
सुरुआत लेखको शीर्षकबाटै गरौं, नेपालमा नैतिकताको विषयमा सार्वजनिक बहस हुने गरे पनि नैतिक आतंक अर्थात् ‘मोरल प्यानिक’को बारेमा कमै बहस हुने गरेको छ । यो लेख नेपाली समाजमा बढ्दो नैतिक आतंकमा केन्द्रित छ ।
नैतिक आतंकसँग जुधिरहेको भए पनि ‘नैतिक आतंक’ शब्दसितको मेरो परिचय पोल्याण्डका एक प्राध्यापकले गराएका हुन् । पोल्याण्डमा बढ्दो नेपालीहरूको आप्रवासनको विषयमाथि समाजशास्त्रीय अनुसन्धानमा सहकार्य गर्न सकिन्छ कि भनेर केही दिन अगाडि पोलिस एकेडेमी अफ साइन्समा समाजशास्त्रका प्राध्यापक राफेल स्मोकझिन्स्की काठमाडौं आएका थिए । आफ्नो अध्ययनको रुचि र दायराबारे कुरा गर्दा उनले आफ्नो खास रुचि आप्रवासी कामदारमा थोपरिने ‘मोरल प्यानिक’ अर्थात् नैतिक आतंकमा रुचि भएको बताए । मोरल प्यानिक नेपालको समाजशास्त्रमा नयाँ भएको कारण उनले दिने गेस्ट लेक्चर पनि त्यसै विषयमा दिन हामीले अनुरोध गर्यौं । उनको लेक्चर र केही छलफल पछि हाम्रो समाजमा पछिल्लो समय भइरहेको गञ्जागोललाई सम्बोधन गरेर लेख्न यही दुई शब्द उचित लागेको कारण लेखको यो शीर्षक राखिएको हो ।
पछिल्ला दिनहरूमा नेपाली समाजमा नैतिक वा अनैतिक, नैतिक शिक्षाको (कमि र आवश्यकता), नैतिक आचरण, नैतिक व्यवहार माथिका गफहरू बढी सघन बन्दै गएका छन् । जसको चरम रूप केही लेखकहरूलाई विदेशको फन्डिङमा किताब लेखेको भनेर सामाजिक सञ्जालबाट गरिएको आक्रमणलाई लिन सकिन्छ । सामाजिक सञ्जालको उक्त पोस्ट मैले पहिलो पटक यस्तो साथीको वालमा देखें, जो कुनै देशले दिने स्कलरसिपमा पढेर लामो समयदेखि वैदेशिक सहायतामा चलिरहेको परियोजनामा काम गरिरहेकी थिइन् ।
उक्त पोस्ट देखेर केहीबेर त म ट्वाल्ल परिरहें ‘किन लेखेकी होलिन् ?’ भनेर । भोलिपल्ट बिहान सामाजिक सञ्जाल हेर्दा उक्त पोस्ट यति भाइरल भएछ कि त्यहाँ नाम जोडिएका धेरै लेखकले आफ्नो बचाउमा शब्दहरू खर्च गर्न परेछ । लेखक कृष्ण धरावासीले फेसबुक लाइभमा आएर ‘मैले यो किताब लेख्न यत्ति पैसा लिएको कता बुझाउन आउँ’सम्म भन्न परेछ ।
यस्तै अर्को प्रसङ्ग छ, कुनै एक दलले आफ्ना कार्यकर्ताका लागि आचारसंहिता नै बनाएर, ‘परपुरुष परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्न हुँदैन’ भन्ने फरमान जारी गरेछ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । हरेक दिनजसो कसै-कसैले अर्को कोही व्यक्तिलाई अनैतिक भएको आरोप सामाजिक सञ्जालमा लगाइरहेको हुन्छ । बडो आदर्श वा सिद्धान्तका कुरा गर्ने कैयौं व्यक्तिहरू अनौपचारिक गफमा अर्को व्यक्तिलाई अनैतिकको ट्याग लगाइरहेको हुन्छन् ।
सामाजिक सञ्जालमा नैतिकताको बहस चल्दै गर्दा यलमाया केन्द्रमा नेपालको बारेमा विगत ५० वर्षदेखि निरन्तर चासो राख्दै अनुसन्धानको आधारमा किताब लेख्दै आएका डेभिड सेडनको प्रवचन थियो ।
