धेरैजसो महिलाले सेनेटरी प्याडलाई पिरियड हाइजिन प्रोडक्टका रूपमा प्रयोग गर्छन् । तर, अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्यमा हुनसक्ने तथा वातावरणमा पार्नसक्ने असर न्यूनीकरणबारे अध्ययन–अनुसन्धान भइरहेका छन् ।
त्यसको विकल्पमा नयाँ प्रविधिको विकास पनि भइरहेको छ । त्यही विकल्पको रूपमा महिनावारी पेन्टी र महिनावारी कप बजारमा उपलब्ध छन् । सेनेटरी प्याडजस्तै महिनावारी कप र महिनावारी पेन्टी पनि महिनावारीको रगतलाई अवशोषित गर्न प्रभावकारी हुन्छ ?
कुन उत्पादन वातावरण प्रदूषण कम गर्न उपयोगी हुन्छ ?
युरोपमा मात्रै हरेक वर्ष ४९ अर्ब डिस्पोजेबल ‘एक पटक मात्र प्रयोग गर्न मिल्ने’ महिनावारी उत्पादनहरू प्रयोग हुन्छन् ।
अमेरिकामा हरेक वर्ष २० अर्ब डिस्पोजेबल महिनावारी उत्पादनहरू फ्याँकिन्छन् । जबकि बजारमा पुनः प्रयोज्य उत्पादनहरू पनि उपलब्ध छन् । यसमा प्याड, पिरियड प्यान्ट र महिनावारी कपहरू पर्छन् ।
विश्वभरि अधिकांश डिस्पोजेबल सेनेटरी प्याडहरू प्रयोग गरिन्छ, जसबाट ९० प्रतिशत प्लास्टिक उत्पादन हुन्छ र अधिकांश प्लास्टिक ल्यान्डफिलहरूमा जान्छ ।
महिनावारीको बेला प्रयोग हुने प्याड र ट्याम्पोन जस्ता उत्पादन भन्दा महिनावारी पेन्टी र कप जस्तो पुन प्रयोग गर्न मिल्ने उत्पादन खर्चको हिसाबले र वातावरणको प्रदूषण कम गर्ने हिसाबले पनि राम्रो हुने स्त्री तथा प्रसुती रोग विशेषज्ञ मिना प्रधान बताउँछिन्।
कुन विकल्प राम्रो ?
विश्वभरका १.८ बिलियन महिलाको मासिक महिनावारी हुन्छन् । यसलाई ध्यानमा राख्दै, फ्रान्स र संयुक्त राज्य अमेरिकाका वैज्ञानिकहरूले चार प्रकारका महिनावारी उत्पादनहरूको अध्ययन गरे थिए ।
जसमा डिस्पोजेबल प्याड र ट्याम्पोन, पुनः प्रयोग गर्न मिल्ने प्याड, पिरियड प्यान्ट र महिनावारी कप समावेश थिए ।
यस अध्ययनमा ग्लोबल वार्मिङ, जमिन र पानीको उपभोग, क्यान्सरको जोखिम, वातावरणमा हुने क्षति, अम्लता र जलप्रदूषण जस्ता धेरै प्रकारका वातावरणमा पर्ने असरलाई तुलना गरिएको थियो ।
यो अध्ययन तीन देशहरू (फ्रान्स, भारत र अमेरिका) मा एक वर्षका लागि सञ्चालन गरिएको थियो, जसमा महिनावारी उत्पादनको प्रभावलाई यो बनेको समयदेखि मापन गरिएको थियो ।
तीन देशमा गरिएको यस अध्ययनमा वातावरणमा पर्ने असरलाई ध्यानमा राख्दै महिनावारी कप सबैभन्दा दिगो विकल्प साबित भएको थियो । यसपछि पिरियड प्यान्ट, त्यसपछि पुनः प्रयोग गर्न मिल्ने प्याड र अन्तमा एकल–प्रयोग गर्न मिल्ने प्याड र ट्याम्पोन थिए।
सानो र हल्का तौलको महिनावारी कप १० वर्षसम्म प्रयोग गर्न सकिने। डिस्पोजेबल प्याडहरू अर्गानिक होस् वा गैर–जैविक, दुवैले वातावरणलाई धेरै हानि पुर्याएको पाइएको थियो।
ग्लोबल वार्मिङको मुख्य कारण उत्पादन प्रक्रिया हो । जसमध्ये आधाभन्दा बढी पोलिथिन (पेट्रोलियममा आधारित प्लास्टिक) को कारणले उत्पादन हुन्छ । प्याडमा प्रयोग हुने जैविक कपास प्याडले वातावरणमा सबैभन्दा बढी क्षति पुर्याएको देखिएको थियो ।
