
२ चैत, काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधारगृहमा शनिबार पनि पटक–पटक झडप भएको छ । शुक्रबार राति ११ बजेबाट सुरु भएको झडप शनिबार दिउँसो २ बजे मात्र पूर्णरूपमा नियन्त्रणमा आएको हो ।
पटक–पटक भएको झडपका क्रममा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । घाइतेको नेपालगन्जमा उपचार भइरहेको छ । झडप नियन्त्रणमा लिने क्रममा ३ जना प्रहरी पनि घाइते भएका छन् ।
होली मनाउने विषयलाई लिएर दुई पक्षबीच शुक्रबार दिउँसो विवाद भएको थियो । राति अर्को पक्षले सुतेका बेला एक्कासि खुकुरीले आक्रमण गरेपछि विवाद चर्किएको थियो ।
मध्यरातपछि स्थिति शान्त देखिए पनि शनिबार बिहान ११ बजेतिर बालसुधार गृहमा रहेका २ सय ५० बालबन्दी एकसाथ बाहिर निस्केका थिए । त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो ।
दुई पक्षबीच भएको झडपले उग्ररुप लिएपछि एउटा समूहले त्यहाँ खटिएका प्रहरीमाथि समेत आक्रमण प्रयास गरेको थियो । त्यसपछि सुधार गृहमा कार्यरत प्रहरी भागेका थिए ।
मुल गेट तोडफोड गरेर उनीहरूले प्रहरीलाई दुई किलोमिटर टाढासम्म लखेट्दै कुटपिट गरेका थिए ।
प्रहरीलाई लखेट्दै गएका बालबन्दीले स्थानीय पसलमा समेत लुटपाट गरेको स्थानीयले बताएका छन् । बालबन्दीले सुधारगृह नजिकैको घरमा तोडफोड गर्नुका साथै परालको कुन्योमा आगजनी समेत गरेको स्थानीयले जनाएका छन् ।
एसपी कार्कीका अनुसार झडप नियन्त्रणका लागि भारी संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । ‘अथक प्रयास र मेहिनेतपछि झडप नियन्त्रणमा आएको छ । सुरुमा प्रहरीलाई गेटभित्र छिर्न दिइएको थिएन । सम्झाइबुझाइ गरे भित्र प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने ।
बाल सुधार गृहबाट बाहिर निस्किएका २७० जनाभन्दा बढी बालक सुधार गृह नै फर्किएका छन् । यसअघि बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा पनि दुई समूहबीच झडप भएको थियो । सुधार गृहभित्र निगरानी नहुँदा लागूऔषधको कारोबार तथा सेवन हुने गरेको भनेर आलोचना हुने गरेको छ ।
यसैबीच, बाल सुधार गृहमा रहेका बालकका अभिभावक तथा आफन्तहरूले आफ्ना सन्तान असुरक्षित भएको भन्दै प्रशासनसँग सुरक्षा माग गरेका छन् ।
प्रतिक्रिया 4