२ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब बुटवल लुम्बिनी एफसीले स्कटल्याण्डका अनुभवी मिडफिल्डर फ्रांक रोसलाई तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ।
पूर्व एबर्डिन एफसी खेलाडी रहेका रोसले युरोपेली तथा अमेरिकी लिगमा खेल्दै उत्कृष्ट अनुभव संकलन गरेका छन्। क्लबले उनको आगमनले टोलीको मध्यपंक्तिलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
२६ वर्षीय रोसले स्कटिस प्रिमियरसिप, इंग्लिस च्याम्पियनसिप, केउकेन क्याम्पियोन डिभिजी (नेदरल्याण्ड), र इरेडिभिजी (डच शीर्ष लिग) लगायत विभिन्न उच्चस्तरीय लिगमा अनुभव बटुलेका छन्।
उनले एबर्डिन, गो अहेड इगल्स, तथा ग्रीनक मोर्टन जस्ता क्लबबाट व्यवसायिक फुटबल खेलेका छन् । साथै, उनले टोटो केएलभिबी बेकर, च्यालेन्ज कप, र युएस ओपन कप जस्ता प्रतिष्ठित प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्।
रोसले स्कटल्याण्ड यू-१६, यू-१७, यू-१९ र यू-२१ टोलीहरूबाट खेल्दै आफ्नो देशलाई प्रतिनिधित्व गरिसकेका छन्। उनको अन्तर्राष्ट्रिय अनुभवले बुटवल लुम्बिनी एफसीलाई थप सशक्त बनाउने क्लब व्यवस्थापनले विश्वास लिएको छ ।
नयाँ क्लबसँग सम्झौता गरेपछि रोसले आफू उत्साहित रहेको बताउँदै बुद्ध जन्मभूमि लुम्बिनीको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताए । साथै उनले नेपाली फुटबल संस्कृतिको हिस्सा बन्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।
यस्तै बुटवल लुम्बिनीले रोसलाई अनुबन्ध गरेपछि यो क्लबको लागि ऐतिहासिक उपलब्धी रहेको बताएको छ । रोस जस्तो प्रतिभाशाली खेलाडीको आगमनले टोलीलाई बलियो बनाएको र मैदानमा टिमलाई धेरै फाइदा पुग्ने क्लबको विश्वास छ । क्लबले रोस छिटै टिममा सामेल हुने पनि जनाएको छ ।
प्रतिक्रिया 4