महिनावारी कप राम्रो विकल्प
महिनावारी कपलाई राम्ररी प्रयोग गर्न सक्यो भने यो एकदमै प्रभावकारी हुन्छ । कप प्रयोग गर्न एकदमै सहज हुन्छ । रगत लिक भएर कपडामा लाग्ने समस्या हुँदैन । प्याडको एलर्जी हुनेहरूका लागि त यो झन् प्रभावकारी हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कुमकुम झा बताउँछिन् ।
उनी भन्छिन् ‘एक पटक किनेपछि यसलाई पुनः प्रयोग गर्न पनि सकिने भयो । एकदेखि दुई वर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले प्याड भन्दा सस्तो पनि पर्ने भयो ।’
प्रयोग गर्ने तरिका सही हुनुपर्छ
धेरै उपयोगी भए पनि महिनावारी कपको प्रयोग सही तरिकाले हुनुपर्ने प्रसूति रोग विशेषज्ञ डा. मीना प्रधान बताउँछिन्। ‘यदि महिनावारी कप राम्रोसँग फिट भएन वा सही साइजको छैन भने, यसले गम्भीर परिणामहरू निम्त्याउन सक्छ’ डा. प्रधान भन्छिन् ।
यसबारे प्रधानले एक घटनासमेत उल्लेख गरिन्-उदाहरणका लागि, एक जना महिला अति दुर्गन्ध लिएर अस्पताल आएकी थिइन् । दुई महिना अघिसम्म ठिकै थिइन् । तर एक्कासी समस्या बढेपछि उनी परीक्षणका लागि आएकी थिइन् ।
पाठेघरमा स्पेकुलम राखेर हेर्दा यौनाङ्गमा महिनावारी कप देखियो । निकाल्दा महिनावारी भएको रगत कुहिएको झोल पदार्थ पनि निस्कियो । उनले कप निकाल्न बिर्सेको दुई महिना भइसकेको रहेछ ।
बाह्य वस्तु योनिमा राखेपछि निकाल्न बिर्सियो भने यसले संक्रमण लगायत अन्य समस्या निम्ताउन सक्ने डा. प्रधान बताउँछिन् ।
१२ देखि १८ वर्षका किशोरीलाई महिनावारी कप प्रयोग गर्न सल्लाह दिन उनी अलि हिचकिचाउँछिन् । यसको सही प्रयोग र सफा राख्नेबारे पूर्ण ज्ञान नभएसम्म प्रयोग गर्नु उचित नहुने उनको भनाइ छ। ‘महिनावारी कप प्रयोग गरेपछि संक्रमण भएको धेरै भटेको छु’ डा. प्रधान भन्छिन्, ‘यदि महिनावारी कप सही तरिकाले हालिएको छैन भने, यसले मूत्राशय वा मलाशयमा दबाब दिन्छ र महिनावारीको कपमा रगत जम्मा हुनबाट रोक्न सक्छ।’
उनका अनुसार महिलाहरूसँग सामान्यतया दुई वटा कप हुनुपर्छ, एउटा भरिएपछि अर्को प्रयोग गर्न सकियोस् । प्रत्येक प्रयोगपछि कपलाई राम्ररी सफा गर्नुपर्छ ।
कप प्रयोग गर्दा यदि हामीले हाइजिन मेन्टेन गरेनौँ भने इन्फेक्सन हुने सम्भावना हुन्छ । त्यसैले प्रत्येक पटक कप प्रयोग गर्नुअघि साबुन पानीले राम्ररी हात धुने र कपलाई पनि राम्ररी सफा गर्नुपर्ने उनको सुझाव छ ।
‘महिनावारी कपको सही साइज छनोट गर्नेबारे पनि सचेतना चाहिन्छ’ डा.प्रधान भन्छिन् महिनावारी कपको साइज महिनावारीको प्रवाह कस्तो छ र सामान्य प्रसव भएको छ वा छैन भन्ने कुरामा निर्भर हुन्छ।’
यदि महिलाहरूलाई महिनावारी कपको बारेमा सही जानकारी छ भने, यो उत्कृष्ट उत्पादन रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4