
‘…जीवनमा युद्ध अपरिहार्य छ। आफ्नो साहस र धैर्य उँचो बनाइराख्नू हजुर! सम्बन्ध दूरीले बलियो वा कमजोर हुँदैन। म पर्खिबस्नेछु।’
साहित्यकार रमेश क्षितिजद्वारा लिखित ‘एउटा मायी नगरमा’ कथासंग्रहको पहिलो कथा ‘स्वप्न बगैंचामा एउटा छाया’ कथाको पटक–पटक दोहोर्याएर पढ्न मन लाग्ने हरफ हुन् यी। यस कथालाई लेखकले निकै दार्शनिक र कलात्मक शैलीमा बुनेका छन्।
‘…शैवलिनी र आर्यकीर्तिको ‘प्लेटोनिक लव’ को प्रसंगले दार्शनिक स्वादका कथाहरू पढ्न मन पराउने पाठकका लागि मिठो जीवन दर्शन पस्केको छ। प्रेम जीवनको लागि एउटा अपरिहार्य ऊर्जा हो। हरेक मान्छेको जीवनमा प्रेमले उत्साह भरिदिन्छ। प्रेम भावनात्मक अभिव्यक्ति हो, शारीरिक आसक्ति विनाको प्रेम पनि प्रेम नै हो भन्ने खालको सन्देश कथा मार्फत दिन खोजिएको छ।
कथाको सुन्दर ‘कोहिरेन्स’ ले पाठकलाई एकै बसाइमा यो कथा पढेर सिध्याउन प्रेरित गर्छ। वर्णनात्मक शैलीमा लेखिएको कथाको सुन्दर सेटिङले ‘स्वप्न बाटिका’ भ्रमण नगरेका पाठकहरूलाई पनि एक पटक हेर्न मोहित पार्न सक्छ। यस कथामा केही प्रेमल/दार्शनिक हरफहरू सधैं पढिरहुँ जस्ता लाग्ने छन् जस्तै : मालीको वचन।
‘परिवर्तन संसारको नियम हो। म यहाँ ऋतु परिवर्तनको अनुभव गर्छु। एउटा फूल सबै ऋतुमा फुल्दैन। सबै फूल एउटै ऋतुमा पनि फुल्दैनन्। ज्ञानीहरूले परिवर्तनको यो चक्रलाई बुझेका हुन्छन्।’
यस कथा मार्फत लेखकले दार्शनिक र व्यावहारिक प्रेम उजागर गरेका छन्। आर्यकीर्ति नामक पात्रले दार्शनिक प्रेमको बिम्व उजागर गरेका छन् भने शैवलिनीले व्यावहारिक पक्ष। कथाले प्रेम मात्र प्रेम हो भन्ने भाव बुझाउँछ। प्रेममा कुनै शर्तहरू लागू हुँदैन भन्ने कुरा देखाउँछ।
दोस्रो कथा ‘माछा बजार’ ले मलाई ‘फ्रेन्च काफ्का’ द्वारा लिखित ‘मेटामोर्फोसिस’ कथाको सम्झना गरायो। त्यो कथा लामो समयसम्म मेरो मस्तिष्कमा घुमिरहेको कथा थियो। जसमा मान्छे एउटा ठूलो ‘कीरा’ मा परिणत भएपछिका घटनाक्रमहरू देखाइएको छ। पारिवारिक जिम्मेवारी पालन गरिरहेका मान्छे अचानक कीरामा परिणत भएपछि परिवारबाट पनि बेवास्ता गरिएको प्रसंग छ।
‘माछा बजार’ कथामा प्रमुख पात्रको शरीरभरि अचानक माछाको जस्तो कत्ला आएको, शरीरबाट माछाको जस्तो गन्ध आएर दुःख दिएको प्रसंग उल्लेख गरिएको छ।
नेपालको राजनीतिक अवस्था, व्यापार व्यवसाय, बिचौलियाको बिगबिगीबारे यथार्थ चित्रण गरिएको र अत्यन्त फरक शैलीमा लेखिएको यो कथाले पाठकलाई अचम्मित बनाउँछ। कथामा भ्रष्टाचारमा प्रयोग हुने शब्द सानो माछा, ठूलो माछाको बिम्व प्रयोग गरिएको छ।
त्यसैगरी तेस्रो कथा ‘इत्रामको कोठा’ पनि एक सुन्दर प्रेम कथा हो। भौतिक संसारको मोहजालबाट माथि उठेर, आत्मासँग एकाकार गर्नु पनि प्रेम हो। उक्त कथामा अलिकति युरोपेली समाजको चित्रण गरिएको छ, पात्रहरू पनि ‘मल्टिकल्चरल’ छन्। भ्रमणका कुराहरूले पाठकलाई उत्सुक बनाउँछन्। सिल्भिया भन्ने पात्रको कल्पना आफैंमा एउटा प्रेमल चेत हो। जीवन दर्शनलाई रोचक र यथार्थ कलाचेतले प्रस्तुत गरिएको छ यस कथा मार्फत।
