
२ चैत, काठमाडौं । प्रधाननमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई लिएर सत्ता र विपक्षीबीच सवालजवाफ भएको छ ।
शनिबार सिंहदरबारमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
उक्त छलफलमा सत्तापक्षले प्रश्नहरू धेरै सोधिएको भन्दै काटछाट गर्नुपर्ने प्रस्ताव राखेका थिए । विपक्षी दलका प्रमुख सचेतकहरूले भने प्रश्न काटछाट हुन नहुने बताएका थिए ।
सत्ता र प्रतिपक्षीबीच सवालजवाफ चलेपछि उपसभामुख इन्दिरा रानाले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।
‘माननीयज्यूको वाक स्वतन्त्रता पनि हुनुपर्छ । सोध्न पाउनुपर्छ । तर, सभ्य र शिष्ट तरिकाले । प्रधानमन्त्री भनेको देशको इज्जत हो । सभ्य तरिकाले सोध्नुपर्छ । प्रधानमन्त्रीले उत्तर पनि दिनुपर्छ’ रानाले भनेकी छन् ।
सरकार सदनप्रति जवाफदेही हुनुपर्ने भन्दै उपसभामुख रानाले सदनभित्र सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन्न भन्न नपाइने बताएकी हुन् ।
सभामुख देवराज घिमिरेले सांसदको अधिकार कुण्ठित नहुने र सभ्य हुने गरी व्यवस्थित गरेर जानुपर्ने बताएका थिए ।
यसअघि ४ फागुनको प्रश्नोत्तरमा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै जवाफ दिएका थिएनन् । व्यक्तिगत आक्षेप लाउने प्रश्न भन्दै एमाले सांसदहरूले सदनमै प्रश्न उठाएका थिए ।
अब ७ चैतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ ।
शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शको आधारमा १५ दिनको लागि संसदीय क्यालेन्डर समेत तयार भएको छ ।
प्रतिक्रिया 4