+
+
Shares

राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा

समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २ गते १५:४९
शनिबार आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलन ।

२ चैत, काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ ।

देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले यस्तो जनाएको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ ।

‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ,’ मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ’ उल्लेख छ ।

मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

मोर्चाको वक्तव्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?