कार्यक्रममा आएका एक जना व्यक्तिले चिया पिउँदै गर्दा फ्याट्ट भने, ‘अब त जस्तोसुकै बौद्धिक मान्छे होस्, गोरासँग फोटो खिच्न पनि डरमर्दो भयो काठमाडौंमा ।’
यस्तो डरमर्दो धेरै जनालाई भइहेको छ । धर्म नमानेको, संस्कार नमानेको, डलर खाएको भनेर । जुन देशको मुख्य आम्दानीको स्रोतभित्र रेमिट्यान्स पर्छ, उक्त देशको नागरिक कुनै विदेशीसँग वैचारिक गफ गर्न पनि डराउनुपर्छ । त्यो देशमा कुन तहका मानिसको नैतिकतामा विदेशमा काम गर्ने कुरा गुलामी वा नैतिकहीनमा पर्छ भन्दा जसले यो समाज र सत्तामा पुस्तौं पुस्तादेखि रजगज गरिरहेका छन् तिनीहरूका लागि विदेशमा काम गर्ने, डलर कमाउने काम अनैतिक हो ।
नैतिक आतंकको अर्को उदाहरण हो आधुनिक बन्न नसकेको आरोप आफ्नो परिवारले मान्दै आएको धर्म मान्दा पनि कसैले फोटो खिचिदेला कि भनेर वा सामाजिक सञ्जालमा फोटो राख्दा कसैले केही भन्ला कि भनेर डराउँदै राख्नुपर्ने वातावरण निर्माण भएको छ । उदाहरणका लागि महाकुम्भ गएका नेपाली कांग्रेसका एक नेतामाथि सामाजिक रूपमा लगाइएको आरोपलाई लिन सकिन्छ । धर्मनिरपेक्ष देशमा हरेक व्यक्तिलाई आफ्नो धर्म–परम्परा मान्ने स्वतन्त्रता हुन्छ । यसै पनि व्यक्तिले नचाहे पनि परिवार र सामुदायिक तहमा कैयौं यस्ता धर्म र परम्पराका कर्मकाण्ड छन्, जसलाई मान्न व्यक्ति बाध्य हुन्छ । तर, मार्क्सले धर्मलाई अफिम भनेको कुरामा आफ्नो सहमति भयो भन्दैमा कुनै धार्मिक मानिसले गरेको पूजालाई लिएर उसको नैतिकता माथि प्रश्न उठाउने हक अर्को व्यक्तिलाई नहुनुपर्ने हो । तर, उठिरहन्छ ।
नैतिकता किन चाहिन्छ ?
नैतिक हुनु भनेको नीति–नियममा बस्नु हो । र, हरेक समाज सञ्चालन गर्नको लागि उसले खास प्रकारका नीति–नियम बनाएको हुन्छ, जुन जरूरी पनि हुन्छ । वा यसो भन्न सकिन्छ, हरेक समाजमा कुनै न कुनै प्रकारको नैतिकता चाहिन्छ, जसले राम्रो–नराम्रो, असल वा खराबको मानक निर्धारण गर्दछ । जसले के गर्न हुने के गर्न नहुने, के खान हुने, के खान नहुने, के लगाउन हुने के लगाउन नहुने, कस्तो व्यवहार गर्न हुने कस्तो व्यवहार गर्न नहुने भनेर मानिसका क्रियाकलापको दायरा निर्धारण गरेर आफ्ना सदस्यलाई जानकारी दिएको हुन्छ । नैतिकताले मानिसलाई आत्मनियन्त्रण गर्न सघाउँछ र समाजलाई गति प्रदान गर्छ । परम्परागत समाज आफ्नो सानो समुदायमा सीमित थियो, उसको नैतिकताको दायरा पनि सानो थियो । समुदायले तोकेको नैतिकतामा मानिस बाँधिन्थ्यो । अर्को समाजको अर्कै प्रकारको नैतिकता उसको चासोको विषय पनि बन्दैनथ्यो, अर्को समाजको नैतिकताले उक्त व्यक्तिलाई बाध्न सक्दैनथ्यो । तर, वर्तमानको गतिशील विश्वमा फरक–फरक समुदायका मानिस एकठाउँमा विविध कारणले जोडिनुपर्ने बाध्यता छ, जसले मानिस एकसाथ कैयौं विपरीत नैतिकतामा बाँचिरहेको छ । कुन नैतिकता असली हो र कुन नैतिकता खराब हो भन्ने द्विविधामा बाँचिरहेको छ ।
कसको नैतिकता ?
