+
+
Shares

महोत्तरीमा आज पनि होली

रासस रासस
२०८१ चैत २ गते ८:०५

२ चैत, महोत्तरी । यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ ।

मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाउने गर्छन् ।

यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात स्थानीयतहका गाउँ तथा नगरक्षेत्र ।

खासमा १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीले यात्राको १६ औं दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेको भोलिपल्ट होली मनाउने चलन छ । शुक्रबार अन्तर्र्गृह परिक्रमा गरिएपछि यी बस्तीमा आज होली मनाउने गरिएको हो । यो मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्रको पुरानो परम्परा हो ।

फरकफरक परम्परागत मान्यताले होली मनाइने दिन फरक परेपनि यहाँ तीनै दिनको होलीमा सबैजसो सरिक हुँदै आएका छन् । यो उल्लासमय रमाइलो पर्व हुनुका साथै आपसी घुलमिलको परिणाम भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?