१ चैत, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेले जिम्मेवारी सम्हालेका छन् । उनले शुक्रबार बोर्डमा पुगेर जिम्मेवारी सम्हाल्दै चार वर्षको कार्यकालमा ४ कामलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे।
युनिभर्सल हेल्थ कभरेज अर्थात सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने उनको पहिलो प्रतिवद्धता रहेको छ । उनको दोस्रो प्रतिवद्धतामा स्वास्थ्य बीमा बोर्डमा वित्तीय दियोपना स्थापना गर्ने रहेको छ ।
तेस्रोमा बोर्डले स्वास्थ्य संस्थामार्फत प्रवाह गर्ने सेवालाई अहिले भन्दा सरल, सहज र गुणस्तरीय बनाउने र चौथो भनेको बोर्डको संस्थागत क्षमता सुदृढ गराउने रहेको छ । यी ४ बाहेक उनले आफ्नो कार्यकालमा सुशासन कायम गर्ने प्रतिवद्धता पनि जनाए ।
आफ्ना चारै प्रतिवद्धता पूरा गर्नका लागि सुशासन निकै महत्वपूर्ण रहेको उनले बताए । ‘मैले यी चार प्लस एक प्रतिवद्धता भनेको छु’ काफ्लेले भने, ‘सुशासनको पाटो मैले व्यक्त गरेका सबै प्रतिवद्धता पूरा गर्न उत्तिकै महत्वपूर्ण हुने हुँदा यसलाई सबै पक्षमा कार्यान्वयनमा लगिनेछ।’
काफ्ले गत मंगलबार स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए । काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।
काफ्ले स्वास्थ्य मन्त्रालयले केही समयअघि गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य थिए । उनी स्वास्थ्य बीमा सुधारका विषयमा गहिरो जानकारी भएका व्यक्ति हुन् । समितिमा रहँदा पनि उनले स्वास्थ्य बीमा सुधारका धेरै सुझावहरु दिएको समितिका अन्य सदस्यहरुले जानकारी दिएका थिए।
उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरेका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा समेत काम गरेका छन्।
आर्थिक वर्ष २०७१र७२ मा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा पाँच वर्षभित्र सबै नागरिकलाई समेट्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको थियो । स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउने, कुनै किसिमको आर्थिक कठिनाइविना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने कार्यक्रमको उद्देश्य थियो।
सहज र गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्त्वाकाङ्क्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको विज्ञ बताउँछन् । बीमितले औषधिसमेत आफैं किन्नु परेपछि यो कार्यक्रम जुनसुकै बेला अलपत्र पर्ने खतरा समेत छ ।
बीमितले समयमा स्वास्थ्य सेवा तथा औषधि नपाउनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा फरक हुनु, थप उपचारका लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजात सहज नपाउने जस्ता कारणले बीमा कार्यक्रमप्रति आकर्षण घट्दै गएको छ ।
स्वास्थ्य बीमा राम्रो अवधारणा भए पनि उद्देश्य अनुरूप नागरिकले सेवा नपाउँदा कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उब्जिएको स्वास्थ्यविज्ञहरू पनि स्वीकार गर्छन् । सरकारी स्वास्थ्य संस्थाहरूमा चिकित्सकको अभाव भएको तथा उपलब्ध चिकित्सक एवं कर्मचारीहरूले पनि अपनत्व नलिएको कारणले बीमित नागरिकले सेवा पाउन कठिन भएको बीमा बोर्डका अधिकारी बताउँछन् ।
धेरैभन्दा धेरै नागरिकलाई समेट्न नसक्ने हो भने कहिलेसम्म यो अनुदानको भरमा चल्ने भन्ने प्रश्न उठ्ने विज्ञहरू बताउँछन् । बीमाको मोडल नै परिवर्तन गरेर जानुपर्ने विज्ञहरूको राय छ ।
प्रतिक्रिया 4