चौथो कथा ‘चरित्रबाट बाहिर निस्क न हरिबोल!’ कथाले पाठकले सामान्य अर्थमा खोज्ने ‘क्लाइमेक्स र रिजोलुसन’ का दृश्यहरूले ‘स्ट्रिम अफ कन्सियसनेस’ (चेतना प्रवाह) को शैली पछ्याएको पाइन्छ।
यो शैली आधुनिक उपन्यास लेखनको एउटा महत्वपूर्ण प्रविधि हो, जसले पात्रको मनोवैज्ञानिक अवस्था, विचार, अनुभूति, स्मृति र भावनालाई निरन्तर प्रवाह जस्तो गरी प्रस्तुत गर्छ। यसमा लेखकले कुनै निश्चित संरचना वा वैयाकरणिक नियमहरूको कठोर पालना नगरी, पात्रको मस्तिष्कमा उत्पन्न हुने विचारहरूलाई स्वाभाविक रूपमा प्रस्तुत गर्छ।
जेम्स जोयस (युलेश), भर्जिनिया वुल्फ (टु द लाइट हाउस), विलियम फकनर (द साउन्ड एन्ड फ्युरी), मार्सेल प्राउस्ट (इन् सर्च अफ द लस्ट टाइम) स्ट्रिम अफ कनसस्नेसको शैलीमा लेखिएका विश्व प्रसिद्ध उपन्यास हुन्। प्राय: निबन्धहरूमा प्रयोग गरिने यो शैली कथामा गरिनु लेखकको नयाँ प्रयोग हुनसक्छ। यसकै कारण यो कथा फरक र सुन्दर बनेको छ।
त्यसैगरी अर्को कथा ‘बटुवा रूखमा’ मा रूखसँगको संवाद देखाइएको छ। मान्छेले रूखसँग संवाद गर्दै कथावस्तु अगाडि बढ्छ। ‘पर्सोनिफिकेसन टेक्निक’ को प्रयोग गरी लेखिएको यस कथामा रूखले बोलेका संवादहरू गहन जीवन-दर्शन बोकेका छन्। पर्सोनिफिकेसन साहित्यिक प्रविधि भन्नाले निर्जीव वस्तु, जनावर वा अमूर्त कुराहरूलाई मानव गुण वा विशेषता प्रदान गर्ने कलालाई जनाउँछ। यस प्रविधिमा निर्जीव वा अमानवीय कुराहरूलाई यस्ता विशेषताहरू दिइन्छ, जसले गर्दा तिनीहरू मान्छे जस्तै लाग्छन्।
जस्तो कि; हावा मिठो गरी मुस्काइरहेको छ। (हावालाई मुस्कान गर्ने मानवीय गुण दिइएको छ।), घाम लाजले रातोपिरो भयो। (घामलाई लाज लाग्ने विशेषता दिइएको छ।), खुसीले मेरो मन नाच्न थाल्यो। (खुसीलाई नाच्ने मानवीय गुण दिइएको छ।)
शैलीको हिसाबले कथा उत्कृष्ट त छँदैछ, यसले दिन खोजेको सन्देश पनि महत्वपूर्ण छ। पछि आएर ‘आर्या, पर्ख आर्या’ को नाटकीय शैली पनि गज्जब लाग्यो। यसका संवादहरू धेरै पटक दोहोर्याएर पढुँपढुँ लाग्ने खालका छन्। कथाको अन्त्य रहस्यमय तरिकाले गरिएको छ।
प्राय: कथाहरू लेखकीय शैलीका हिसाबले प्रयोगवादी छन्। नयाँ शैलीको प्रयोग सबैखाले पाठकले बुझ्ने खालको नहुन पनि सक्छ। तर बुझ्नेका लागि कथाहरू मनछुने खालका छन्।
‘एउटा मायी नगरमा’ कथासङ्ग्रह, लेखकको पहिलो कथासंग्रह हो। जसले कथाकार रमेश क्षितिजलाई प्रेम, दर्शन, अध्यात्म, जीवनजगतका बारेमा मिठासपूर्ण कथा बुन्ने अब्बल लेखकका रूपमा प्रस्तुत गरेको छ।
यो कथासङ्ग्रह नेपाली साहित्यमा नवीन प्रयोगको रूपमा हेरिएको छ र नेपाली आख्यान प्रेमीहरूका लागि पढ्नलायक पुस्तक बन्न सक्छ ।
प्रतिक्रिया 4