभियान अब अर्को एउटा साहसिक यात्रा मात्रै होइन, यो मेरो एउटा अभियान नै बनिसकेको छ, हिमाल बचाउने अभियान । कमसेकम सचेत बनाउन सकिन्छ कि भन्ने अभियानमा म छु । म जहाँ जान्छु र हिमाल चढ्छु त्यहाँ यो विषय सर्वसाधारणदेखि लिएर सबै सरोकारवालाहरूसँग छलफल गर्ने गरेको छु ।
हामी युवाले नै यो जलवायु परिवर्तनको विषयलाई हाम्रो दैनिक जीवनको हरेक अभियानसँग जोड्नुपर्छ भन्ने मलाई लाग्छ । हामीले हिमाल चढ्ने कार्यलाई अझै वातावरणमैत्री बनाउनुपर्छ र वातावरण संरक्षणको अभियानलाई तदारुकताका साथ अगाडि बढाउनुपर्छ । हिमाली र आसपासका क्षेत्रको इकोसिस्टममा वैज्ञानिक अध्ययन अनुसन्धानमा जोड दिनुपर्छ । त्यसको लागि नीति–निर्माताहरूलाई प्रमाण सहित झक्झक्याउने काममा म जस्ता पर्वतारोहीको पनि साथ रहनेछ ।
यहींनेर पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको भनाइ स्मरण गर्नु उपयुक्त हुन्छ । उनले भनेका थिए, ‘जलवायु परिवर्तन अब टाढाको खतरा होइन, यो यहीं र यतिखेरै भइरहेको छ ।’ हो अहिले भइरहेको यही हो, जलवायु परिवर्तनको खतरा हाम्रो नजिकै छ ।
त्यसैले म प्रत्येक आरोहणपछि विद्यालय, कलेज, विश्वविद्यालय र समुदायका युवाहरूका साथै सञ्चारमाध्यमसँग समेत साक्षात्कार गरिरहेको हुन्छु र मौसम परिवर्तनका प्रमाणहरू उनीहरूसँग सेयर गर्दै भन्छु– तपाईंहरूले बेलैमा कुरा बुझ्नुपर्छ र यो अभियानमा सघाउन अघि सर्नुपर्छ । जलवायु परिवर्तनबाट हुने खतरा निराकरणका लागि गर्नैपर्ने धेरै विषय छन् । तत्कालै प्रभावकारी कदम नचाल्ने हो भने जलस्रोत संकट, ठूला प्राकृतिक विपत्ति सन्निकट छन् । र, यसले मानव सभ्यतामै प्रतिकूल प्रभाव पार्न सक्छ ।
युवा अवस्थामा प्रवेश गर्दागर्दै हिमाल मेरो सपना बनिसकेको थियो । नेपालमा हिमालकै आसपास जन्मेको कारण पनि हुनसक्छ, हिमालप्रतिको आकर्षण मभित्र गडिसकेको रहेछ । तर पनि सबै जनाले हिमाल आरोहण नै गर्नुपर्छ भन्ने होइन ।
हामी सबैको आ–आफ्नै सगरमाथा हुन्छ । त्यो सगरमाथा भनेको कुनै पनि क्षेत्रमा आफूले सफलता हासिल गर्नु हो । र ती भिन्न–भिन्न सगरमाथाको आफ्नै उचाइ र त्यसै अनुसारको नियम हुन्छ, आफ्नै रुट र गति हुन्छ । सबै सगरमाथाहरू एकअर्कामा भिन्न भएर पनि समान हुन्छन् ।
म अकोन्कागुआको शिखरमा उभिएर चारै दिशामा आँखा डुलाउँदै गर्दा हर्ष र विस्मात् मिश्रित अनुभूति गर्दै थिएँ । मेरो लक्ष्य प्राप्तिको खुसी एकातिर थियो भने अर्कोतिर हिउँविहीन हिमालको दुरवस्था । चाँदी झैं टल्कनुपर्ने हिमालहरू केवल कालो ढुंगो झैं देखिंदैछन् । हिमाल बचाउन नसक्दा भोलिको पुस्ताले केवल तस्बिरमा मात्र यो प्राकृतिक सम्पदा देख्नेछन् ।
प्रतिक्रिया 4