
१ चैत, काठमाडौं । विराटनगर बहुमुखी क्याम्पसमा २८ फागुनमा नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण तोडफोड र आगजनी गरे । तोडफोड र आगजानी हुँदा निर्वाचन अधिकृत सुशील अधिकारी कार्यालयभित्रै थिए । नेविसंघले लगाएको ताला फुटाएर प्रहरीले अधिकारीको उद्धार गर्यो । र, मानवीय क्षति हुन पाएन । आगजनी र तोडफोड गर्ने चार विद्यार्थीलाई प्रहरीले पक्राउ पनि गर्यो ।
‘विराटनगरमा नमज्जाको घटना भयो । निर्वाचन अधिकृतलाई थुनेर आगो लगाउनेसम्मको प्रयास भयो । प्राज्ञिक क्षेत्रमा यस्तो घटना हुन नहुने हो,’ त्रिविका पूर्वउपकुलपति कमलकृष्ण जोशीले भने, ‘विद्यार्थीले पुलिस कुटे पनि मुद्दा नचल्ने । आफ्नो पार्टीको भएपछि जे गरे पनि छुट भन्ने मानसिकताले गर्दा अराजकता बढ्दै गयो ।’
२९ फागुनमा कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने विषयमा विवाद भयो । निर्वाचन समितिका सदस्यलाई विद्यार्थीहरूले हातै काट्ने सम्मको धम्की दिए । यो घटनालाई पूर्वउपकुलपति जोशी विद्यार्थीको अराजकताको भएको टिप्प्णी गर्छन् ।
‘सरकार र दलको आडमा विद्यार्थीको अराजकता बढेको छ । यसमा दल र सरकार जिम्मेवार हुनुपर्छ,’ पूर्वउपकुलपति जोशीले भने ।
२३ फागुनमा त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा पनि विद्यार्थीहरूले तोडफोड गरे । तोडफोड गर्ने विद्यार्थी नेता पक्राउ परेका छैनन् । संगठन दर्ताका दिन १९ फागुनमा रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरे । क्याम्पसमा तालाबन्दी गरे ।
प्राध्यापक लोकराज बराल पनि दलहरूकै खराब नियतका कारण स्ववियु भड्किलो भएको टिप्प्णी गर्छन् । ‘यो राजनीतिक हस्तक्षेपको कारण हो । एजुकेसनलाई नै भ्रष्ट बनाइयो । विद्यार्थीलाई पार्टीको कार्यकर्ता बनाउँदाको परिणाम हो,’ उनले भने ।
यी केही प्रतिनिधि घटना मात्र हुन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्याम्पसमा तालाबन्दी र तोडफोड दैनिकजसो भइरहेको छ । यी सबै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकेन्द्रित घटना हुन् । स्ववियु निर्वाचनअन्तर्गत ५ चैतमा मतदान हुँदैछ । प्राध्यापकहरू पहिलेको चुनावभन्दा अहिलेको चुनाव हिंसात्मक र अराजक बनेको दाबी गर्छन् ।
जोशी र बरालको त्यो युनियनको चुनाव
२०१७ सालको कुरा हो । त्रिविका पूर्वउपकुलपति जोशी र प्राध्यापक बराल विद्यार्थी कालमा त्रिचन्द्र क्याम्पसबाट युनियनको चुनावमा उठेका थिए । त्यसबेला स्ववियु चुनाव भनिँदैनथ्यो, विद्यार्थी युनियनको चुनाव भनिन्थ्यो ।
जोशी लेफ्ट अर्थात् कम्युनिष्ट समूहबाट बराल प्रजातन्त्रिक समूहबाट युनियनको सभापतिका उम्मेदवार थिए । एक अर्काका प्रतिस्पर्धी थिए, जोशी र बराल । ‘हामी एक अर्काको दुश्मन थिएनौं । प्रतिस्पर्धी मात्र थियौं । अहिलेको जस्तो अराजकता थिएन,’ जोशीले भने ।
२०१७ सालको ‘कू’ हुनुभन्दा अगाडि युनियनको चुनाव भएको थियो । जसमा बरालले तीन मतले चुनाव हारे ।
‘कू हुनुभन्दा केही महिना अगाडि चुनाव भएको थियो । मैले तीन भोटले हारेको थिएँ । तर चुनाव धेरै राम्रो र रोचक हुन्थ्यो । कहाँ अहिलेको चुनाव कहाँ त्यो बेलाको चुनाव,’ बराल त्यो बेलाको चुनाव सम्झनयोग्य रहेको तर्क गर्छन् ।
तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि दलहरू प्रतिबन्दमा परे । र, युनियनको चुनाव जितेका जोशी जेलसमेत परे । ‘डेढ महिना जेल बस्नु पर्यो । दलहरू प्रतिबन्दमा परे । ठूलो आन्दोलन भयो,’ उनले भने, ‘पछि विद्यार्थी युनियनको सट्टा स्ववियुको नामले चुनाव हुन थाल्यो ।’
तिनै विद्यार्थी युनियनको चुनाव जितेका जोशी २०५१ सालमा त्रिविको उपकुलपति बने । स्ववियुको चुनाव गराउने जिम्मेवारीमा उनी पुगे । पूर्वउपकुलपति जोशी आफू उपकुलपति भएको समयमा पनि स्ववियु चुनाव अहिलेको जस्तो अराजक नभएको स्मरण गर्छन् ।
‘उपकुलपति भएपछि आफैंले स्ववियु चुनाव गराउने ठाउँमा पुगेँ । त्यो बेला विद्यार्थीको दबाब त आउँथ्यो, तर डर र धम्कीको सामना गर्नुपरेको थिएन,’ जोशीले त्यो समयलाई सम्झँदै भने, ‘दुई पटक स्ववियुको चुनाव सरेको थियो । तेस्रो पटक पनि सार्न ऐनले मिल्ने थिएन । शान्तिपूर्ण वातवरणमा चुनाव गराएको थिएँ ।’
तर अहिले क्याम्पस क्याम्पसमा तोडफोड आगजानी र कुटपिटका घटनाले स्ववियुमाथि नै प्रश्न उठ्न थालेको उनको तर्क छ । स्ववियुलाई मर्यादित बनाउने दायित्व विद्यार्थीको रहेको उनले बताए ।
‘विद्यार्थी अनुशासित हुनुपर्यो । विश्वविद्यालयले नियमन गर्न सकेन भने सरकारको सहयोग माग्नु पर्यो । चुनावलाई हिंसात्मक बनाउनु हुँदैन,’ उनले भने ।
प्रतिक्रिया 4