नैतिकताको अर्को पक्ष के नैतिक हो र के नैतिक होइन भन्ने सबाल आउँदा सधैं सत्ता जोडिएर आउँछ । हरेक सत्ता पक्षका चालचलन, बोलीचाली, खानपिन, लवाइ–खुवाइ वा सांस्कृतिक क्रियाकलाप नैतिक र सत्ता–इतरका मानिसका चालचलन, बोलीचाली, खानपिन, लवाइ–खुवाइ वा सांस्कृतिक क्रियाकलाप सत्तापक्षका मानिसलाई मन नपरेमा उनीहरूको दायराभित्र नपरे अनैतिक भनेर व्याख्या गरिन्छ । त्यसैले हरेक समाजका नैतिकता त्यस समाजका ठालुले बनाएका मानक हुन् ।
ब्राह्मणको समाजले तोकेको नैतिकतामा रक्सी खानु अनैतिक क्रियाकलाप हो । पितृसत्ताले गाँजेको समाजमा महिलाहरूले तर्कसंगत बहस गर्नु अनैतिक हो । घडीको सुईका आधारमा चल्ने समाजमा पाँच मिनेट ढिलो हुनु अनैतिक हुनु हो । त्यसैले त कैयौं विद्यालयले पाँँच मिनेट ढिलो विद्यालय पुगेका बालबालिकालाई दण्ड तोक्छन् । यस्ता दण्ड विद्यालयमा मात्रै तोकिएका छैनन्, हरेक कार्य क्षेत्रमा तोकिएका छन् । विविधताले भरिएको वा लोकतान्त्रिक पद्धति भएको समाज वा देशमा कुनै एक खास समुदायको चालचलन, खानपान, बोलीवचन नैतिक वा अनैतिक बन्दैन ।
नैतिकता र नैतिक आतंकको भेद
विविधताले भरिएको समाजमा एकसाथ विविध नैतिकता रहेका हुन्छन् । कतिपय अवस्था यी परस्पर विरोधी पनि लाग्छन् । उदाहरणका लागि ब्राह्मण समुदायका सदस्यहरूलाई रक्सी खानु केही समय अगाडिसम्म नैतिक पतन मानिन्थ्यो भने काठमाडौंको नेवार समुदायमा सगुनको रूपमा रक्सी दिने चलन अझै छ । नेवार समुदायका शुभकार्यमा जोडिने ब्राह्मणहरू सगुन लिने कि नलिने नैतिक द्विविधामा पर्थे । कैयौं सवालमा व्यक्ति द्विविधामा परिरहन्छ ।
अर्को उदाहरणको रूपमा वर्तमानका घर बाहिर काम गर्ने धेरै महिलालाई लिन सकिन्छ, जो मनमा ‘घरपरिवार र सन्तानलाई राम्ररी समय दिन सकिनँ कि’ भन्ने नैतिक प्रेसर आफूले महसुस गरिरहने बताउँछन् । यस्तो उनीहरूले सोचिरहेको समयमा कुनै माध्यमबाट कसैले तैंले आफ्नो नैतिकता पालना गरिरहेकी छैनस् वा यो अनैतिक क्रियाकलाप हो भनेर अर्को पक्षले लेवल लगाइदिंदा व्यक्तिले जुन पीडा महसुस गर्छ, त्यो नैतिक आतंक हो । वर्तमान समयमा मानसिक दिक्दारी, डिप्रेसन र कतिपय अवस्थामा आत्महत्या गर्ने एउटा कारण व्यक्तिप्रति गरिने नैतिकताको सवाल र त्यसले उत्पन्न गर्ने आतंकलाई पनि लिन सकिन्छ ।
हामी नैतिकताको सवाल त बेला–कुबेला उठाइरहन्छौं, कतै हामीले सार्वजनिक मञ्चमा नैतिकताको सवाल उठाउँदै गर्दा कतै कोही निर्दोष व्यक्ति हामीले भनेको नैतिकताको आतंकको शिकार त भएको छैन ? मान्छेलाई आतंकित बनाउने कुरा नैतिक हो त ?
प्रतिक्रिया 4