२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले लगातार चौथो जित निकाल्दै अपराजित यात्रा कायमै राखेका छन् ।
शनिबार भएको खेलमा आर्मीले कोशी प्रदेश तथा पुलिसले मधेश प्रदेशलाई हराएका हुन् । कोशीको भने लगातार चौथो हार हो । मधेशको दोस्रो हार हो ।
सिदार्थ रंगशालामा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । कोशीले दिएको २३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
आर्मीको जितमा ओपनर तृतराज दासले अविजित शतकीय पारी खेल्दै ११२ रन जोडे । १३९ बलको सामना गरेका उनले १४ चौका र १ छक्का प्रहार गरे । बसिर अहमद ६१ रनमा अविजित रहे । कोशीका लागि सन्दीप ढुंगाना, भुपाल लुइटेल र प्रकाश कार्कीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन बनाए । सोनु अन्सारीले ४४ तथा सुजन थपलियाले ४२ रन बनाए ।
ललितको ५ विकेटमा पुलिसको फराकिलो जित
देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले मधेशमाथि फराकिलो जित निकाल्यो । मधेश प्रदेशलाई १९३ रनले हराउँदै पुलिसले पनि पीएम कपमा लगातार चाैथाे जीत निकालेको हो ।
पुलिस क्लबले दिएकाे २८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे मधेश प्रदेशकाे टीम ९५ रनमै अलआउट भयो । मधेश प्रदेशलाई सस्तैमा समेट्न ललित राजवंशीले शानदार बलिङ गर्दै ५ विकेट लिए ।
मधेशका दिपेश दासले ३१ रन बनाए । रुपेश सिंहले १६ रन तथा विशाल पटेलले १३ रन बनाए । हरिशंकर शाहले ३ रन, राेशन बिकले ८ रन, पवन सर्राफले ३ रन, निखिल सिंहले ७ रन, कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खाेल्न सकेनन् ।
ललितले ९.१ ओभर बलिङ गर्दै २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १२ रन दिएर २ विकेट लिए । करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल पुलिस क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन रन बनायाेे । कप्तान दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए भने
आरिफ शेखले ५५ तथा दीलिप नाथ ४५ रन बनाए ।
मधेश प्रदेशका लागि रुपेश सिंहले ८.५ ओभरमा ६२ रन दिएर ४ विकेट लिए । विशाल पटेलले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए ।
प्रतिक्रिया 4